अमरराज नहर्की तनहुँ, जेठ २२ गते । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुले जनताले अनुभूति गर्ने खालका काम गर्न जरुरी रहेको बताउनुभएको छ । तनहुँको व्यास नगरपालिकाले आयोजना गरेको नवनिर्वाचित जनप्रतिनिधिहरुलाई प्राथमिकीकरण अभ्यास कार्यशालाको उद्घाटन गर्दै नेता पौडेलले, विगतका भन्दा राम्रो कार्य गरेर जनताको मन जित्न ध्यान दिनुपर्ने बताउनुभयो । ‘जनताको माग र आवश्यकतालाई सर्वोपरी थानी जनप्रतिनिधिहरुले अहोरात्र खटेर काम गर्नुपर्छ’ वरिष्ठ नेता पौडेलले भन्नुभयो । जनताको इच्छाअनुसारको काम गर्न सके मात्रै जनप्रतिनिधिहरुको हाइहाइ हुने उहाँको भनाइ थियो । । ‘जनप्रतिनिधिहरु शासक हैन, जनताका सेवक बन्नुपर्छ’ नेता पौडेलले भन्नुभयो । साथै, वरिष्ठ नेता पौडलेले जनताको आम्दानी वृद्धि हुने र रोजगारी सिर्जना हुने योजना बनाउन ध्यान दिनुपर्ने बताउनुभयो ।
अर्जुन काफ्ले स्याङ्जा, जेठ २२ गते । पुतलीबजार नगरपालिका –३ कुमाल गाउँमा रहेको स्याङजा जिल्ला अस्पतालमा रक्तसञ्चार केन्द्र स्थापना भएको छ । पुतलीबजार नगरपालिकाको प्रारम्भिक आर्थिक तथा प्राविधिक सहयोग र नेपाल रेडक्रस सोसाइटी, स्याङ्जा शाखाको पहलमा रक्तदान कार्यक्रम गरी केन्द्र स्थापना गरिएको हो । पुतलीबजार नगरपालिकाको पहिलो बैठकको अस्पतालमा मिगौला डायलासिस सेवालाई विस्तार र रक्तसंचार केन्द्र स्थापना गर्ने निर्णयअनुसार केन्द्रको स्थापना गरिएको हो । नगरपालिकाले प्रारम्भिक कामको लागि १० लाख रुपियाँ उपलब्ध गराउने निर्णय गरेसँगै केन्द्रको स्थापना र डायलासिस सेवा विस्तारमा सहयोग पुगेको हो । १२० पिन्ट रगत भण्डारण क्षमताको केन्द्रको पूर्ण सञ्चालनमा करिब २६ लाख लाग्ने नेपाल रेडक्रस सोसाइटीका सभापति दिनेश अर्यालले बताउनुभयो । रगत अभावका कारण यसअघि केन्द्र बन्द भएको स्मरण गर्दै रक्तदाता, सरोकारवाला र स्थानीय तहबाट सहयोग आवश्यक रहेको अर्यालले बताउनुभयो । रक्तसञ्चार केन्द्र स्थापनाका क्रममा गरिएको रक्तदातामा दिनेश अर्याल र महादेव श्रेष्ठले १९ औँ पटकसहित जम्मा १७ जनाले रक्तदान गर्नुभएको थियो । जिल्ला अस्पतालमा केन्द्र स्थापनासँगै रगतको अभावमा उपचारको लागि काठमाडौँ जानुपर्ने बाध्यताको अन्त्य भएको छ । कार्यक्रममा पुतलीबजार नगरपालिका प्रमुख तुलसीराम रेग्मीले रक्तदाता महादेब श्रेष्ठलाई ब्लडब्याग हस्तान्तरण गर्दै शुभारम्भ गर्नुभएको थियो । स्वास्थ्य नागरिकको लागि महत्वपूर्ण पक्ष भएको र अस्पतालका विरामीले रक्त अभावका कारण भोग्नुपरेको समस्यालाई मध्यनजर गरी रक्तसञ्चार केन्द्र स्थापना गर्न पहल गरेको रेग्मीले बताउनुभयो । अस्पतालको समग्र विकासमा हातेमालो गर्ने बताउँदै रेग्मीले अस्पालको हरेक समस्यामा नगरपालिकाले सहयोग गर्ने बताउनुभयो ।
