• ८ मंसिर २०८१, शनिबार

जंगली मौरीलाई घारमा राखेर वार्षिक ७ लाखसम्म आम्दानी

blog

दोलखाको गौरीशंकर सुरीस्थित काप्ती गाउँका मौरीपालक कृषक विशाल खड्का । तस्विर– कैलाश लामा

कैलाश लामा 

चरिकोट, जेठ २२ गते । दोलखाको गौरीशंकर गाउँपालिका वडा नम्बर–५ सुरी स्थित काप्ती विकड गाउँमा विगत नौँ वर्षदेखि यहाँका किसानहरुले मौरीपालन व्यवसाय गर्दै आएका छन् । भौगोलिक विकटताले सदरमुकाम चरिकोटबाट दुई दिनसम्म हिँडेर पुग्नुपर्ने यस गाउँमा हालसालै कच्ची सडक पुगेकाले महलाई बजारसम्म पु¥याउन सजिलो भएको छ ।

अधिकांश गुरुङ बस्तीमा आयआर्जनका लागि गाई, भैंसी, बाख्रालगायतका पशुपालन गरेता पनि मुख्य रुपमा चौरी र भेडापालन गरिन्छ । तर सुरुसुरुम एकदुई वटा काठको डुडमा परम्परागत रुपमा मौरी पालन गरेता पनि हाल आधुनिक घारमा मौरीपालन गरिँदै आएको छ ।

सिकर्मी काममा पोख्त रहेका काप्ती गाउँका विशाल खड्का (रामकुमार)ले मौरीको आधुनिक घार निर्माण गारी जंगलको रुखको टोड्कोमा बस्ने मौरीलाई घारमा राखेर मौरी उत्पादन गर्न थालेपछि हाल यस गाउँका अधिकांशले घरायसी प्रयोज मात्र नभएर व्यवसायिक रुपमा समेत मौरी पालन गर्न थालेका छन् ।

वनजंगलको रुखको टोड्कोमा रहने मौरीलाई झोलामा ल्याएर घारमा राखी मौरी उत्पादन गर्न थालेका उहाँकोमा हाल एक सय २० घार मौरी छन् । हाल घारबाटै मौरी उत्पादन गरी बेच्ने गरेको उहाँले बताउनुभयो ।

‘वार्षिक सात सयदेखि एक हजारसम्म मौरी घार बेच्ने गरेको छु ।’उहाँले भन्नुभयो, ‘एक घारमा एपि सेरेना जातको २५ हजारसम्म मौरी र एउटा रानी हुन्छ ।’ मौरी नभएको घारको तीन हजार पाँच सय र मौरीसहितको घारलाई दस हजार रुपियाँ लिने गरिन्छ ।

मौरी घार निर्माणका लागि घर नजिकै फर्निचर स्थापना गरी एक जना सिकर्मीलाई मासिक तलबमा राखिएको छ भने, श्रीमती निरुता गुरुङ खड्का र आफूसमेत लागि परेको विशाल बताउनुहुन्छ ।

मह उत्पादन भन्दा पनि मौरीसहितको घार नै विक्री गर्दा वार्षिक सातदेखि दस लाख रुपियाँसम्म आम्दानी हुने बताउँदै उहाँले भन्नुभयो ‘हाल मौरीको माग प्रशस्तै छ, तर पु¥याउन सकेको छैन ।’

रोजगारीको सिलसिलामा २०६२ सालमा मलेसिया पुग्नुभएका विशालले करिब ४ वर्ष विदेशमा बिताउँदा पनि वार्षिक एक लाख बचाउन नसकेपछि गाउँमै फर्केर सिकर्मी काममा लाग्नुभएको थियो ।

गाउँघरमा परम्परागत रुपमा मौरी पाल्ने तरिकालाई आधुनिक र व्यावसायिक बनाउँदा पनि फाइदा हुने विश्वासमा २०७० साल फागुनदेखि मौरीपालनमा लाग्नुभएका उहाँले जंगलको मौरी संकलन गरी मौरी उत्पादन थाल्नुभएको हो ।

हाल जिल्लाका अधिकांश क्षेत्रका मौरीपालक किसानले मौरी घार किनेर लाने गरेको उहाँ बताउनुहुन्छ । त्यसैगरी काठमाडौंलगायत जिल्ला बाहिरबाट समेत मौरी घारको माग हुने गरेको छ । हालसम्म उहाँले पाँच पटकसम्म मौरीपालन तथा उत्पादनसम्बन्धी तालिम लिनुभएको छ ।

उहाँले कृषि तथा पशुपन्छी विकास मन्त्रालयबाट २०७७ साल असोजमा ४० औँ विश्व खाद्य दिवसको अवसरमा उत्कृष्ट मौरीपालन गर्ने कृषकतर्फ राष्ट्रिय स्तरमा द्वितीय भई नगद आठ हजार रुपियाँ पुरस्कार समेत पाउनुभएको थियो ।