बागमती प्रदेश सभाको दोस्रो कार्यकालको पहिलो अधिवेशन आह्वान हुनुपूर्व प्रदेश सभा कक्षलगायत सचिवालयको नयाँ संरचना निर्माणसँगै मर्मतसम्भार भइरहेको छ । प्रदेश सभामा भएका संरचना अपुग भएको भन्दै प्रदेश सभा सचिवालयले प्रदेश सभाका समिति, संसदीय दलकाको बैठक कक्ष, चमेनागृह र सुरक्षाकर्मीको आवास निर्माण गरेको हो ।
अर्जेन्टिनाविरुद्धको फाइनल खेलमा अस्वस्थ भएका फ्रान्सका तीन खेलाडी दुरुस्त भइसक्ने आशा गरिएको छ। डिफेन्डर डायट उपामेकानो र मिडफिल्डर एड्रियन राबियोटले मोरक्कोविरुद्ध २–० ले हात पारेको जितमा खेल्नुभएको थिएन। प्रशिक्षक डिडियर डेस्चाँले चार दिनको समय भएकाले यी दुवै खेलाडी दुरुस्त भइसक्ने बताउनुभयो। उपामेकानो र राबियोटबाहेक वैकल्पिक खेलाडी किङ्सले कोम्यान पनि बिरामी हुनुभएको छ। प्रशिक्षक डेस्चाँले यी तीन खेलाडी फाइनलअघि स्वस्थ हुने अपेक्षा गर्नुभएको छ।
दूरसञ्चार सेवा विस्तारमा स्थानीय तहको भूमिका आवश्यक भएको सेवाप्रदायकले जनाएका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले शुक्रबार विराटनगरमा आयोजना गरेको प्रादेशिक अन्तक्र्रियामा दूरसञ्चार सेवाप्रदायक संस्थाका अधिकारीले यस्तो धारणा व्यक्त गरेका हुन् । कार्यक्रममा प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले नागरिकले सहज रूपमा सञ्चार सेवा नपाएको भन्दै सबै क्षेत्रमा सम्पर्क हुने सुनिश्चितता आवश्यक रहेको बताउनुभएको थियो । सेवा विस्तारका लागि प्रदेश सरकार र स्थानीय तहले गर्नुपर्ने सहयोग र समन्वय अभाव हुन नदिने उहाँले बताउनुभयो ।
मिसेस् हिमालयन नेपाल २०२२ को उपाधि हेटौडाकी सुशीला तामाङले जित्नुभएको छ । हिमालयन मुभिजद्वारा आयोजित प्रतियोगितामा दिया चन्द ठकुरी फस्ट रनर अफ र शान्ति बस्नेत सेकेन्ड रनर अफ हुनुभएको छ ।
नेपाली सेना र भारतीय सेनाको संयुक्त अभ्यास सुरु भएको छ । ‘सूर्यकिरण’ नाम दिएको सो सैनिक अभ्यास शुक्रबारबाट रुपन्देहीको सालझन्डीस्थित नेपाली सैनिक ब्याटल विद्यालयमा सुरु भएको नेपाली सेनाले जनाएको छ । ‘सूर्यकिरण’को १६औँ संस्करणका रूपमा सुरु भएको उक्त सैनिक अभ्यासको मध्यपश्चिम पृतना मुख्यालयका पृतनापति यामप्रसाद ढकालले शुभारम्भ गर्नुभयो । यसअघि १५औँ संस्करण भारतको पिथौरागढमा सम्पन्न भएको थियो ।
खर्चअनुसार आम्दानी नबढ्दा सरकारको आम्दानी र खर्चमा तालमेल देखिन छाडेको छ । आम्दानीका स्रोत सङ्कुचित बन्दै गइरहेको र खर्चमा भने कुनै नियन्त्रण नहुँदा सरकारी ढुकुटी घाटामा देखिएको हो । महालेखा नियन्त्रक कार्यालयका अनुसार चालू आर्थिक वर्षको मङ्सिर मसान्तसम्म सरकारको कुल आम्दानीभन्दा खर्च ७७ अर्ब ३८ करोड रुपियाँले बढी छ । कार्यालयको तथ्याङ्कअनुसार मङ्सिरसम्म सरकारले विभिन्न शीर्षकमा कुल तीन खर्ब ३७ अर्ब ८२ करोड रुपियाँ आम्दानी गरेको छ जब कि सरकारको खर्च चार खर्ब ३५ अर्ब रुपियाँ नाघेको छ ।
