• १२ असोज २०८१, शनिबार

तीन वर्षदेखि बजेट फ्रिज

blog

गोकर्ण दयाल 

बैतडी, मङ्सिर २९ गते । बैतडीको दोगडाकेदार र सुर्नया गाउँपालिकाबीच खानेपानी मुहानका विषयमा विवाद सिर्जना भएको छ। विवादले गर्दा दुवै पालिकाले सो मुहानको पानी प्रयोग गर्न पाएका छैनन्। सो आयोजनाका लागि तीन आर्थिक वर्षदेखि बजेट विनियोजन हुँदै आएको भए पनि मुहान विवादका कारण योजना बन्न नसकेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय बैतडीका प्रमखु कृष्णबहादुर बोगटीले जानकारी दिनुभयो।

उहाँका अनुसार खानेपानीको मुहान सुर्नया गाउँपालिका–३, धर्मघरमा रहेको छ। सुर्नया गाउँपालिका–३, गोयलीका स्थानीय ७० घरमा खानेपानी पु¥याउन आर्थिक वर्ष २०७६/७७ मा ७० लाख रुपियाँ, आव २०७७/७८ मा ३० लाख र चालू आवमा पाँच लाख रुपियाँ विनियोजन भए पनि विवादका कारण हरेक वर्ष बजेट फ्रिज हुने गरेको जनाइएको छ। 

मुहान विवाद समाधान गर्न जिल्ला समन्वय समिति, दोगडाकेदार गाउँपालिका र सुर्नया गाउँपालिकाका जनप्रतिनिधिबीच पटक–पटक छलफल भएको थियो। छलफलबाट निकास ननिस्केपछि प्रदेश सरकारलाई आवश्यक निर्देशनका लागि लेखेर पठाएको खानेपानी कार्यालयले जनाएको छ। 

पत्राचारपछि सुदूरपश्चिम प्रदेश सरकारका भौतिक विकासमन्त्री दीर्घबहादुर सोडारीसमेत निरीक्षणमा आएको खानेपानी कार्यालयले जानकारी दिएको छ। डिभिजन खानेपानी कार्यालयका अनुसार सुर्नया गाउँपालिका–३, को धर्मघरमा रहेको मुहानको पानी दोगडाकेदार गाउँपालिका–३ र ७ नम्बरका स्थानीयले उपभोग गर्दै आइरहेका छन्। सोही मुहानमाथिबाट सुर्नया गाउँपालिकाले आफ्नो पालिकाभित्र रहेको पानी लैजान खोजेपछि विवाद सिर्जना भएको हो।

सुर्नया गाउँपालिका–३, धर्मघर र गोयलीमा खानेपानीको हाहाकार भएकाले आफ्नै गाउँपालिका र वडामा भएको खानेपानी उपभोग गर्न खोज्दा अवरोध भएको सुर्नया गाउँपालिका–३ का स्थानीय एवं पूर्व वडाध्यक्ष दिलाराम भट्टले बताउनुभयो। 

सुर्नया गाउँपालिका–३ मा खानेपानी योजना निर्माण गर्न सुदूरपश्चिम प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयबाट बजेट विनियोजित भए पनि मुहानमा विवादका कारण योजना निर्माण हुन नसक्दा सुर्नया गाउँपालिका–३, गोयलीका स्थानीयले पानी खान पाएका छैनन्। 

दोगडाकेदार गाउँपालिकाले उपभोग गरिरहेको पानीको मुहानबाट प्रतिदिन ६० हजार लिटर पानी सुर्नया गाउँपालिका–३ मा लैजाने गरेर खानेपानी योजनाको प्रतिवेदन तयार भएको डिभिजन खानेपानी कार्यालयले जानकारी दिएको छ। दोगडाकेदार गाउँपालिकाका स्थानीयले उपभोग गर्दै आइरहेका खानेपानीका आठ सय धारा बन्द गरेर पानी लैजान खोजेपछि विवाद भएको दोगडाकेदार गाउँपालिकाका अध्यक्ष चक्र कार्कीले बताउनुभयो। 

अध्यक्ष कार्कीका अनुसार २०३५ सालदेखि नै दोगडाकेदार गाउँपालिकाका ३, ४ र ७ नम्बर वडाका बासिन्दाले पानी उपभोग गर्दै आइरहेका छन्। धर्मघरबाट आउने खानेपानीका तीनवटा मुहानमाथिबाट सुर्नया गाउँपालिकाले पानी लगे दोगडाकेदार आउने खानेपानी बन्द हुने अवस्था छ। उहाँले भन्नुभयो, “हामीसँग अर्को कुनै विकल्प छैन।”

सुर्नया गाउँपालिका–३ को धर्मघरबाट दोगडाकेदार गाउँपालिकामा कमेडापानी खानेपानी योजना, श्रीकोट–देउलेक बृहत् खानेपानी योजना, तालर–रौलदेउ सिल्लेगडा–लेकथला क्याम्पस खानेपानी योजना र रिखाली खानेपानीमा प्रत्यक्ष असर पर्ने दोगडाकेदार गाउँपालिकाले बताउँदै आइरहेको छ। 

आफ्नै गाउँपालिकामा भएको स्रोत उपभोग गर्न पाउनु पर्ने सुर्नया गाउँपालिकाले दाबी गर्दै आइरहेको छ। डिभिजन खानेपानी कार्यालय बैतडीका अनुसार सुर्नया गाउँपालिकामा रहेका अन्य चारवटा मुहानबाट पनि दोगडाकेदार गाउँपालिकाले पानी लगेको छ। दुवैतर्फका स्थानीयलाई मर्का नपर्ने गरेर पानी बाँडेर खान हामीले आग्रह गरे पनि विवाद नमिलेको खानेपानी कार्यालयको भनाइ रहेको छ।