निर्वाचन आयोगले राजनीतिक दलका प्रमुख तथा पदाधिकारीसँग आइतबार छलफल गर्दै छ। सङ्घीय संसद् र प्रदेश सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुख तथा पदाधिकारीसँग छलफल गर्न लागिएको आयोगले जनाएको छ। आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्वयनसम्बन्धमा दलहरूसँग अन्तक्र्रिया गरिने बताउनुभयो। उहाँले भन्नुभयो, “छलफलका लागि प्रधानमन्त्री, गृहमन्त्रीसहित १२ राजनीतिक दलका प्रमुख तथा पदाधिकारीलाई बोलाइएको छ।”
संयुक्त राष्ट्रसङ्घको ७७औँ महासभाअन्तर्गत विभिन्न सत्रमा उच्चस्तरीय बहस जारी छ। यस क्रममा शक्तिशाली राष्ट्रहरूको समूह जी–७७ र चीन समूहको मन्त्रीस्तरीय बैठकमा नेपालले शुक्रबार राति सहभागिता जनाउने अवसर पाएको छ। सो बैठकमा नेपालका तर्फबाट परराष्ट्र सचिव भरतराज पौड्यालले सम्बोधन गर्ने अवसर पाउनुभएको छ।
सिन्धुलीको सुनकोसी गाउँपालिका–३ की ७० वर्षीया सुन्तलीमाया मगरलाई यतिखेर जङ्गली फल आँटी बेच्न भ्याइनभ्याइ छ। नजिकै आएको बडादशैँ मान्न खर्च जुटाउन आँट (आँटी, सरिफाजस्तै) भरपर्दो स्रोत बनेको उहाँले बताउनुभयो। उहाँले भन्नुभयो, “हरेक दिन बिहान झिसमिसेदेखि साँझ झमक्क नहुन्जेल आँट बिक्री भइरहन्छ। बीपी राजमार्ग हुँदै गाडीमा हुइँकिने यात्रु नै मेरा ग्राहक हुन्।” बीपी राजमार्गअन्तर्गत झा“गाझोली रातमाटाको बलराम चोक उहाँको आँटी बेच्ने थलो बनेको छ।
जग्गाधनी पुर्जाविहीन काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–७ र ८ का नागरिकको लालपुर्जा बनाउने विषयमा मालपोत कार्यालय काभ्रेपलाञ्चोकले जग्गाको अन्तिम स्वामित्व किटान गर्न नसक्ने जनाएको छ। नापी कार्यालयले गाउँमा गएर नापी टोलीले सङ्कलन गरेको निवेदनमध्ये ८० थान निवेदनको कागजात भिडाइ जग्गाको अन्तिम स्वामित्व भिडाउन पठाएको निवेदनमाथि काम गर्न नसकिने पत्र मालपोतले पठाएको हो।
चाडपर्वमा हुने गरेको सवारी दुर्घटना रोक्न राजमार्गमा ‘टाइम कार्ड’ लागू गरिने भएको छ। चाडपर्वको बेलामा दुर्घटना रोकथाम तथा यातायातको सहज व्यवस्थापनका लागि शुक्रबारको मन्त्रिपरिषद् बैठकले समिति स्थापना गर्ने निर्णय गरेको थियो। शनिबार गृह प्रवक्ता फणीन्द्रमणि पोखरेलको अध्यक्षतामा बसेको समितिको बैठकले ‘टाइम कार्ड’ लागू गर्ने निर्णय गरेको हो। समितिले विभिन्न १४ वटा निर्णयसमेत गरेको छ। गृह मन्त्रालयका अनुसार गन्तव्य स्थलमा छिटो पुग्न तीव्र गतिमा सवारी चलाउने प्रवृत्तिलाई निरुत्साहन गर्न नेपाल प्रहरी, यातायात व्यवस्था विभाग तथा यातायात व्यवसायीको समन्वयमा राजमार्गमा स्थान पहिचान गरी यस्तो कार्ड लागू गर्ने निर्णय गरिएको छ। यो समयमा यात्रुलाई सवारीसाधनको छतमा बसेर वा झुन्डिएर यात्रा गर्न नदिइने भएको छ।
