ठाकुरप्रसाद आचार्य
म्याग्दी, साउन १६ गते। म्याग्दीको बेनी नगरपालिकाले किसानलाई उत्पादनमा आधारित अनुदान वितरणका लागि प्रक्रिया सुरु गरेको छ ।
अनुदान कार्यक्रममा वैदेशिक रोजगारीबाट फर्किएर कृषि पेसामा संलग्न भएका,बेरोजगार युवा तथा कृषि पेसामा लागेका किसानहरुको मनोबल उच्च राखि लगानी प्रवर्धनमा सहयोग पुर्याउन बेनी नगरले उत्पादनमा आधारित अनुदान वितरण गर्न लागेको हो ।
नगरले उत्पादनमा आधारित अनुदान वितरणका लागि चालु आर्थिक वर्षमा २४ लाख पचास हजार रुपियाँ विनियोजन गरेको छ । चालु आवमा अनुदान वितरणका नगरपालिकाले किसानहरुबाट निवेदन माग गरिएको बेनी नगरका प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले जानकारी दिनुभयो । आव २०७९÷०८० देखि सुरु गरेको उत्पादनमा आधारित अनुदान प्रणालीलाई थप व्यवस्थित र बजेट पनि बढाउँदै लगेको उहाँले बताउनुभयो ।
नगरलाई ताजा तरकारी, मासु र दूधमा आत्मनिर्भर बनाउन कृषकलाई उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रम सञ्चालन गरिएको नगरप्रमुख सुरत केसीले बताउनुभयो ।
उहाँका अनुसार उत्पादनमा आधारित अनुदानका लागि चालु आवमा बाख्रापालनतर्फ आठ लाख ७५ हजार रुपियाँ, दूध उत्पादनतर्फ पाँचलाख ७५ हजार रुपियाँ र तरकारी खेतीका लागि दशलाख रुपियाँ विनियोजन गरिएको छ ।
नगरपालिकाले उत्पादनमा आधारित अनुदान कार्यक्रम सञ्चालन कार्यविधि २०८० बनाएर कार्यान्वयन गर्दै आएको नगरप्रमुख केसीले बताउनुभयो । कार्यविधि अनुसार किसानलाई अनुदान वितरणको व्यवस्था मिलाइएको उहाँको भनाइ छ । अनुदान पाउनका लागि नगरपालिकाले किसानहरुलाई लद्यु उद्यमी,साना उद्यमी,मझौला र व्यावसायिक गरी चार वर्गमा विभाजन गरेको छ ।
अनुदानका लागि छनाेट भएका लघु उद्यमीलाई पन्ध्रहजार रुपियाँ, साना उद्यमीलाई २५ हजार रुपियाँ, मझौला उद्यमीलाई ३५ हजार रुपियाँ र व्यावसायिक उद्यमीलाई ४५ हजार रुपियाँ अनुदान वितरण गरिने नगरपालिकाले जनाएको छ ।
उक्त अनुदान पाउनका लागि गाई,भैंसी पाल्ने लघु किसानले ३ देखि ४ वटा दहुना गाई भैंसी पालन गरी मासिक रुपमा ५०० देखि ६०० लिटरसम्म दूध उत्पादन गरी बिक्री गरेको हुनुपर्ने, बाख्रापालक किसानले ८ देखि १२ वटा र तरकारी उत्पादन गर्ने किसानले एक रोपनी जमिनमा खेती गरी मासिक रुपमा एकसय केजी तरकारी उत्पादन गरी बिक्री गरेको हुनुपर्नेछ ।
यसैगरी साना उद्यमीले ५ देखि ८ वटा दुहुना गाई भैंसी पालन गरी मासिक रुपमा सातसय देखि एकहजार एकसय लिटर दूध उत्पादन गरी बिक्री गरेको,बाख्रापालन किसानले १३ देखि १९ वटा माउ बाख्रा पाल्नुपर्ने र ताजा तरकारी उत्पादन गर्ने किसानले दुई रोपनी क्षेत्रफलमा तरकारी खेती गरी मासिक रुपमा दुईसय केजी तरकारी बिक्री गरेको हुनु्पर्नेछ ।
यसैगरी मझौला किसानले ९ देखि १३ वटा दुहुना गाई, भैंसी पालेर मासिक रुपमा १२ सय देखि १४ सय लिटर दूध उत्पादन गर्नुपर्ने, बाख्रापालक किसानले २० देखि २९ वटा बाख्रा पाल्नुपर्ने र तरकारी खेती गर्ने किसानले चार रोपनी क्षेत्रफलमा तरकारी उत्पादन गरी चारसय केजी तरकारी बिक्री गरेको हुनुपर्ने छ ।
यस्तै व्यावसायिक किसानले १४ भन्दा बढी दुहुना गाई, भैंसी पालन गरी मासिक रुपमा एकहजार पाँच सय लिटरभन्दा बढी दूध बिक्री वितरण गरेको हुनुपर्ने,बाख्रपालन तर्फ किसानले ३० भन्दा बढी बाख्रापालन गरेको हुनुपर्ने र तरकारी उत्पादन गरेको व्यावसायिक किसानले ८ सय रोपनी क्षेत्रफलमा तरकारी खेती गरी मासिक रुपमा ८ सय केजी तरकारी बिक्री गरेको हुनुपर्नेछ ।