आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि तीनवटा प्रदेशमा समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र ढुवानी भइसकेको छ। निर्वाचन आयोगका अनुसार सोमबार दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, ललितपुर, भक्तपुर र काठमाडौँ जिल्लामा मतपत्र ढुवानी भएको छ।
झापाको बिर्तामोड नगरपालिकामा सोमबार बेलुका मोटरसाइकल एकापसमा ठोक्किदा दुई जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा एक बालिकासहित दुई जना घाइते भएका छन् ।
प्रतिनिधि सभाको कार्यकाल सकिनु ठीक १० दिनअघि न्याय परिषद्ले सर्वोच्च अदालतका लागि तीन न्यायाधीश सिफारिस ग-यो । सिफारिसअनुसार भोलिपल्टै संसदीय सुनुवाइका लागि परिषद्ले संसदीय सुनुवाइ समितिसमक्ष पत्राचार ग-यो । कार्यकालको बाँकी अवधिमा समितिले प्रस्तावित न्यायाधीशविरुद्ध उजुरी आह्वान त ग-यो तर सुनुवाइ पूरा गर्न सकेन । सुनुवाइ प्रक्रिया पूरा नभएपछि अहिले उक्त सिफारिसअनुसार नियुक्ति गर्न मिल्ने वा नमिल्ने बहस भइरहेको छ । परिषद्ले नीता गौतम दीक्षित, विनोद शर्मा र डीएन पराजुलीलाई सर्वोच्चको न्यायाधीशमा सिफारिस गरेको थियो ।
नेपाल उद्योग वाणिज्य महासङ्घले तरलता व्यवस्थापन, ब्याजदर स्थायित्व, बाह्य क्षेत्र व्यवस्थापन एवं मूल्य स्थिरताका लागि नेपाल राष्ट्र बैङ्कलाई विशेष पहल गर्न आग्रह गरेको छ । महासङ्घका अध्यक्ष शेखर गोल्छा नेतृत्वको टोलीले राष्ट्र बैङ्कका कार्यवाहक गभर्नर डा. नीलम ढुङ्गानासहितका उच्च अधिकारीलाई भेटेर उक्त आग्रह गरेको हो ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनका लागि सबै स्थानीय तहमा मतदाता शिक्षा सञ्चालन गर्न आग्रह गरेको छ। निर्वाचन आयोगले मतदाता कार्यक्रमसम्बन्धी अवधारणापत्र र मतदाता शिक्षा निर्देशिका स्वीकृत गरिसकेको छ।
आगामी मङ्सिर ४ गते का लागि तय भएको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको सुरक्षाका लागि आवश्यक म्यादी (अस्थायी प्रहरी)को तालिम सुरु भएको छ। प्रहरी प्रधान कार्यालयका अनुसार एक लाख १५ हजार म्यादी प्रहरीको तालिम आगामी कात्तिक ८ गतेसम्म सञ्चालन हुनेछ। यस पटक म्यादी प्रहरी भर्ना हुनेको आकर्षण विगतका निर्वाचनभन्दा बढी देखिएको छ। देशभरबाट एक लाख १५ हजार म्यादी प्रहरीको माग गरिएकामा दुई लाख ३४ हजार ३६२ जनाले आवेदन दिएका थिए।
नेपालमा १७ दशमलव ५ प्रतिशत नेपाली बहुआयामिक गरिब रहेको प्रतिवेदन सार्वजनिक भएको छ । संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (यूएनडीपी)ले सोमबार सार्वजनिक गरेको विश्वव्यापी बहुआयामिक गरिबी सूचकाङ्क (एमपीआई) प्रतिवेदनले ५१ लाख ३७ हजार नेपाली बहुआयामिक गरिब रहेको प्रतिवेदन सार्वजनिक गरेको हो ।
सर्वोच्च अदालतको अन्तरिम आदेशपछि रुपन्देही क्षेत्र नम्बर २ का निर्वाचन अधिकृतको कार्यालयले सत्ता गठबन्धनबाट उम्मेदवारी दिनुभएका नेकपा (एकीकृत समाजवादी)का राजु गुरुङको उम्मेदवारी कायम गरेको छ । चेक अनादर प्रकरणमा पाटन उच्च अदालतमा मुद्दा चलिरहेको भन्दै निर्वाचन अधिकृतको कार्यालयले असोज २५ गते गुरुङको उम्मेदवारी खारेज गरेको थियो ।
निर्वाचन आचारसंहिताको प्रतिबन्धात्मक केही व्यवस्थाले राजनीतिक दलको निर्वाचन प्रचारप्रसार कार्यक्रम प्रभावित भएका छन् । विगतमा उम्मेदवारी दर्ता गरेदेखि नै क्षेत्रीय तथा जिल्लास्तरीय सभा, जुलुस गर्दै आएका राजनीतिक दल यतिबेला मौन भएर बसेका छन् ।
देशभर सञ्चालित विद्यालय, विश्वविद्यालय तथा प्राविधिक शिक्षाप्रदायक संस्थासँग सम्बन्धित सम्पूर्ण गतिविधि तथा विवरण एकै ठाउँबाट उपलब्ध हुने भएको छ। यसका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले एकीकृत शैक्षिक सूचना व्यवस्थापन प्रणालीसम्बन्धी निर्देशिका जारी गरेको छ। उक्त निर्देशिका कार्यान्वयनका लागि शिक्षा तथा मानव स्रोत विकास केन्द्रमार्फत सबै प्रदेश तथा स्थानीय तहलाई जानकारी गराइने मन्त्रालयले जनाएको छ।
बर्दिया प्रहरीले अवैध पटका नियन्त्रणमा लिएर नष्ट गरेको छ ।
नेपाली कांग्रेसले आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिएका स्वतन्त्र उम्मेदवारलाई कात्तिक ४ गतेसम्म उम्मेदवारी निष्क्रिय पार्न निर्देशन दिएको छ ।
निर्वाचन आयोगले निर्वाचन प्रचार प्रसारका लागि टाँगिएका ब्यानर तत्काल हटाउन निर्देशन दिन प्रमुख जिल्ला अधिकारीलाई आयोगले निर्देश गरेको छ । सोमवार देशभरका प्रमुख जिल्ला अधिकारीसँग गृह मन्त्रालयबाट भएको भर्चुअल बैठकमार्फत निर्वाचन आयोगका सचिव गोकर्णमणि दुवाडीले सो निर्देशन दिनुभएको हो ।
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला भलिबलतर्फ नेपाल पुलिस क्लब, सशस्त्र प्रहरीको एपीएफ, गण्डकी प्रदेश र बागमती प्रदेश सेमिफाइनल प्रवेश गरेका छन्
गण्डकी प्रदेशमा आयोजना भइरहेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा विभागीय टिम नेपाल आर्मी क्लबको अग्रता कायमै रहेको छ । अहिलेसम्म आर्मीले ४४ स्वर्ण, ३१ रजत र २४ कास्य पदक सहित कुल ९९ पदक हात पारिसकेको छ ।