झापाको दमक नगरपालिकाले जमिनको वर्गीकरण गर्न आवश्यक भू–उपयोग कार्यविधि, २०७९ पारित गरेको छ। ३३ वटा दफा र दुईवटा अनुसूची भएको भू–उपयोग कार्यविधि नगरपालिकाको बोर्ड बैठकले सर्वसम्मत पारित गरेको हो। नगरपालिकाका प्रमुख रामकुमार थापाका अनुसार नगरस्तरीय भू–उपयोग परिषद्बाट वर्गीकरणसम्बन्धी प्रतिवेदन पारित भई नगर कार्यपालिकाको बैठकबाट समेत यसलाई सर्वसम्मत रूपमा पारित गरिएको हो। पारित प्रतिवेदन र कार्यपालिकाको निर्णयसहितको सम्पूर्ण विवरण नापी विभाग, प्रदेश भू–उपयोग परिषद् र सङ्घीय भू–उपयोग परिषद्मा पठाइसकिएको समेत उहाँले जानकारी दिनुभयो।
वरिष्ठ हास्यव्यङ्ग्य निबन्धकार श्याम गोतामे तथा उहाँकी धर्मपत्नी पद्मा गौतमको नामबाट स्थापना गरिएको ‘पद्मा–श्याम गोतामे स्रष्टा सम्मान–२०७९’ वरिष्ठ हास्यव्यङ्ग्य लेखक, निबन्धकार रामकुमार पाँडेलाई प्रदान गरिएको छ । २१ हजार रुपियाँ राशिसहितको उक्त सम्मान पहिलो पटक हास्यव्यङ्ग्य लेखक पाँडेलाई प्रदान गरिएको हो । नेपाल स्रष्टा समाजले बुधबार कार्यक्रम आयोजना गर्दै उक्त पुरस्कार प्रदान गरेको हो ।
एमबापेको टिम फ्रान्सले बिहीबार बिहान मोरक्कोको विश्वकप फुटबल प्रतियोगितामा ऐतिहासिक यात्रा २–० ले समाप्त पार्दै फाइनलमा स्थान बनाएको छ। फ्रान्स फाइनल पुगेको खुसी मनाउन राष्ट्रपति इमानुअल म्याकरन पनि रङ्गशालामा उपस्थित हुनुहुन्थ्यो। यस नतिजापछि फ्रान्स र अर्जेन्टिनाबीचको उपाधि भिडन्त हुने भएको छ। पहिलो सेमिफाइनलमा लियोनल मेसीको प्रेरणामा रहेको टिम अर्जेन्टिनाले क्रोएसियाको चुनौती ३–० ले समाप्त पारेको थियो। विश्व फुटबलका दुई सुपरस्टारबीचको भिडन्त हुने भएकाले पनि विश्वकप फुटबलको फाइनलमा रोमाञ्चक थपिएको छ। फाइनललाई कलियन एमबापे भर्सेज लियोनल मेसीका रूपमा पनि लिइएको छ।
बागमती प्रदेश सभामा पहिलो कार्यकालमा भन्दा दोस्रो कार्यकालमा महिलाको प्रतिनिधित्व वृद्धि भएको छ । ११० प्रदेश सभा सदस्य रहेको पहिलो प्रदेश सभामा प्रत्यक्ष र समानुपातिक प्रणालीबाट गरी ३७ जना महिला प्रदेश सभा सदस्य थिए । गत मङ्सिर ४ गते सम्पन्न भएको निर्वाचनबाट प्रत्यक्ष र समानुपातिक प्रणालीबाट गरी ४० जना महिला प्रदेश सभा सदस्यमा निर्वाचित भएका छन् ।
राष्ट्रिय गौरवको आयोजनामा समावेश तामाकोसी–काठमाडौँ २२०/४०० केभी प्रसारण लाइन विस्तारमा बलेफी गाउँपालिका–७ मा क्षतिपूर्ति नदिई लाइन विस्तार गरिएको छ । तार टाँग्नुअघि दायाँ–बायाँ २३–२३ फिट जग्गाको क्षतिपूर्ति वा मुआब्जा दिनुपर्ने जग्गा प्राप्ति ऐन २०३४ मा उल्लेख छ तर उक्त आयोजनाले १९४ जना जग्गाधनीलाई क्षतिपूर्ति वा मुआब्जा नदिई प्रसारण लाइन विस्तार गरेको पीडित कमलकृष्ण अधिकारीले बताउनुभयो । “बस्ती र घर माथिबाट लाइन विस्तार गर्दा जिउधन जोखिममा परेको छ,” उहाँले भन्नुभयो ।
आर्थिक नीति सही ढङ्गले अगाडि बढ्नुपर्छ । त्यसका लागि अर्थ मन्त्रालय, राष्ट्रिय योजना आयोग र राष्ट्र बैङ्कबीच शक्ति सन्तुलन र नियन्त्रण हुनु जरुरी छ । मुलुकको आर्थिक नीतिले त्यो कुरालाई स्पष्ट पार्नुपर्छ ।
