सोलुखुम्बुको माप्य दूधकोशी गाउँपालिका–३ बासामा प्रहरी निरीक्षक श्रीप्रसाद राई सुतेकै अवस्थामा मृत भेटिनुभएको छ । बेलुका खानपान गरेर सुत्नुभएका राई घरैमा ओछ्यानमा मृत भेटिनुभएको हो ।
धनुषाको मिथिला नगरपालिका–६, ढल्केबरस्थित पूर्व–पश्चिम राजमार्गमा सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।
कर्णाली प्रदेश सभामा समानुपातिकतर्फ १६ जना सांसद बनेका छन् । जसमा १५ जना महिला र एक जना पुरुष सांसद बन्नुभएको हो । नेकपा माओवादी केन्द्रले समानुपातिक सांसदको सूची निर्वाचन आयोगमा बुझाएसँगै १६ वटै समानुपातिक सांसदको टुङ्गो लागेको हो ।
क्रोएसियाका प्लेमेकर लुका मोडिच फिफा वर्ष खेलाडीमा क्रिस्टियानो रोनाल्डो र लियोनेल मेसीले एक दशकदेखि बनाएको दबदबाको अन्त्य गर्ने खेलाडी हुनुहुन्छ। सन् २०१८ मा लुका मोड्रिड फिफा वर्षका सर्वश्रेष्ठ खेलाडी घोषित हुनुभएको थियो। रियल म्याडिडलाई पाँच वर्षमा चौथो पटक च्याम्पियन्स लिगको उपाधि र विश्वकपमा अनपेक्षित रूपमा क्रोएसियालाई फाइनलसम्मको यात्रा गराउन महत्वपूर्ण भूमिका खेलेपछि मोड्रिच सर्वश्रेष्ठ खेलाडी चुनिनुभएको हो।
अर्जेन्टिनाका २२ वर्षीय जुलियन अल्भारेज कतार विश्वकपमा चम्किएका स्ट्राइकर हुनुहुन्छ। यस विश्वकप सुरु हुनुअघि अल्भारेज अर्जेन्टिनाका पहिलो रोजाइका स्ट्राइकर हुनुहुन्थेन। उहाँले समूह चरणको तेस्रो खेलमा मात्र पहिलो रोजाइका फरवार्ड लाउटारो मार्टिनेजको स्थान लिनुभएको हो। सेमिफाइनल सकिँदा उहाँको नाममा चार गोल भइसकेको छ। पोल्यान्ड र अस्ट्रेलियाविरुद्ध गोल गरेका अल्भारेजले क्रोएसियाविरुद्धको सेमिफाइनलमा दुई गोल गरेर आफूलाई गोल्डेन बुटको होडमा सामेल गर्नुभयो। गोल्डेन बुटको लडाइँमा अल्भारेजभन्दा अगाडि किलियन एमबापे र लियोनेल मेसी मात्र हुनुहुन्छ।
खेलको समयमा लियोनेल मेसीले झुकेर आफ्नो बायाँ तिघ्रामा समात्दा अचानक विश्व फुटबलका प्रायः समर्थक चिन्तित बने। अर्जेन्टिनामा त आतङ्क नै फैलियो। सबैको डर आफ्ना सुपरस्टार मेसीको मांसपेशीमा खिचाव उत्पन्न भयो कि भन्नेमा थियो। जुन चोटले खेलाडीलाई केही खेलका लागि नै मैदानबाट बाहिर पठाउँछ। यसो भएमा क्रोएसियाको भाग्य हुने थियो।
डिभिजन वन कार्यालय राप्ती मनहरी, मकवानपुरले विद्यालय तह अध्ययनरत विद्यार्थीलाई लक्षित गरी वातावरण शिक्षा नामक पुस्तक प्रकाशन गरी सार्वजनिक गरेको छ। वन, वातावरण, वन व्यवस्थापन, वन क्षेत्र, राष्ट्रिय निकुञ्ज, भूसंरक्षण, जलवायु परिवर्तन, जैविक विविधता, इको क्लब, हाइकिङ, ट्रेकिङलगायतका विषय पुस्तकमा समेटिएको छ।
मदन भण्डारी राजमार्गअन्तर्गत सुर्खेतको धुलियाबिट–भेडाबारी सडकको २५ प्रतिशत काम सम्पन्न भएको छ। करिब डेढ वर्षअघिदेखि सुरु भएको सो सडक निर्माणको काम अहिलेसम्म २५ प्रतिशत मात्र कार्यप्रगति भएको हो। नेपालका पूर्व–पश्चिम जोड्ने राजमार्गहरूमध्ये मदन भण्डारी राजमार्गलाई चौथो राजमार्गका रूपमा घोषणा गरिएको छ। यो राजमार्गले एक हजार दुई सय किलोमिटर पूर्व–पश्चिम नेपाललाई जोड्नेछ। विभिन्न १० वटा टुक्रे सडकलाई एकीकृत गरी पूर्वदेखि पश्चिमसम्म पु-याउने गरी मदन भण्डारी राजमार्ग निर्माण भइरहेको छ।
