• १३ साउन २०८१, आइतबार

मालपोतले जग्गाको स्वामित्व किटान नगर्दा समस्या

blog

बनेपा समाचारदाता 

काभ्रेपलाञ्चोक, असोज ९ गते  । जग्गाधनी पुर्जाविहीन काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–७ र ८ का नागरिकको लालपुर्जा बनाउने विषयमा मालपोत कार्यालय काभ्रेपलाञ्चोकले जग्गाको अन्तिम स्वामित्व किटान गर्न नसक्ने जनाएको छ। नापी कार्यालयले गाउँमा गएर नापी टोलीले 

सङ्कलन गरेको निवेदनमध्ये ८० थान निवेदनको कागजात भिडाइ जग्गाको अन्तिम स्वामित्व भिडाउन पठाएको निवेदनमाथि काम गर्न नसकिने पत्र मालपोतले पठाएको हो। 

नापी कार्यालयले गत भदौ २१ गते मालपोत कार्यालयलाई पत्र पठाउँदै ८० निवेदकको विषयमा काम गरिदिन आग्रह गरेको थियो। मालपोत कार्यालयले भदौ २६ गते पत्रको जवाफ दिँदै फिल्ड बुकमा जनिएका जग्गाधनीबाट हाल सरोकारवाला (निवेदक)को नामसम्म आइपुग्दा राजीनामा, अंशबन्डा, अंश भर्पाइ, बकसपत्रलगायतको बेहोराले हक हस्तान्तरण भइआएको देखिएको जनाएको छ। 

मालपोतले फिल्ड बुकमा जनिएका जग्गाधनीबाट हालसम्मका निवेदकसम्म स्वामित्व परिवर्तन, तत्कालीन समयमा बीउबिजनका हिसाबले ससिम वा मध्येबाट मुठी, माना, पाथी, मुरीलगायतका हिसाबले हक हस्तान्तरण भई आएका सबै लिखत पेस नभएको र पेस नभएको लिखतबाट कुन मितिमा हस्तान्तरण भएको हो सो कागजातको मिति खुली नआएकाले कार्यालयमा भएका लिखत एवं कागजातबाट खोजी यकिनका साथ भिडान गर्न नसकिएको जवाफ दिएको छ। 

यसैगरी मालपोतले कार्यालयमा मुठी, माना, पाथी, मुरीलगायतका बिजनका आधारमा जग्गाको एकाइ मापन गर्ने ज्ञान भएको दक्ष जनशक्ति अभाव रहेको, तत्कालीन समयमा बेजिल्ला लिखतसमेत पास हुने गरेकाले मालपोत कार्यालयबाहेक अन्य जिल्लाबाट हक हस्तान्तरण भएका लिखतहरू कार्यालयमा अद्यावधिक रूपमा प्राप्त नभएकाले हक हस्तान्तरण यकिन गर्न नसकिएको जनाएको छ। नापी कार्यालयका सूचना अधिकारी नापी अधिकृत सुरेश मानन्धरले भुम्लुको दुई वडाको लालपुर्जाको समस्या समाधान गर्न कार्यालयले पटक पटक टोली पठाएको बताउनुभयो। उहाँले मालपोत कार्यालयले अपेक्षाअनुसारको सहयोग नगरेको भन्दै लालपुर्जाका लागि दुई वडाका एक हजार नागरिकले निवेदन दिएको बताउनुभयो।

कार्यालयले हालसम्म १९३ वटा लालपुर्जा तयार गरिसकेको छ। दुई वडामा पाँच हजार १०५ कित्ता जग्गा दर्ता भएको र ८८९ कित्ता जग्गा दर्ता हुन बाँकी रहेको छ। यता प्रमुख मालपोत अधिकृत नवीनकिशोर अधिकारीले उक्त दुई वडाको समस्या २०३२ सालदेखिको भएको र यो अवधिमा जग्गाको स्वामित्वको हक हस्तान्तरण धेरैसँग भएकाले जग्गाको अन्तिम स्वामित्वको पहिचान गर्न नसकिने बताउनुभयो। उहाँले बेजिल्लाबाट समेत जग्गा पास भएको बताउँदै उक्त विवरण आफूहरूसँग नभएकाले हाल फिल्डमा भोगचलन गरेको प्रमाणका आधारमा मात्रै जग्गा दर्ता गर्नसकिने बताउन्भयो। 

साबिकको पीपलटार गाविस हुँदादेखि नै कमाइ गर्दै आएको खेतीयोग्य जग्गा पीपलटार गाविस फुट्दा भुम्लुटार र फलाँटे गाविस दुवैमा परेपछि उक्त जग्गा कुन गाविसले लिने भन्ने विषयमा विवाद हुँदा २०३२ सालमा नापी गर्न गएको टोली र दुई गाविसका नेतृत्वको विवादका कारण नापी टोली फर्किएपछि स्थानीयवासीले लालपुर्जा पाउन सकेका थिएनन्। २०३५ सालमा पनि सिमानाको विषयलाई लिएर दुई गाविसबीच झगडा भएको थियो।