गोरखापत्र अनलाइन काठमाडौं, जेठ २२ गते । नेपाली सेनाले छ दिने रक्षा सम्वाददाता अभिभुखिकरण कार्यक्रम शुभारम्भ गरेको छ । पोखराको विजयस्थित श्री मध्य कमाण्ड हेड क्वाटरमा सो कार्यक्रमलाई कमाण्ड सेनापति उपरथी बावुराम श्रेष्ठले शुभारम्भ गर्नुभएको हो ।सो कार्यक्रममा विभिन्न सञ्चारगृहका पाँचजना महिलासहित २५ जना रक्षा सम्वाददाताहरुलाई समाचार सम्पे्रषण गर्न सहज होस् भनेर नेपाली सेनाको सांगठनिक स्वरुप, भूमिका तथा नेपाली सेनाको काम, कर्तव्य र जिम्मेवारीलगायतका विषयवस्तुमा प्रशिक्षण दिइनेछ । यस्तै, विषयवस्तुसहित प्रशिक्षार्थीहरुलाई तनुहुँ हाइड्रोपावर, पोखरास्थित शान्ति स्तुपा, पाल्पास्थित पाल्पा संग्रहालय, लुम्बिनी भ्रमण तथा बुटवलस्थित जितगढीको फिल्ड भिजिट गराउने योजना रहेको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयद्वारा प्रकाशित विज्ञप्तिमा उल्लेख गरिएको छ ।
नारद कोहारतौलिहवा, जेठ २२ गते । कपिलबस्तुको विजयनगरमा माछा मार्ने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा विजयनगर गाउँपालिका १ का ४५ वर्षीय जोकबहादुर खन्गाहा रहेको कपिलबस्तुका प्रहरी नायब उपरीक्षक जेसी शाहले बताउनुभयो । खन्गाहाको शनिबार साँझ माछा मार्ने क्रममा चिरही खोलामा डुबेर मृत्यु भएको उहाँले बताउनुभयो ।माछा मार्न खोलामा गएका खन्गााहालाई खोलामा डुबेको अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । खन्गाहाको शवलाई पोस्टमार्टमका लागि शिवराज अस्पताल बहादुरगंज लगिएको छ ।शवलाई पोस्टमार्टमपछि आफन्तको जिम्मा लगाउने प्रहरीले जनाएको छ ।
गाेरखापत्र अनलाइनकाठमाडाैं, जेठ २२ गते । नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालयको बैठक सम्पन्न भएको छ । बैठक प्रचण्ड निवास खुमलटारमा विहान बसेको हो । बैठकमा समसामायिक विषयवस्तु, पार्टी सगंठन र केन्द्रीय कार्यालयको विस्तारबारे कुराकानी भएको माओवादी केन्द्रको बागमति प्रदेशका इञ्चार्ज हितमान शाक्यले गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो ।
कैलाश लामा चरिकोट, जेठ २२ गते । दोलखाको गौरीशंकर गाउँपालिका वडा नम्बर–५ सुरी स्थित काप्ती विकड गाउँमा विगत नौँ वर्षदेखि यहाँका किसानहरुले मौरीपालन व्यवसाय गर्दै आएका छन् । भौगोलिक विकटताले सदरमुकाम चरिकोटबाट दुई दिनसम्म हिँडेर पुग्नुपर्ने यस गाउँमा हालसालै कच्ची सडक पुगेकाले महलाई बजारसम्म पु¥याउन सजिलो भएको छ ।अधिकांश गुरुङ बस्तीमा आयआर्जनका लागि गाई, भैंसी, बाख्रालगायतका पशुपालन गरेता पनि मुख्य रुपमा चौरी र भेडापालन गरिन्छ । तर सुरुसुरुम एकदुई वटा काठको डुडमा परम्परागत रुपमा मौरी पालन गरेता पनि हाल आधुनिक घारमा मौरीपालन गरिँदै आएको छ ।सिकर्मी काममा पोख्त रहेका काप्ती गाउँका विशाल खड्का (रामकुमार)ले मौरीको आधुनिक घार निर्माण गारी जंगलको रुखको टोड्कोमा बस्ने मौरीलाई घारमा राखेर मौरी उत्पादन गर्न थालेपछि हाल यस गाउँका अधिकांशले घरायसी प्रयोज मात्र नभएर व्यवसायिक रुपमा समेत मौरी पालन गर्न थालेका छन् ।वनजंगलको रुखको टोड्कोमा रहने मौरीलाई झोलामा ल्याएर घारमा राखी मौरी उत्पादन गर्न थालेका उहाँकोमा हाल एक सय २० घार मौरी छन् । हाल घारबाटै मौरी उत्पादन गरी बेच्ने गरेको उहाँले बताउनुभयो ।‘वार्षिक सात सयदेखि एक हजारसम्म मौरी घार बेच्ने गरेको छु ।’उहाँले भन्नुभयो, ‘एक घारमा एपि सेरेना जातको २५ हजारसम्म मौरी र एउटा रानी हुन्छ ।’ मौरी नभएको घारको तीन हजार पाँच सय र मौरीसहितको घारलाई दस हजार रुपियाँ लिने गरिन्छ ।मौरी घार निर्माणका लागि घर नजिकै फर्निचर स्थापना गरी एक जना सिकर्मीलाई मासिक तलबमा राखिएको छ भने, श्रीमती निरुता गुरुङ खड्का र आफूसमेत लागि परेको विशाल बताउनुहुन्छ ।मह उत्पादन भन्दा पनि मौरीसहितको घार नै विक्री गर्दा वार्षिक सातदेखि दस लाख रुपियाँसम्म आम्दानी हुने बताउँदै उहाँले भन्नुभयो ‘हाल मौरीको माग प्रशस्तै छ, तर पु¥याउन सकेको छैन ।’रोजगारीको सिलसिलामा २०६२ सालमा मलेसिया पुग्नुभएका विशालले करिब ४ वर्ष विदेशमा बिताउँदा पनि वार्षिक एक लाख बचाउन नसकेपछि गाउँमै फर्केर सिकर्मी काममा लाग्नुभएको थियो ।गाउँघरमा परम्परागत रुपमा मौरी पाल्ने तरिकालाई आधुनिक र व्यावसायिक बनाउँदा पनि फाइदा हुने विश्वासमा २०७० साल फागुनदेखि मौरीपालनमा लाग्नुभएका उहाँले जंगलको मौरी संकलन गरी मौरी उत्पादन थाल्नुभएको हो ।हाल जिल्लाका अधिकांश क्षेत्रका मौरीपालक किसानले मौरी घार किनेर लाने गरेको उहाँ बताउनुहुन्छ । त्यसैगरी काठमाडौंलगायत जिल्ला बाहिरबाट समेत मौरी घारको माग हुने गरेको छ । हालसम्म उहाँले पाँच पटकसम्म मौरीपालन तथा उत्पादनसम्बन्धी तालिम लिनुभएको छ ।उहाँले कृषि तथा पशुपन्छी विकास मन्त्रालयबाट २०७७ साल असोजमा ४० औँ विश्व खाद्य दिवसको अवसरमा उत्कृष्ट मौरीपालन गर्ने कृषकतर्फ राष्ट्रिय स्तरमा द्वितीय भई नगद आठ हजार रुपियाँ पुरस्कार समेत पाउनुभएको थियो ।
सर्लाहीमा पूर्व–पश्चिम हुलाकी सडक निर्माणको कामले गति लिन सकेको छैन । हुलाकी राजमार्ग आयोजना कार्यालय जनकपुरले सर्लाहीमा सङ्ग्रामपुरस्थित बाँके खोलादेखि पश्चिमी भेग बलरास्थित बागमती नदीसम्मको हुलाकी सडक तीन खण्डमा ठेक्का लगाइ निर्माणको काम गराइरहेको छ ।
शेरबहादुर सार्कीबाजुरा, जेठ २१ गते । खप्तड छेडेदह गाउँपालिका ३ धुर्तोलाका स्थानीयबासी वर्षा शुरु भएसँगै चिन्ता चिन्तामै रात बिताउन बाध्य हुन्छन् । गाउँको वरिपरी र माथिबाट निरन्तर बग्न थालेको पहिरोले बस्ती नै बगाउँछ भन्ने डरले उनीहरु चिन्तामै रात बिताउन बाध्य भएका हुन् ।हिउँदमा ढुक्क मनले रात बिताउँदै आएका थियौँ, अब वर्षा लाग्यो, गाउँमै पहिरो पुग्छ की भन्ने चिन्ताले रात काट्नु परेको खप्तड छेडेदहगाउँपालिका ३ धुर्तोलाका स्थानीय सङ्गम रावतले बताउनुभयो । उहाँले भन्नुभयो, “जसरी हिउँदमा ढुक्क मनले मेलापात गएपछि शान्त मनले काम गर्थ्याैं, त्यसरी अब वर्षाको समयमा गर्न सक्दैनौं, वर्षामा पानी प¥यो की जताततै पहिरो लाग्ने गर्छ, पहिरोबाट जीउ जोगाउने चिन्ता चिन्तैमा वर्षायाममा दिन रात बिताउँछौं ।,,२०५५ सालमा धुर्तोलाको गाउँमाथिबाट गएको पहिरोले त्यहाँका स्थानीयबासीको ठूलो मात्रामा धनजनको क्षति भएको थियो ।खेतीयोग्य जमिन र हिँड्ने बाटो पनि पहिरोमा परिणत भएपछि अहिले त्यहाँका स्थानीयलाई एक गाउँबाट अर्को गाउँ आउजाउ गर्न पनि निकै सास्ती भएको छ । पहिरो नजानुभन्दा पहिला खेतीपाती गरेर राम्रोसँग जिवन जीउँदै आएका धुर्तोलाबासीको जमिन अहिले सबै पहिरोले बगाइदिएपछि उहाँहरु अहिले त्यो ठाउँबाट अर्कै ठाउँमा बसाइ गर्न बाध्य हुुनुभएकाे छ । पहिरोले खेती गर्ने जमिन बगाएपछि उनीहरुलाई खेती गरेर खाने जमिन नहुँदा भोकमरीको समस्या आएको स्थानीयको भनाइ छ । यो पीडा खप्तड छेडेदह गाउँपालिका ३ धुर्तौलाबासीको मात्र होइन पीडा त ठेकगाउँ टुनीसैनका महिलाको पनि उस्तै छ ।