निर्वाचन सम्पन्न भएसँगै कर्णाली प्रदेश सरकार गठनका विषयमा चासो बढेको छ। प्रदेशमा बन्न सक्ने सम्भावित समीकरणबारे चर्चा हुन थालेको छ। ४० सदस्यीय प्रदेश सभामा २४ जना प्रदेश सभा सदस्य प्रत्यक्ष निर्वाचित भएका छन् भने १६ जना समानुपातिक प्रणालीबाट चुनिनेछन्। प्रत्यक्षका २४ सिटमध्ये नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)ले नौ/नौ सिट जितेका छन्।
कमलबजार नगरपालिकाका ४७ प्रतिशत नागरिक खानेपानीको पहुँच बाहिर रहेका छन्। नगरपालिकाका ५३ प्रतिशत जनसङ्ख्या मात्रै खानेपानीको सहज पहुँचमा भएको कर्णाली जल परियोजनाका विष्णु पोखरेलको भनाइ छ।
बैतडीको दोगडाकेदार र सुर्नया गाउँपालिकाबीच खानेपानी मुहानका विषयमा विवाद सिर्जना भएको छ। विवादले गर्दा दुवै पालिकाले सो मुहानको पानी प्रयोग गर्न पाएका छैनन्। सो आयोजनाका लागि तीन आर्थिक वर्षदेखि बजेट विनियोजन हुँदै आएको भए पनि मुहान विवादका कारण योजना बन्न नसकेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय बैतडीका प्रमखु कृष्णबहादुर बोगटीले जानकारी दिनुभयो।
रुपन्देही, कपिलवस्तु र नवलपरासी जिल्लाको फोहोर व्यवस्थापन गर्नेगरी रुपन्देहीको सैनामैनामा ‘खोरमोर फोहोर प्रशोधन केन्द्र’ निर्माण हुने भएको छ। फोहोर प्रशोधन केन्द्र निर्माणका लागि नेपाल सरकारबाट जग्गा भोगाधिकार प्राप्त गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको सैनामैना नगरपालिकाले जनाएको छ। रुपन्देहीको सैनामैना नगरपालिका–१०, खोरमोरमा प्रस्ताव गरिएको फोहोर प्रशोधन केन्द्रको रुपन्देही क्षेत्र नं. ५ का प्रतिनिधि सभाका नवनिर्वाचित सांसद वासुदेव घिमिरेले स्थलगत निरीक्षण गरी तत्काल निर्माणको काम अघि बढाउन पहल थाल्ने बताउनुभएको छ। खोरमोर प्रशोधन केन्द्र निर्माणका लागि बुटवल उपमहानगरपालिका, सैनामैना नगरपालिका र कञ्चन गाउँपालिकाले सम्झौता गरी काम अघि बढाएका छन् भने पछिल्लो पटक प्रशोधन केन्द्रमा तीन जिल्लाको फोहोर प्रशोधन गर्ने प्रक्रिया अघि बढेको छ।
सत्ययुगमा महादेवको जन्मभूमि रहेको मानिने दोलखाको बिगु गाउँपालिका–१ मा पर्ने देउलाङ्गेश्वर पवित्र भूमि हुँदाहुँदै पनि ओझेलमा परेकोमा स्थानीयले चिन्ता व्यक्त गरेका छन्। स्वस्थानी व्रत कथामा वर्णित सन्न्यासी रूपी महादेव र सतीदेवी एक रात बसेको र खरको भित्ता च्यातेर देखाएको पवित्र स्थानमा कोही कसैको नजर नपुगेकोमा स्थानीय बासिन्दा चिन्तित बनेका हुन्। सत्य युगकै पवित्र देउलाङ्गेश्वर ओझेलमा पर्नु दोलखाली ठगिनु पनि हो। वडाध्यक्ष मेमबहादुर तामाङले भन्नुभयो, “स्थानीय र पुरातìव विभागसमेतले खासै चासो नदिँदा ओझेलमा परेको हो।”