• १३ असोज २०८१, आइतबार

स्थानीय तहमा मतदाता शिक्षा

blog

काठमाडौँ, कात्तिक १ गते । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनका लागि सबै स्थानीय तहमा मतदाता शिक्षा सञ्चालन गर्न आग्रह गरेको छ। निर्वाचन आयोगले मतदाता कार्यक्रमसम्बन्धी अवधारणापत्र र मतदाता शिक्षा निर्देशिका स्वीकृत गरिसकेको छ। 

उक्त निर्देशिकाले स्थानीयस्तरमा निर्वाचन प्रचारप्रसार र मतदाता शिक्षा सञ्चालन गर्न मतदाता शिक्षा समुदायस्तर तथा घरदैलो कार्यक्रम सञ्चालन गर्ने व्यवस्था गरेको छ। स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतको संयोजकत्वमा मतदाता शिक्षा समन्वय समिति (स्थानीय तहस्तर) र स्थानीय तहको सम्बन्धित वडा सचिवको संयोजकत्वमा मतदाता शिक्षा सञ्चालन समिति (वडास्तर) रहने व्यवस्था निर्देशिकामा छ। मतदाता शिक्षा कार्यक्रम मतदानको १५ दिनअघि देखि देशभरका सबै वडामा सञ्चालन गर्नुपर्ने भएकाले सबै पालिकालाई मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्न मन्त्रालयले परिपत्र गरिसकेको मन्त्रालयले जनाएको छ। मतदाता शिक्षा कार्यक्रमका लागि आवश्यक जनशक्ति, साधन र स्रोतको व्यवस्थापन सम्बन्धित स्थानीय तहले नै गर्नुपर्ने निर्देशिकामा उल्लेख गरिएको छ । मन्त्रालयका प्रवक्ता रुद्रसिंह तामाङले निर्देशिकाअनुसार मतदाता शिक्षा समुदायस्तर घरदैलो कार्यक्रम सञ्चालन गर्न सबै पालिकालाई परिपत्र गरिएको जानकारी दिनुभयो। 

आयोगले उपलब्ध गराएको मतदाता शिक्षा सामग्रीलाई पालिकास्तरको समितिले सामुदायिक र संस्थागत विद्यालयका प्राध्यापकहरूको बैठक आयोजना गरी मतदाता शिक्षाबारे जानकारी दिने र सम्बन्धित विद्यालयको कक्षामा मतदाता शिक्षाको व्यवस्था मिलाउनुपर्नेछ। समितिले आफ्नो क्षेत्रभित्रका सबै वडामा सञ्चालन भएको मतदाता शिक्षाको नियमित अनुगमन गरी सम्बन्धित निर्वाचन कार्यालयलाई प्रतिवेदन बुझाउनु पर्नेछ।