• १७ साउन २०८२, शनिबार

पोखरामा रोकियो कित्ताकाट

blog

लेखनाथ समाचारदाता

लेखनाथ, साउन १६ गते । मालपोत कार्यालय कास्कीले पोखरा महानगरपालिकामा पर्ने जग्गाको कित्ताकाट रोकेको छ । महानगरपालिकाले तोकिएको समयभित्र भूउपयोग वर्गीकरणको विवरण नबुझाएकाले कित्ताकाटसम्बन्धी सेवा बन्द भएको हो । मालपोत कार्यालय कास्कीले बुधबार सूचना जारी गर्दै सो सेवा रोकिएको जनाएको हो । सेवा स्थगित हुँदा सेवाग्राहीमा पर्न गएको असुविधाप्रति कार्यालयले सूचनामार्फत क्षमा मागेको छ । यो निर्णयले पोखरामा जग्गाको खरिदबिक्री तथा अंशबन्डा जस्ता कार्य प्रभावित बनेका छन् । 

भूउपयोग नियमावली २०७९ को संशोधित व्यवस्था अनुसार स्थानीय तहले २०८२ असार मसान्तभित्र आफ्नो क्षेत्रको जग्गा वर्गीकरण गरी कृषिक्षेत्र तोक्नुपर्ने कानुनी प्रावधान छ तर पोखरा महानगरपालिकाले उक्त समयसीमाभित्र जग्गाको वर्गीकरण गरी कित्तागत विवरण कार्यालयमा बुझाउन सकेको छैन । सोही कारण अर्को व्यवस्था नभएसम्मका लागि कित्ताकाटसम्बन्धी सेवा स्थगित गरिएको कार्यालयले जानकारी दिएको छ ।  भूउपयोग ऐन, २०७६ र नियमावली २०७९ ले जग्गालाई कृषि, आवासीय, व्यावसायिक, औद्योगिक जस्ता विभिन्न १० वर्गमा अनिवार्य छुट्याउनुपर्ने व्यवस्था गरेको छ । परिवारको अंशबन्डाका लागि बिहीबार मालपोत कार्यालयमा भेटिनुभएका भीमबहादुर गुरुङले सेवा रोकिँदा कठिनाइ भएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “अंशबन्डा गरिहालौँ भनेर विदेशबाट आएको हुँ तर यहाँ आउँदा सबै काम रोकियो । कहिले खुल्छ थाहा छैन ? बेकार सास्ती पाइयो ।”

महानगरले भने साउन महिनाभित्रै वर्गीकरण सक्ने गरी काम भइरहेको जनाएको छ । महानगर प्रमुख धनराज आचार्यले भन्नुभयो, “गत वर्षको वर्गीकरण अदालतले खारेज गरिदियो । साउन महिनाभरि सक्ने गरी काम भइरहेको छ । कृषि र गैरकृषि जग्गामा मात्र समस्या हो । आवास क्षेत्रमा समस्या छैन । चाँडै यो समस्या पनि सुल्झिन्छ ।”

मालपोत कार्यालय कास्की मालपोत अधिकृत शोभाखर पोख्रेलले कास्कीका पाँच पालिकामध्ये चार पालिकाले वर्गीकरणको काम सकेको उल्लेख गर्नुभयो । उहाँले पोखरा महानगरमा भने वर्गीकरण नहुँदा सेवाग्राही मर्कामा परेको बताउनुभयो ।