त्यहाँका महिलाहरुलाई पनि मेलापात घाँस दाउँरा गर्न निकै समस्या भएको छ । महिलालाई वर्षायाममा जीउ जोगाउन निकै गाह्रो छ । गाईभैंसी पालेपछि मेलापात घाँस र दाउँरा गर्न जानै पर्ने उहाँहरुको दिनचर्या छ । त्यहाँका महिलाले यो पीडा अहिले मात्र भोगेका होइनन् । त्यो पीडा २४ वर्ष यसरी नै बितिसक्याे ।बावु बाजेले यो ठाउँ राम्रो मानेर बसोवास गरेका भए पनि अहिलेका पुस्तालाई भने पहिरोले निकै सताइरहेको टुनीसैनका ६० वर्षीया शान्ता खड्काले बताउनुभयो ।
नारद कोहारतौलिहवा, जेठ २१ गते । कपिलबस्तुमा साहित्यकार भवानी भिक्षुको ११३ औं जन्मजयन्ती विविध कार्यक्रम गरी मनाइएको छ । उहाँको गृह जिल्ला कपिलबस्तु नै हो । तौलिहवामा नव कपिलवस्तु साहित्यिक समाजलगायतका संस्थाले विभिन्न कार्यक्रम गरी मनाएका छन् । उहाँले मदन र साझा पुरस्कार जित्नुभएको थियो । सदरमुकाम तौलिहवास्थित भिक्षु चोकमा रहेको भवानीप्रसाद गुप्ता ‘भवानी भिक्षु’ को सालिकमा साहित्यकारहरुले माल्यार्पण गर्दै भिक्षुको जीवनी र उहाँको कृत्रिहरुबारे चर्चा गरिएको थियो ।नेपाली साहित्यमा साहित्यकार भिक्षुले अतुलनीय योगदान दिनुभएको कपिलबस्तु नगरपालिका ३ का वडाध्यक्ष प्रकाश गैरेले बताउनुभयो । ‘भिक्षुले लेखेका कृत्तिहरु अझै पनि जीवन्त रहेका छन् । उहाँले भन्नुभयो, ‘नेपाली साहित्यमा ठूलो गुन लगाउनुभएको छ । आगत, अवान्तर, मैँया साहेव, पाइप नम्बर १ र २ लगायतका कृति, कविता, निवन्ध, लेख आदिमा मनोदशा र मनोविज्ञानलाई प्राथमिकता दिनुहुन्थ्यो ।कार्यक्रममा समाजका अध्यक्ष पशुपतिमणि त्रिपाठी, बरिष्ठ साहित्यकार हरिराज शर्मा पत्रकार महासंघका जिल्ला अध्यक्ष किरणमान बज्राचार्य तौलिहवा उद्योग बाणिज्य संघका महासचिव अर्जुन चापागाई साहित्यकार सकुन्तला ज्ञवाली पौडेलले सात्यिकार भवानी भिक्षुले नेपाली साहित्यको विकासमा अतुलनीय योगदान दिएका बताउनुभयो ।पौडेललाई भवानी भिक्षु स्मृति पुरस्कार नव कपिलबस्तु साहित्यिक समाजले प्रदान गर्ने साहित्यकार भवानी भिक्षु स्मृति पुरस्कार कपिलबस्तुको तौलिहवाका कवियत्रि शकुन्तला ज्ञवाली पौडेललाई दिने निर्णय गरिएको छ । विगत वर्षहरुमा लुम्बिनी अञ्चलका साहित्यकारलाई दिँदै आएकोमा यस वर्षदेखि कपिलबस्तुकै साहित्यकारलाई दिने निर्णय गरिएको वरिष्ठ साहित्यकार हरिराज शर्माले बताउनुभयो ।११ हजार १११ रुपियाँसहित यही जेठ २३ गते सोमबार आनन्दबागस्थित राधाकृष्ण मन्दिरमा पुरस्कृत गरिने नव साहित्यिक समाजका अध्यक्ष पशुपतिमणि त्रिपाठीले बताउनुभयो ।
