• १२ असोज २०८१, शनिबार

धुलियाबिट–भेडाबारी सडक

डेढ वर्षमा पच्चीस प्रतिशत काम

blog

नवीन शाही

सुर्खेत, मङ्सिर २९ गते । मदन भण्डारी राजमार्गअन्तर्गत सुर्खेतको धुलियाबिट–भेडाबारी सडकको २५ प्रतिशत काम सम्पन्न भएको छ। करिब डेढ वर्षअघिदेखि सुरु भएको सो सडक निर्माणको काम अहिलेसम्म २५ प्रतिशत मात्र कार्यप्रगति भएको हो।

नेपालका पूर्व–पश्चिम जोड्ने राजमार्गहरूमध्ये मदन भण्डारी राजमार्गलाई चौथो राजमार्गका रूपमा घोषणा गरिएको छ। यो राजमार्गले एक हजार दुई सय किलोमिटर पूर्व–पश्चिम नेपाललाई जोड्नेछ। विभिन्न १० वटा टुक्रे सडकलाई एकीकृत गरी पूर्वदेखि पश्चिमसम्म पु-याउने गरी मदन भण्डारी राजमार्ग निर्माण भइरहेको छ।

सुर्खेतको धुलियाबिट–भेडाबारी सडकखण्ड ३५ किलोमिटर रहेको छ। यो सडकखण्डमा भ्याटसहित एक अर्ब तीन करोड रुपियाँमा काम सम्पन्न गर्नेगरी कालिका केएस वेदान्सी जेभीले ठेक्का सम्झौता गरेको छ। २०७८ असार २८ गतेदेखि सुरु भएको काम २०८० पुस १३ गतेसम्म सम्पन्न गरिसक्नुपर्नेछ। जसअनुसार काम सुरु भएको डेढ वर्षको अवधिमा करिब ५० प्रतिशत काम हुनुपर्नेमा लक्ष्यभन्दा ढिला काम भइरहेको छ।

राजमार्गको जङ्गल क्षेत्रमा पर्ने रुखको कटान आदेश नपाउँदा लक्ष्यअनुसार काम हुन नसकेको मदन भण्डारी राजमार्ग योजना कार्यालय सुर्खेतले जनाएको छ। यो सडकखण्डमा करिब १८ किलोमिटर जङ्गल क्षेत्र पर्दछ। कार्यालयका इन्जिनियर जितेन्द्रकुमार शाहले भन्नुभयो, “सडक निर्माणको काम सुरु भएको पहिलो महिनादेखि नै रुख कटान आदेशका लागि प्रक्रिया सुरु भएको हो। अहिलेसम्म पनि वन मन्त्रालयबाट कटान आदेश पाउन सकिएको छैन।”

राजमार्ग क्षेत्रमा पर्ने रुखहरू कटान आदेश नहुँदा अहिले सडकको बीचबीचमा रुख छोडेर काम भइरहेको छ। सरकारको प्राथमिकतामा रहेको सडक, विद्युत्लगायतका पूर्वाधार निर्माण हुँदा समयमा रुख कटान आदेश नभएर काममा ढिलाइ हुने गरेको छ। यस अवधिसम्म ट्र्याक खोल्ने, चौडा बनाउने, नाला निर्माण, ग्याबिन, कल्भर्टलगायतका काम सम्पन्न भएको इन्जिनियर शाहले जानकारी दिनुभयो। उहाँका अनुसार अहिलेसम्म नौ किलोमिटर ग्राभेलको काम पनि सकिएको छ।

सडक निर्माणको चरणमा अहिलेसम्म जनशक्ति परिचालनमार्फत हुने मुख्य काम करिब सकिएको छ। अब भने मेसिनरी उपकरणको माध्यमबाट हुने काम बाँकी रहेको इन्जिनियर शाहले बताउनुभयो। उहाँले भन्नुभयो, “जनशक्ति परिचालन गरेर हुने नाला, पर्खाल, कल्भर्टजस्ता काम करिबकरिब सकिएका छन्। अब कालोपत्रेलगायतका काम र मेसिनरी उपकरण प्रयोग हुने काम मात्र बाँकी छन्।”

धुलियाबिट–भेडाबारी सडकसँगै सुर्खेतको पश्चिम क्षेत्रअन्तर्गत बड्डीचौरदेखि बेतान कर्णालीसम्म ९४ किलोमिटर सडक निर्माणको काम पनि भइरहेको छ। यो सडकखण्डका लागि प्रदेश सरकारले बजेट विनियोजन गरेको छ। जसका लागि चालू आर्थिक वर्षमै टेन्डर भई काम सुरु हुँदै छ भने तीनवटा मोटरेबल पुल निर्माणाधीन अवस्थामा छन्।  

मदन भण्डारी राजमार्ग पूर्वमा झापाको शान्तिनगरदेखि पश्चिममा डडेल्धुराको रूपालसम्म जोडिनेछ। यो सडक शान्तिनगर–धरान, धरान–हेटौँडा, हेटौँडा–नारायणघाट, कालीगण्डकी कोरिडोर–रिडी, रिडी–प्युठान, प्युठान–घोराही, घोराही–सुर्खेत, सुर्खेत–बीपीनगर (डोटी), बीपीनगर–बुडर (डडेल्धुरा), बुडर–रूपाल हुँदै महेन्द्र राजमार्गमा जोडिने विभिन्न १० वटा खण्डको एकीकृत रूप नै मदन भण्डारी राजमार्ग हो।