राष्ट्रिय गौरवको रानी, जमरा, कुलरिया आयोजनाका लागि आर्थिक वर्ष २०७८/७९ मा दुई अर्ब ६३ करोड पाँच लाख रुपियाँ बजेट विनियोजन गरिएकोमा एक अर्ब ८१ करोड ८६ लाख (७२ प्रतिशत) मात्र खर्च भएको छ। आयोजनाका सूचना अधिकारी इन्जिनियर पे्रम लासिवाका अनुसार आर्थिक वर्ष २०७८/७९ मा भएको खर्चबाट १४.६५ किलोमिटर लम्की नहर निर्माण भएको छ। फिडर क्यानलमा निर्माणाधीन ४.७१ मेगावाट विद्युत्गृहको हाइड्रो मेकानिकल कार्य र पावरहाउसदेखि लम्की सबस्टेसनसम्म ६.५ किलोमिटर ट्रान्समिसन लाइन तयार भएको छ।
चाडपर्वको समयमा हुने सवारी चाप घटाउन सबै प्रकारका चार पाङ्ग्रे सवारीसाधनलाई काठमाडौँको नयाँ सडक (न्युरोड) क्षेत्रमा प्रवेश गर्न शनिबारदेखि रोक लगाइएको छ। सो क्षेत्रमा हुने सवारी चापलाई हेरेर यो व्यवस्था गरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। कार्यालयले सूचना जारी गर्दै असोज ८ गतेदेखि फूलपातीसम्म बिहान १० बजेदेखि साँझ सवारी चाप सामान्य नहुञ्जेलसम्म सो क्षेत्रमा सवारीसाधनको प्रवेशमा रोक लगाइएको जनाइएको छ। यो व्यवस्था असोज १६ गतेसम्म कायम रहने कार्यालयले जनाएको छ।
नेकपा (एमाले) का अध्यक्ष एवम पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकता विधेयकमाथि छलफल गर्न राष्ट्रपतिले पठाउनुभएको सुझावलाई संसदभित्र छलफल नगरी विधेयकलाई जस्ताकोत्यस्तै पठाएर सरकार तथा गठबन्धन दलले राष्ट्र«पतिको अपमान गरेको बताउनुभएको छ ।
सरकारले पर्यटन क्षेत्रलाई चलायमान बनाउन नेपाल भ्रमण दशक मनाउने निर्णय गरेको छ।
समाजवादी प्रेस संगठनको उपत्यका र बागमती प्रदेशको शनिबार भएको संयुक्त भेलाले श्रमजीवी पत्रकार ऐनले व्यवस्था गरेका सेवासुविधा प्राप्तिका जारी आन्दोलनप्रति समर्थन गरेको छ।
काठमाडौं, असोज ८ गते। सरकार र अनशनरत प्रा.डा. गोविन्द केसीबीच १० बुँदे सहमति भएको छ। शनिबार साँझ पत्रकार सम्मेलन गरेर सरकारसँग भएको सहमति सार्वजनिक भएको हो ।२० औँ सत्याग्रहमा रहनुभएका डा. केसी १३ दिनदेखि आमरण अनशनमा हुनुहुन्थ्यो ।। गरिब, विपन्न जनतासँग जोडिएका उहाँका माग सम्बोधन गर्न सरकारलाई विभिन्न निकायले दबाब दिँदै आएका थिए। स्वास्थ्य अवस्था जटिल बनेपछि धनगढीमा अनशनरत डा. केसी थप उपचारका लागि बुधबार काठमाडौं आउनुभएको हो।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले 'सेरेमोनियल’ राष्ट्रपतिले प्रतिनिधिसभा र राष्ट्रियसभाबाट दुई पटक पारित भएर गएको नागरिकता विधेयक प्रमाणीकरण नगरेर संविधान विपरीत काम गरेकोे बताउनुभएको छ।
शताब्दी पुरुष सत्यमोहन जोशीलाई डेंगु संक्रमण भएको छ।विगत केही दिनदेखि निरन्तर कमजोर महसुस हुने, खानामा अरूचि हुने जस्ता समस्या भएकाले शताब्दी पुरुष जोशी शुक्रबार किस्ट अस्पतालमा भर्ना हुनुभएको हो।
कपिलवस्तुको शिवराज नगरपालिका ३ बलुहवाबाट प्रहरीले भरुवा बन्दुकसहित एक जनालाई पक्राउ गरेको छ।
काठमाडौंको अशन क्षेत्रमा किनमेल गर्नेको भीड लागेपछि शनिबार त्यस क्षेत्रकाे आवत-जावतमा समेत असर पुगेको छ।