खाँदबारी समाचारदाता
खाँदबारी, असार २१ गते । खाँदबारी नगरपालिका–३, मानेभन्ज्याङमा १५ श-या क्षमताको खाँदबारी नगर अस्पताल सञ्चालनमा आएको छ । पाँमा स्वास्थ्य चौकीलाई स्तरोन्नति गरी खाँदबारी नगरपालिकाले ‘एक स्थानीय तह, एक अस्पताल’ भन्ने सरकारी नीति कार्यान्वयनका रूपमा नगर अस्पताल घोषणा गरिएको हो । तीन करोड ७३ लाख ५१ हजार रुपियाँको लागतमा भवन निर्माण सम्पन्न भएपछि एक कार्यक्रमबिच कोशी प्रदेशका पूर्वस्वास्थ्यमन्त्री राजेन्द्र कार्की, नगरप्रमुख महेश थपलिया, प्रजिअ दिव्यराज पोखरेललगायतले अस्पताल उद्घाटन गर्नुभएको हो ।
नगरप्रमुख महेश थपलियाले आगामी साउनदेखि अस्पतालमा मेडिकल अधिकृतसहितका चिकित्सक राखी सेवा प्रवाह गरिने जानकारी दिनुभयो । उहाँले अस्पताल सञ्चालनका लागि आवश्यक खर्चको व्यवस्थापन नगरपालिकाले गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । अस्पतालबाट विशेष गरी खाँदबारीका वडा नम्बर ३, ४, ५, ६, १० र ११ का बासिन्दालाई उपचारमा सहज पहुँच पुग्ने अपेक्षा गरिएको छ ।
कार्यव्रmममा बोल्दै पूर्वस्वास्थ्यमन्त्री तथा सङ्खुवासभाका प्रदेश सांसद राजेन्द्र कार्कीले अस्पतालका लागि आवश्यक सामग्री सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले विशेषज्ञ स्वास्थ्य सेवामा सबै नागरिकको पहुँच हुनुपर्नेमा जोड दिँदै अस्पतालको निरन्तर सेवाका लागि सामग्रीदेखि कर्मचारी व्यवस्थापनसम्मका निम्ति प्रदेश सरकारसँग माग गर्ने बताउनुभयो ।