• २६ वैशाख २०८१, बुधबार

डाक्नेश्वरी नगरपालिका प्रमुखको शपथ ग्रहण र पदास्थापन

blog

देवरामप्रसाद यादव

सप्तरी, जेठ २४ गते । सप्तरीको डाक्नेश्वरी नगरपालिकाका नवनिर्वाचित नगरप्रमुख रामलखन मलाहाले पूर्वाग्रह नराखेर सबै वडा र क्षेत्रको विकास गरिने बताउनुभयो ।

डाक्नेश्वरी नगरपालिकाको मगलबार आयोजित शपथ ग्रहण र पदास्थापन कार्यक्रममा प्रमुख मलाहाले सो कुरा बताउनुभएको हो ।

जनप्रतिनिधिहरुले जनताको इशारा र संकेत बुझ्न जरुरी रहेको भन्नुहुँदै जनताको सुझावलाई मार्गनिर्देशनका रुपमा ग्रहण गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा प्रमुख अतिथि संविधानसभा सदस्य ताराकान्त चौधरीले सिँचाई, खाद्यमलको समस्यालाई प्राथमिकताका साथ समाधान गर्न आग्रह गर्नुभयो । गुणस्तरिय शिक्षामा ध्यान दिन र अस्तव्यस्त रहेको अवस्थालाई चुस्तदुरुस्त बनाउन जनप्रतिनिधिलाई सुझाव दिनुहुँदै उहाँले अविलम्ब स्तरीय प्रयोगशाला निर्माण गर्नुपर्ने बताउनु भयो ।

नगर प्रमुख मलाहाले उपप्रमुख मीराकुमारी यादवसहित वडा अध्यक्षहरु र सदस्यहरुलाई सामूहिक रुपमा शपथ ग्रहण गराउनुभएको थियो ।

कार्यक्रममा निवर्तमान प्रमुख शिवनारायण साह, जिल्ला विकास समितिका पूर्वसदस्य हरिसुदन यादव, निर्वाचन अधिकृत शम्भुनाथ मगर, प्रत्याशी उम्मेदवार बेचु साह, प्रमुख प्रशासकीय अधिकृत रामकिसुन यादव, वडा नम्बर ९ का अध्यक्ष कर्णदेव चौधरी, नेकपा (एमाले) सप्तरीका उपाध्यक्ष अब्दुल मजिद साकिरलगायत विभिन्न दलका प्रतिनिधिको उपस्थिति रहेको थियो ।