जीवन खत्री
सउल, जेठ २४ गते ।
सोई ढोले सोई अर्को ढोले खोई...
सोई सोई ला हो हुर्रा हा हा...
चार सयभन्दा बढी नेपाली युवाले ढोलक र झ्याम्टाका तालमा ताल मिलाउँदै गाउँदै नाच्दै, झण्डै पाँच घण्टा दक्षिण कोरियामा धुलो उडाए । सन्दर्भ थियो किराँतीको महान् पर्व उभौलीको अवसर । यलेदोङ ५०८२ का अवसरमा यहाँ रहेका किराँती राईले हर्षोलासका साथ साकेला नाच नाचेका छन् ।
कोरियामा रहेका किराँतीको साझा संस्था किराँत राई यायोख्खा (किराया)ले राजधानी सउलको दोङ्देमुनको सुङ्गिन ग्रिन पार्कमा आइतबार बिहान ११ देखि साँझ ६ बजेसम्म शुभकामना आदानप्रदान तथा साकेला नाच कार्यक्रम आयोजना गरेको थियो । ‘नौ लाख किराँती एउटै शान, पुर्खाको विरासत हाम्रो पहिचान’ भन्ने मूल नाराका साथ भएको सो कार्यक्रमले नेपाली, विशेषतः किराँती संस्कार र संस्कृतिलाई परदेशमा फैलाउन र कोरियालीमाझ चिनाउनसमेत सहयोगी भएको आयोजक संस्थाका महासचिव जीवन राईले बताउनुभयो ।
किरायाकी दीपा मेवाहाङ राईका अनुसार प्रत्येक वर्ष वैशाख पूर्णिमादेखि साकेला नाचिने भए पनि परदेशमा पूर्णिमाकै दिन छुट्टी नमिल्ने भएकाले अर्काे दिन पारेर कार्यक्रम गरिएको हो । किराँती रीतिअनुसार भूमिपूजा गरी उभौली मनाइने क्रममा साकेला शिली नाच नाचिन्छ । प्रकृतिपूजक किराँतीले प्रकृतिलाई खुशी पार्नका लागि नाच्ने सो नाचको विशेष अर्थ रहेको कवि शकुन आँसुले बताउनुभयो ।
किराँती परम्परानुसार उभौलीसँगै मङ्सिर पूर्णिमाका दिनदेखि उधौली पनि मान्ने गरिन्छ तर परदेशमा सम्भव नहुने भएकाले उभौलीलाई मात्र भए पनि निरन्तरता दिइएको कवि सुनिलदिप्त राईले स्पष्ट गर्नुभयो । अन्नबाली लगाइने समयमा बालीनालीमा रोगव्याधि नलागोस्, बाढीपहिरोजस्ता प्राकृतिक प्रकोपबाट बाँचियोस् तथा सुम्निमा र पारुहाङले सम्पूर्ण सृष्टि जगत्को रक्षा गरून् भन्ने कामनाका साथ उभौली मनाइन्छ ।
साकेला अर्थात् सान्केवा नाचमा हातखुट्टाको चाल हाउभाउद्वारा पङ्क्तिबद्ध रूपमा जीव–जनावरको नक्कल गरी ढोल–झ्याम्टाका तालमा सामूहिक नृत्य गरिन्छ । साकेलसाकेन्वा नाच्दा प्रस्तुत गरिने शरीरको हाउभाउ र अभिनयमा खोरिया फाँडेको, अन्नबाली लगाएको, गोडमेल गरेको र बाली उठाएको जस्ता कृषि कार्य प्रदर्शन गरिने आयोजक सुष्मारानाहमा राईले बताउनुभयो ।
यहाँ रहेका नेपाली किराँतीले हरेक वर्ष आफ्नो पहिचान जगेर्नाका लागि उभौली मनाउँदै आए पनि अघिल्ला दुई वर्ष कोरोनाका कारण रोकिएको थियो । कार्यक्रममा कोरियामा रहेका किराँती समुदायलगायत अन्य विभिन्न सङ्घसंस्थाका प्रतिनिधि, विद्यार्थी, व्यवसासी तथा मजदुरको सहभागिता थियोे ।