काठमाडौं, जेठ २१ गते । गृहमन्त्री बालकृष्ण खाणले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालसँग भेट गर्नुभएको छ । अध्यक्ष प्रचण्डको ललितपुरको खुमलटारस्थित निवासमा शनिबार विहान भएको भेटमा समसामयिक राजनीतिबारे छलफल भएको छ ।भेटमा समसामयिक राजनीति, संघीय संसद्मा पेस भएको आर्थिक वर्षको बजेट, सरकारले संसद्मा पेस गर्न लागेका विभिन्न विधेयकबारे छलफल भएको थियो । भेटमा स्थानीय तह निर्वाचनको समीक्षा र सत्तारुढ दलहरूको गठबन्धनलाई निरन्तरता दिनेबारे छलफल भएको थियो । सरकारले प्रतिनिधि सभाको जारी अधिवेशनमा राजनीतिक दलहरूबीचको सहमतिमा नागरिकता विधेयक पेस गर्ने तयारी गरेको छ । त्यसबारे पनि छलफल भएको थियो ।
काठमाडौं उपत्यकामा आज राताे मच्छिन्द्रनाथ (बुगंः करुणामय द्यः) भोटो जात्रा मनाइँदै छ । वर्षा र सहकालकाे देवता राताे मच्छिन्द्रनाथकाे जात्राकाे अन्तिम दिन आज भोटो जात्रा देखाउने समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीसहित विशिष्ट व्यक्तिहरू उपस्थिति रहने बताइएकाे छ ।
नेत्र शाहीजुम्ला, जेठ २१ गते । जुम्ला तातोपानी गाउँपालिका २ निवासी ३० वर्षीय मानबहादुर खत्री आर्थिक अभावमा उपचारविहीन हुनुभएको छ । खत्रीका दुबै मिर्गाैलाले काम नगरेपछि उपचार खर्च जुटाउन नसकेर घरमै बसिरहुनभएको हो । घरको आर्थिक अवस्था कमजोर भएको र दुबै मृगौला प्रत्यारोपणका लागि लाखौँ रकम आवश्यक पर्ने भएकाले सहयोग गर्न उहाँले सबैमा अपिल गर्नुभएको छ ।
गीता श्रेष्ठनेपाली संस्कृति, सामाजिक संस्कार र तिथी–पर्वहरुले मानव समाजको कल्याणका लागि स्थापित गरेका मान्यताहरु ओझेलमा परेका छन् । आजभोलि चाडपर्वहरु परम्परा निर्वाहमा खम्चिएर भोज–भतेर खानुमै सीमित भएको छ । हरेक चाडपर्व प्रकृति र मानव सभ्यता अनि सामुदायिक हितमा केन्द्रित रहेका छन् भन्ने दृष्टान्त वा व्याख्या–विश्लेषण नहुँदा चाड पर्वहरुलाई पुरातनपन्थका रुपमा समेत अथ्र्याउन थालिएको छ । दशैं होस् कि तिहार, छठ होस् कि माघे संक्रान्ति वा साउने संक्रान्ति– यिनको आफ्नै मौलिक विशेषता छन् र यी पर्वहरु मनाउनुको अर्थ आधुनिक विज्ञानले पनि पुष्टि गरेको छ कि यी पर्वहरु मानव स्वास्थ्य, समाज र सृष्टि संरचनाको रक्षा र निरन्तर सक्रियताकै लागि मनाइएका हुन् । हरेक पर्वहरु मानव जीवनसँग जोडिएका छन् । सिथी नखः पनि मानव जीवनसँग जोडिएको पर्व हो । यो पर्व खासमा पानीको मुहान सफा गर्ने पर्व सदियांैदेखि चलिआएको छ । आज विश्वले पानी दिवस मनाउनुपर्ने भन्दै औपचारिक दिवस मनाइरहँदा हाम्रा परम्परामा पानी संरक्षण र शुद्ध पानीको अभियान हजारौं वर्षदेखि नै चलिआएको प्रथालाई बुझ्नै सकेनौं र यस्ता महान अभियानलाई ओझेलमा पारिरहेका छौँ ।नेपालमा लिच्छविकालदेखि नै पानी संरक्षणको प्रचलन चलिआएको भए पनि आधुनिक विश्वमा भने सन् १९९३ बाट विश्व पानी दिवस माउन थालिएको हो । संयुक्त राष्ट्रसंघले सन् १९९३ मार्च २२ लाई पानी दिवस मनाउने घोषणा गरेदेखि हरेक वर्ष पानी दिवस मनाइन्छ । यो दिवसमा पानीको महत्वबारे र यसको संरक्षणका नारा घन्कन्छन्, पानीको स्रोतहरुको संरक्षण र स्वच्छ पानी कसरी उपलब्ध गराउने भन्ने योजना बन्दछ । तर जलस्रोतले सम्पन्न देश भएर पनि होला हिमालयदेखि निसृत हुने सदावहार नदीसँगै भूमिगत जलसमेत पर्याप्त भएकाले यहाँ हजारौं वर्षअघिदेखि पानीका स्रोत संरक्षण र यसको सरसफाई गर्ने