• १३ साउन २०८१, आइतबार

राष्ट्रपतिको अपमान गरियो : अध्यक्ष ओली

blog

धर्बेन्द्र झा 

धनुषा, असोज ८ गते । नेकपा (एमाले) का अध्यक्ष एवम पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकता विधेयकमाथि छलफल गर्न राष्ट्रपतिले पठाउनुभएको सुझावलाई संसदभित्र छलफल नगरी विधेयकलाई जस्ताकोत्यस्तै पठाएर सरकार तथा गठबन्धन दलले राष्ट्र«पतिको अपमान गरेको बताउनुभएको छ ।  


एमाले जिल्ला कमिटी धनुषाले जिल्लाको निर्वाचन क्षेत्र नं. २ को तिनकौरिया चौकमा शनिबार आयोजना गरेको वृहत पार्टी प्रवेश कायक्रममा उहाँले सो कुरा बताउनुभएको हो । गठबन्धन दलले प्रमुख प्रतिपक्षी दलसँग विधेयकबारे कुनै छलफल नगरी जस्ताकोत्यस्तै पठाएको प्रष्ट पार्नुभयो । 

जन्मसिद्ध नेपाली नागरिकको सन्तानलाई नागरिकता दिने पक्षमा एमाले सदैव रहेको भन्दै सरकारले नागरिकता विधेयकमा अनावश्यक कुराहरु राखेर नागरिकता विषयमा झन समस्या थपेको उहाँले आरोप लगाउनुभयो । अध्यक्ष ओलीले आफु प्रधानमन्त्री हुँदाको समयमा नागरिकता समस्या समाधान गर्न खोज्दा समितिमा गठबन्धन दलका सांसदले विधेयक नै अघि बढन नदिएको स्मरण गर्नुभयो ।


आगामी मंसिर ४ गतेको निर्वाचनपछि एमाले नेतृत्वको सरकार बन्ने र एक महिना भित्रमा नागरिकताको विषय समाधान गर्ने उहाँले दावी गर्नुभयो । उहाँले भन्नुभयो, “एमालेले नेपाली नागरिकलाई नागरिकता दिन भन्छ, तर गठबन्धन दलहरुले गैर नेपालीलाई नागरिकता दिन भनेपछि समस्या उत्पन्न भएको हो ।”

स्थानीय तह निर्वाचनपछि अरुपार्टी छाडेर एमाले प्रवेश गर्नेको संख्या एक लाख नाघेको अध्यक्ष ओलीले दावी गर्नुभयो । तराई मधेशको विकास एमालेले मात्रै गर्न सक्ने दाबी गर्दै पहिलो पटक मतदान गर्ने युवाहरुले देशको पक्षमा मतदान गर्नुपर्ने धारणा राख्नुभयो ।

  

पार्टी प्रवेश

अध्यक्ष ओलीले कार्यक्रममा विभिन्न दल परित्याग गरेका नेता तथा कार्यकर्ताहरुलाई पार्टीमा स्वागत गर्नुभयो । धनुषा २ बाट प्रतिनिधिसभा सदस्य तथा लोसपाका नेता उमाशंकर अरगरियासहितका नेता कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् । 

सो अवसरमा जसपाका सांसद तथा केन्द्रीय सदस्य अमृता अग्रहरि पनि एमालेमा प्रवेश गर्नुभयो । उहाँसँगै अन्य नेता तथा कार्यकर्ताहरु पनि एमालेमा प्रवेश गरेका छन् । अध्यक्ष ओलीले सबैलाई पार्टीमा स्वागत गर्नुभयो ।