सिराज खान
नेपालगन्ज, साउन १६ गते । नेपालगन्जस्थित महेन्द्र बहुमुखी क्याम्पसको समग्र पक्षमा सुधार गर्नुपर्ने माग गर्दै नेपाल विद्यार्थी सङ्घले क्याम्पस प्रशासनको ध्यानाकर्षण गराएको छ ।
नेविसङ्घ महेन्द्र बहुमुखी क्याम्पस एकाइले क्याम्पस प्रमुख लालमणि आचार्यलाई ध्यानाकर्षण पत्र बुझाएर सो माग गरेको हो । नेपाल विद्यार्थी सङ्घका नेता सन्तोष रावलको नेतृत्वमा क्याम्पस प्रमुखको कार्यकक्षमा पुगेका विद्यार्थीले ध्यानाकर्षण पत्र बुझाएका हुन् ।
सो पत्रमा क्याम्पसको भौतिक, शैक्षिक र व्यवस्थापकीय पक्षमा सुधार गर्नुपर्ने माग गरिएको जनाउँदै नेकिसंघका नेता रावलले क्याम्पसको छात्रावास सुधार गर्नुपर्ने माग गरिएको बताउनुभयो ।
उहाँका अनुसार पुस्तकालय सुधारका लागि पाठ्यपुस्तक, सन्दर्भ सामग्री, समाचारपत्र र डिजिटल स्रोतको सहज पहुँच सुनिश्चित गर्नुपर्ने माग पनि गरिएको छ ।
ध्यानाकर्षण पत्र बुझ्दै क्याम्पस प्रमुख आचार्यले नेविसङ्घले उठाएका माग र ध्यानाकर्षण गराएका विषयका बारेमा क्याम्पस प्रशासन गम्भीर रहेको बताउनुभयो ।
ध्यानाकर्षण पत्र बुझाउने क्रममा नेविसङ्घका नेता रमेशप्रसाद न्यौपाने चन्द्रलाल जैसी, विशाल थापा, खगेन्द्र बजगाई, निराजन चौधरीको उपस्थिति थियो।