पर्व नै मनाउने चलन रहिआएको हो । विशेष गरी काठमाडौं उपत्यकाका नेवार समुदायले जेष्ठ शुक्लपक्षको षष्ठी तिथिमा मनाउने पर्व सिथी नखःको विशेषता भन्नु नै पानीका मुहान र स्रोत सरसफाई गर्नु हो । आजभोलि अव्यवस्थित शहरीकरणले गर्दा यहाँ भएका ढुंगेधारा, इनार तथा कुवा र पोखरीहरु मासिएर घरघरमा धारा र जारमा भरिएका पानीका भाँडा आउने हुँदा पानी सफा गर्ने काम त्यति नहुने भए पनि यो पर्व मनाउन छाडिएको छैन । किनभने यो एक सांस्कृतिक पर्व हो र नेपालमा लिच्छविकालदेखि सिथी नखः पर्व मनाएर पानीको महत्व र त्यसको स्रोतको संरक्षणबारे मानिसलाई सचेत गराउने कार्य हुँदैआएको संस्कृतिविद्हरु बताउँछन् ।उपत्यकाको मौलिक संस्कृति यहाँका रैथाने नेवारको धरोहर हो । अथाह सांस्कृतिक भण्डार रहेको नेवार समुदायले मनाउने धेरै पर्वहरुको तुलनामा सिथी नखः फरक छ । प्रायःजसो चाडपर्वहरु नेवारको सामूहिक भोजभतेर गर्ने, मन्दिर जाने, बाजागाजा बजाउने इत्यादि रहे पनि यस पर्वमा भने पानीका परम्परागत स्रोतहरूको सरसफाई गर्ने गरिन्छ । केहीले यही दिनमा कुलदेवताको पूजा पनि गर्दछन् ।केही दशकअघिसम्म उपत्यकामा सबै टोलबासीहरू मिलेर आ–आफ्ना टोल अगाडि भएका इनार, ढुंगेधारा, कुवा, पोखरीआदि सफा गर्ने चलन थियो र अझै पनि बाँकी रहेका त्यस्ता सम्पदाहरुको सरसफाई गर्ने गरिन्छ । हिउँद सकिएर वर्षायाम सुरु हुने बेला पर्ने सिथी नखः मनाउनुको कारण इनार, कुवा सफा गर्न सजिलो हुने हुन्छ ।किनभने लामो समयदेखिको सुख्खायाम भएकाले यसबेला पानीको सतह पूरै घट्ने भएकाले इनार, कुवा, पोखरी र ढुंगेधारा सफा गर्न सजिलो हुन्छ । सिथी नखःका दिन मुहान सफा गयो भने वर्षभरि पानीको अभाव हुँदैन भन्ने जनविश्वास छ । सिथी नखःको दिन सफा गरेको इनार, ढुंगेधारा, कुवा र पोखरीको पानी चार दिन नभएसम्म चलाउन नहुने चार दिनपछि पूजा गरेर पानी चलाउने चलन छ ।पानीको मुहान सफा गरेपछि पानी जम्न समय लाग्नुका साथै फोहोर हुने भएकाले चार दिनपछि मात्रै चलाउने गरिन्छ । त्यसो त सिथी नखःको दिन पनि भोज नखाने होइन । यो दिन मास, मुगी, केराउलगायतका पकवान पकाउने चलन छ । यस दिन बारा, चटामरी, पापड, मालपुवा, र म्हुछ्यामारी आदि पकवान खाने चलन छ ।खाद्यान्न विज्ञान र प्रकृतिको अनुपम मिलनको चाडका रूपमा समेत यसलाई लिन सकिने संस्कतिविद्हरु बताउँछन् । मौसम अनुसारको पर्व र सोही अनुसारको खानेकुरा खाने नेवारी समुदायको प्रचलनअनुरुप सिथी नखःमा खाने बारा, चटामरीलगायतका परिकारले शरीरलाई तन्दुरुष्त राख्न मद्दत पुग्ने उनीहरुको चलन छ । जसरी साउने संक्रान्तिमा क्वाटी खानु, माघे संक्रान्तिमा घीउ चाकु खानु शरीरमा तागत बढाउन र रागेव्याधीसँग लड्ने क्षमतावृद्धिकै लागि हो ।पानीको पूजा आराधना गरी यसै दिनदेखि रोपाईको शुरुआत गरिने चलन पनि छ । यस दिन स्थान विशेषअनुसार असारे गीत, कौला राग आदि गाउने गरिन्छ । यस पर्वका अवसरमा मध्यकालमा काठमाडौँका दुई टोलका मानिस युद्ध गरेको नाटक गर्ने परम्परा थियो । लडाइँमा चोटपटक लागी मानिस घाइते हुन थालेपछि जङ्गबहादुर राणाले यो चलन बन्द गराएको भन्ने भनाइसमेत छ ।