नेपाल सरकारले फौजदारी कार्यविधिसंहिता संशोधनका लागि ल्याएको अध्यादेशविरुद्ध परेको रिट निवेदन दर्ता गर्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ । अध्यादेश जारी नहुँदै आशङ्काका भरमा रिट निवेदन ल्याइएको भन्दै सर्वोच्च अदालत प्रशासनले दर्ता गर्न अस्वीकार गरेको हो । सरकारले ल्याएको अध्यादेश संविधान एवं कानुनविपरीत रहेको भन्दै अधिवक्ता कपिलदेव ढकाल रिट निवेदन लिएर सर्वोच्च अदालत पुग्नुभएको थियो ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गतका सबै कानुनलाई एकीकृतरूपमा समयसापेक्ष संशोधन गरी सङ्घीय संसद्मा पेश गर्न समिति गठन गरिएको छ ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले सहकारी क्षेत्रको विकासबाट आत्मनिर्भर अर्थतन्त्रको निर्माण गरी गरिबी निवारणमा सहयोग पुग्ने बताउनुभएको छ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिद्वारा प्रकाशित ‘सहकारी सुशासन’ नामक बुलेटिनको बिहीबार विमोचन गर्दै उहाँले कुनै पनि सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गर्ने अवस्था आउन नदिन सरोकारवालालाई आग्रह गर्नुभयो ।
‘वैदेशिक रोजगारबाट प्राप्त सीप, पुँजी र ज्ञान : उद्यमशीलता, रोजगारी र राष्ट्रिय स्वाभिमान’ भन्ने मूल नाराका साथ अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस मनाइने भएको छ । देशभर सप्ताहव्यापी रूपमा मनाइने उक्त कार्यक्रम शुक्रबारदेखि बिहीबारसम्म सञ्चालन गरिने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस मूल समितिले बिहीबार संयुक्त रूपमा पत्रकार सम्मेलनको आयोजना गरी सोबारे जानकारी गराएको हो ।
सिन्धुलीको मरिण गाउँपालिकाले आन्तरिक स्रोतबाट सामुदायिक विद्यालयमा कक्षा १२ सम्मको पढाइ निःशुल्क गरेको छ । सरकारले हालसम्म कक्षा ८ सम्म निःशुल्क शिक्षाको व्यवस्था गरे पनि मरिण गाउँपालिकाले आन्तरिक स्रोतमा कक्षा १२ सम्मको पढाइलाई निःशुल्क बनाएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका अनुसार पालिकाको नीति तथा कार्यक्रमअनुसार गाउँ सभाबाट पारित गरी कक्षा १२ सम्मको पढाइ निःशुल्क गर्ने व्यवस्था गरिएको हो ।
मुलुकमा कात्तिक मसान्तसम्ममा १२ खर्ब ४६ अर्ब २७ करोड रुपियाँ बराबरको मुलुकको कुल विदेशी मुद्रा सञ्चिति रहेको छ । यो गत असारको तुलनामा ११ अर्ब ६६ करोड रुपियाँ अर्थात् २ दशमलव ५ प्रतिशतले बढेको हो । असारमा कुल विदेशी विनिमय सञ्चिति १२ खर्ब १५ अर्ब ८० करोड रुपियाँ बराबर थियो ।
गोरखापत्र संस्थानको सहप्रकाशन द राइजिङ नेपाल आजबाट प्रकाशनको ५८औँ वर्षमा प्रवेश गरेको छ । २०२२ साल पुस १ गतेबाट द राइजिङ नेपालको प्रकाशन सुरु भएको हो । ठूलो आकारको पहिलो अङ्ग्रेजी दैनिकका रूपमा द राइजिङ नेपाललाई लिइन्छ ।
सरकारले सबै राष्ट्रसेवक कर्मचारीको तलब सुविधा पुनरवलोकन गर्न गठित उच्चस्तरीय तलब सुविधा आयोगले काम प्रारम्भ गरेको छ। गत भदौ ६ गते बसेको मन्त्रिपरिषद्को बैठकले पूर्वमुख्यसचिव लीलामणि पौड्यालको अध्यक्षतामा तलब सुविधा आयोग गठन गरेको थियो। सरकारको चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममा तलब सुविधा आयोग र प्रशासनिक पुनःसंरचना आयोग गरी दुईवटा आयोग गठन गर्ने उल्लेख गरिएको छ। सरकारले प्रशासनिक पुनःसंरचना आयोग गठन गर्न सकेको छैन। दुवै आयोगको काम एउटै आयोगले गर्ने कि फरक–फरक आयोग बनाएर गर्ने भन्ने अन्योलका कारण तलब सुविधा आयोगले काम प्रारम्भ गर्न ढिलाइ भएको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ।
चालु आर्थिक वर्षको चार महिनामा विप्रेषण आप्रवाह २० दशमलव चार प्रतिशतले वृद्धि भएर तीन खर्ब ७८ अर्ब चार करोड पुगेको छ।