• १२ असोज २०८१, शनिबार

देउलाङ्गेश्वर ओझेलमा

blog

दोलखा समाचारदाता

दोलखा, मङ्सिर २९ गते । सत्ययुगमा महादेवको जन्मभूमि रहेको मानिने दोलखाको बिगु गाउँपालिका–१ मा पर्ने देउलाङ्गेश्वर पवित्र भूमि हुँदाहुँदै पनि ओझेलमा परेकोमा स्थानीयले चिन्ता व्यक्त गरेका छन्। 

स्वस्थानी व्रत कथामा वर्णित सन्न्यासी रूपी महादेव र सतीदेवी एक रात बसेको र खरको भित्ता च्यातेर देखाएको पवित्र स्थानमा कोही कसैको नजर नपुगेकोमा स्थानीय बासिन्दा चिन्तित बनेका हुन्। सत्य युगकै पवित्र देउलाङ्गेश्वर ओझेलमा पर्नु दोलखाली ठगिनु पनि हो। वडाध्यक्ष मेमबहादुर तामाङले भन्नुभयो, “स्थानीय र पुरातìव विभागसमेतले खासै चासो नदिँदा ओझेलमा परेको हो।” 

स्थानीय दिव्यध्वज कार्कीले भन्नुभयो, “यो सृष्टि संस्था हो। यहाँ अनेकन परियोजना हुन सक्छन्। शास्त्रीय प्रमाण रहेको यसलाई शक्ति केन्द्रका रूपमा विकास गर्नुपर्छ। यहाँ मल्लकालीन गुठियारहरू पनि छन्। यसको सम्पत्ति पनि हुनसक्छ। एक्लैले केही हुँदैन। सबै मिलेर यसको विकास गर्ने दिन आएको छ।” 

पार्वतीकी माता मेनकाले भ्रमण गर्दाको क्रममा नुहाउने गरेको यहीँको मेनका पोखरीबाट अपभ्रंश भई अहिले मैनापोखरी भएको कुरा पनि सत्ययुगको एउटा वर्णनमध्येको हो।  मिलारेक्पा हिमालले चियाइरहेको यो भूमि साँच्चै पवित्र मात्र हैन सुन्दर पनि छ। लस्करै हिमाल देखिने देउलाङमा केही घर छन्। शालीन, मिलनसार, मेहनती र इमानदार तामाङहरूको बस्ती हो यो। पढालेखा महिलाहरू कम छन्। पुरुषहरू रोजगारीका लागि तेस्रो मुलुक पुगेका छन्। भारत, नेपाल र चीनको तिब्बत जोड्ने सिल्करोड यही भूमि हुँदै अगाडि बढेको छ। महादेवले भारतको कनखलबाट सतीदेवीलाई विवाह गरेर तिब्बतमा रहेको कैलाश पर्वत (आफ्नो घर) लैजान यही बाटो हुँदै आएर देउलाङमा खरको घर तुल्याएका हुन् भन्ने कुरा सिल्करोडको सत्यले पनि पुष्टि गर्छ।

रोल्वालिङ हिमशृङ्खलामा हिमचितुवाको चटकी दौड, च्छोरोल्पा, बेदिङ, सुरमुचे, नाँ, सिमीगाउँतिरको डाँफे र मुनालको चिरबिरे नाचले मानिसलाई मनमोहक बनाउने गर्छ। लामाबगर, लप्चीतिरको झारल, घोरल र मृगको उछलकुद पनि देख्न पाइन्छ। 

देउलाङको व्यवस्थापनमा के कुराले रोकेको होला ? किंवदन्तीअनुसार बाबियोडाँडा कसेरीको ब्राह्मणको एउटा गाईले पहरो फुटाएर देउलाङ पुगी सधैँ देउलाङ्गेश्वर महादेवको मन्दिरमा रहेको शिलामा दूध दिने गर्थिन्। गाईले घरमा कहिल्यै दूध नदिने भएपछि गोठालोले रिस थाम्न नसकी आफूले भिरेको खुकुरीले गाईलाई काटिदिए। छिनिएको शिर गौरी शङ्ख बनेको र शरीर शिलामै समाहित भएको थियो।

गाईको शिरबाट बनेको गौरी शङ्ख २०३६ सालसम्म थियो। स्थानीय पहलमान तामाङले भन्नुभयो, हामीले त्यो ऐतिहासिक शङ्खको समेत संरक्षण गर्न सकेनौँ। देउलाङ्गेश्वर मन्दिरमा पुरातìव विभागको सहयोगमा नयाँ भवन बनेको छ। त्यसमा किंवदन्तीका ऐतिहासिक पक्ष भने केही भेटिँदैनन्।