जेष्ठ शुक्ल सप्तमीका दिन क्षेत्रपाटीस्थित नःघल टोलमा रहेको कुमार कार्तिकेयको मन्दिरमा पूजा सामग्रीसहित विभिन्न प्रकारका नैवेद्य लिएर पूजा गर्न जाने चलन छ । जेष्ठ शुक्ल सप्तमीको दिन राति कुमार कार्तिकेयलाई खटमा राखी राजधानी शहरका विभिन्न स्थानमा घुमाउने गरिन्छ । कुनै पनि चाडपर्व, जात्राहरुको मूल उद्देश्य भोजभतेर खानु मात्र कदापी हैन, हामीले चाडपर्व मनाउँदा यसको तात्विक अर्थ र महत्व बुझ्न जरुरी छ । आजको पुस्तालाई यस्ता पर्वहरुको विशेषता र मौलिकता अनि विश्वमा प्रचलनमा रहेका अभ्यासहरुको तुलना गरेर संस्कृति संरक्षणमा जागरुक पनि बनाउनु आवश्यक छ । पर्वहरुको विशेषता नै हाम्रो सभ्यताको चिनारी हो र हाम्रो संस्कृति नै हाम्रो सम्पत्ति हो भन्ने मान्यताको विकास गर्नुपर्ने समय आइसकेको छ । हामीले मनाउने हरेक चाडपर्वहरुलाई वैज्ञानिक पक्षबाट हेर्ने, बुझ्ने र बुझाउने काम गर्न अब ढिला भैसकेको छ । संस्कृति मासिनु भनेको मानिसको चिनारी हराउनु हो । उसको आफ्नो मौलिकता गुमाउनु हो । अझ वैदिककालसम्म जोडिएको नेपालका हरेक जातजाति, क्षेत्र, सम्प्रदायले मनाउने चाडपर्वहरु समग्र मानवहितमा समर्पित छन् र यिनको एउटै मात्र उद्देश्य मानव स्वास्थ्य, वातावरण संरक्षण र प्रकृति रक्षा हो भन्ने मान्यता पुनःस्थापित गर्नुपर्दछ । किनभने, नेपालको हरेक चाडपर्व प्रकृति संरक्षण र मानव हितमा समर्पित छ । यसमा रहेका परम्परागत पक्षहरुलाई रुढीवादको जामा पहिराएर पश्चिमाले नारा घोकाइदिएपछि मात्र त्यसको महत्व सम्झने गर्दछौं । हजारौं वर्षदेखि सिथी नखःले पानीका मुहान सँधै सफा राख्नु पर्दछ भनेर बसालिएको प्रथालाई बेवास्ता गर्दै पश्चिमाले पानी दिवस भनेपछि त्यसको पछिलाग्दा हामी सांस्कृतिक अतिक्रमणको शिकार भैरहेका छौँ ।अरुले भनिदिएको सबै राम्रो मान्दै त्यसैको पछिलाग्ने गर्दा हामीले हाम्रो मौलिकता भुल्दै गएका छौँ । नेपालमा रहेका हरेक जातजातिको चाड पर्व नेपाली संस्कृति हो र यो संस्कृति वैदिक संस्कृतिको एउटा अंग हो भन्ने भुलेर जातीय विभेदमा रुल्मुलिएर मौलिकता नष्ट गरिरहेका छाँै ।हाम्रा चाडपर्व र संस्कृति कति वैज्ञानिक र दूरदृष्टिकोणले युक्त रहेका छनु भन्ने तथ्य सिथी नखः र आज देखापरेको पानीको समस्याले नै स्पष्ट गर्दछ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार विश्वमा दुई अर्ब भन्दा बढी मानिस सुरक्षित पिउने पानीबाट वञ्चित छन् । झण्डै पौने दुई अर्ब मानिस फोहोर र मानव मलको अंश मिश्रित पानी पिउन बाध्य छन् । असुरक्षित पानी र कमजोर सरसफाईका कारण हरेक वर्ष करिब दश लाखजनाको मृत्यु हुने गरेको छ । यो अहिलेको समस्या नेपाली समाजले हजारौं वर्षअघि नै देखेको थियो र पानी सफाईको अभियान चलाउन धार्मिक मान्यता र संस्कार स्थापित गरियो– ‘सिथी नखः’का रुपमा ।विश्वमा तीव्रगतिमा जनसंख्या वृद्धि भएसँगै पानीको चुनौती थपिएको छ । सन् २०५० सम्ममा विश्व जनसंख्या नौ अर्ब पुग्नेछ तर पानीको माग हालभन्दा ३० प्रतिशतले बढ्नेछ । आगामी दिनमा पानीको समस्या अझ जटिल बन्दै जानेछ । अझ तेस्रो विश्वयुद्ध भएको अवस्थामा त्यो पानीकै लागि हुने समेत बताउन थालिएको छ । यस्तो चिन्ताजनक भविष्य वाणीकाबीच जलस्रोतमा धनी, जैविक विविधतालेयुक्त नेपालको प्राकृतिक वातावरण जोगाउन र मानव सभ्यतालाई बचाउन चाडपर्वहरुको संरक्षण, प्रवद्र्धन र यसका वैज्ञानिक पक्षहरुका प्रचारप्रसार हुनु जरुरी छ ।
ठाकुरप्रसाद आचार्यम्याग्दी, जेठ २१ गते । सूर्यनारायण पुरस्कार संस्था बेनी म्याग्दीले दुईजना अग्रज कलाकारलाई सम्मान गरेको छ । शनिबार बेनीमा पुरस्कार तथा सम्मान कार्यक्रमको आयोजना गरेर संस्थाले बेनीका कलाकारद्वय ८३ वर्षीय तुलप्रसाद श्रेष्ठ र ६५ वर्षीय प्रकाशकुमार श्रेष्ठलाई सम्मान गरेको हो । बेनी नगरपालिकाका प्रमुख सुरत केसी र संस्थाका अध्यक्ष सुवर्णकुमार श्रेष्ठले नेपाली लोकसंस्कृति, कला र साहित्यको विकासमा योगदान पु¥याएको भन्दै श्रेष्ठद्वयलाई जनही २० हजार रुपियाँसहित पुरस्कार दिइएको छ । प्रत्येक दुई वर्षमा एकजनालाई प्रदान गरिने पुरस्कार कोरोनाका कारण २०७६ र २०७८ मा प्रदान गर्ने पुरस्कार एकैपटक प्रदान गरिएको संस्थाले जनाएको छ । सम्मानित श्रेष्ठद्वय बेनी नगरपालिका ७ र ८ का स्थायी वासिन्दा हुनुहुन्छ । कलाकार श्रेष्ठद्वय बेनीको कला र लोकसंस्कृतिको संरक्षण, विकास र पुस्तान्तरण गराउन सक्रिय हुनुहुन्छ । पुरस्कार वितरण तथा गंगा बुलेटिन बिमोचन कार्यक्रमका प्रमुख अतिथि बेनी नगरपालिकाका प्रमुख केसीले नेपाली लोकसंस्कृतिका क्षेत्रमा क्रियाशिल व्यक्तिहरुलाई सम्मानले थप उर्जा प्राप्त हुने बताउनुभयो । सूर्यनारायण पुरस्कार संस्थाले म्याग्दीको लोकसंस्कृतिको संरक्षण र प्रवद्र्धनमा लागेका व्यक्तिहरुलाई सम्मानले प्रोत्साहन मिल्ने उहाँको भनाई थियो ।साथ, सूर्यनारायण पुरस्कार प्रदान कार्यक्रमको अवसर पारेर गंगा नामक बुलेटिन विमोचन गरिएको छ ।
राजु लामिछाने रुकुम पूर्व, जेठ २१ गते । रुकुम पूर्वमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । जिल्लाको सिस्ने गाउँपालिका ४ दादीङमा ट्याक्टरमा सवार दुई जनाको ज्यान गएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका सूचना अधिकारी प्रहरी निरीक्षक कृष्ण खत्रीमा अनुसार मृत्यु हुनेमा सिस्ने गाउँपालिका ४ दादीङकै १५ वर्षीय आकाश बुढा र सोही ठाउँकै ५० वर्षीया नन्दि बुढा रहनुभएको छ । स्थानीय कोम्बोट खोलाबाट गिट्टी लोड गरेर दादीङतर्फ आउँदै गरेको रा १ त १६१६ नम्बरको ट्याक्टर शुक्रबार साँझ दुर्घटना भएको हो । दुर्घटनामा परेर दुई जना घाइते भएका छन् । घाइते हुनेमा दादीङकै ५९ वर्षीया ओइली पुन र ४५ वर्षीय रुद्रबहादुर मल्ल हुनुहुन्छ । मल्लको अवस्था सामान्य छ भने पुनको अवस्था गम्भीर छ । उहाँको रुकुम पूर्व अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक खत्रीले बताउनुभयो ।प्रहरीका अनुसार ट्याक्टर सडकमै हाइड्रोलिक उठेको अवस्थामा छ । ट्याक्टर सडकदेखि तल पनि खसेको छैन । ट्याक्टरको पछाडिको भागमा बसेका उनीहरु आत्तिएर हाम फालेको हुनसक्ने प्रहरीको अनुमान छ । ट्याक्टर चालकको नाम, ठेगाना भने खुलेको छैन । चालक फरार रहेकाले खोजी कार्य जारी राखेको प्रहरीले जनाएको छ ।