विश्वकपमा असफल भए पनि प्रशिक्षकको राजीनामा र बर्खास्तीका घटना साधारण मानिन्छ। कतार विश्वकप फुटबलमा राजीनामा दिने प्रशिक्षकमा पोर्चुगलका फर्नान्डो सान्तोष पनि थपिनुभएको छ। उहाँले शुक्रबार आफ्नो पदबाट राजीनामा दिनुभएको हो। आठ वर्ष पोर्चुगलको प्रशिक्षक बन्नुभएका सान्तोषले आफ्नो टिम विश्वकपको क्वाटरफाइनलबाट बाहिरिएको पाँच दिनपछि राजीनामा दिनुभएको हो। ६८ वर्षीय सान्तोषको पोर्चुगल टिमसँग अझै दुई वर्षको सम्झौता बाँकी छ। पोर्चुगलको फुटबल सङ्घले सान्तोषको स्थान लिने प्रशिक्षकको खोजी सुरु गरिसकेको छ।
विश्वकप फुटबल प्रतियोगितामा तेस्रो स्थानको भिडन्तलाई प्रदर्शन खेलभन्दा अलि माथिका रूपमा पनि लिइने गर्छ। हुन पनि अहिले अर्जेन्टिना र फ्रान्सबीचको फाइनलको चर्चाले खलिफा अन्तर्राष्ट्रिय रङ्गशालामा शनिबार मोरक्को र क्रोएसियाबीच हुने तेस्रो स्थानको खेल पूरै छायाँमा पारेको छ । ‘क्लाइमेक्स’तिर आउँदा च्याम्पियन बन्ने सपना सकिए पनि क्रोएसिया र मोरक्कोको विश्वकपमा पदक जित्ने सम्भावना कायम छ।
चूडामणि गौतमद्वारा सम्पादित पुस्तक बृहत्तर नेपाली शब्दकोश लोकार्पण गरिएको छ। काठमाडौँस्थित नेपाल बार एसोसिएसनको प्राङ्गणमा आयोजित कार्यक्रममा सर्वोच्च अदालतका पूर्वन्यायाधीश प्रकाश वस्तीले उक्त ग्रन्थ लोकार्पण गर्नुभएको हो। कार्यक्रममा पत्रकार तथा भाषाविज्ञ शरच्चन्द्र वस्ती, अधिवक्ता रामेश्वर राउत ‘मातृदास’, सर्वोच्च अदालतका पूर्वन्यायाधीश प्रकाश वस्ती, डा. हरिराज भट्टराई, वरिष्ठ अधिवक्ता धु्रव श्रेष्ठ र कोशकार चूडामणि गौतमले पुस्तकमाथि आ–आफ्नो मन्तव्य राख्नुभएको थियो।
सयौँ दर्शकको भव्य उपस्थितिबीच नेपालगञ्ज रङ्गशालामा ‘नेपथ्य लाइभ कन्सर्ट’ बिहीबार राति सम्पन्न भएको छ। मानव सेवा आश्रमको भवन निर्माण एवं अक्षयकोष स्थापनार्थ मानवताका लागि साङ्गीतिक कार्यक्रमअन्तर्गत कन्सर्ट आयोजना गरिएको हो। नेपालको चर्चित ब्यान्ड नेपथ्यसँगको सहकार्यमा आश्रमले बिहीबार साँझ कन्सर्ट आयोजना गरेको थियो। ११ वर्षको अन्तरालपछि पहिलो पटक ‘नेपथ्य लाइभ कन्सर्ट’ नेपालगञ्जमा आयोजना गरिँदा यस क्षेत्रका दर्शक रङ्गशालामा ओइरिएका थिए।
कालीगण्डकी कोरिडोरमा सुविधासम्पन्न होटल सञ्चालनमा आएको छ । बेनी–जोमसोम–कोरला सडकखण्डअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२, भुरुङ तातोपानीमा करिब ३५ करोड रुपियाँको लगानीमा होटल नेचुरल स्प्रिङ सञ्चालनमा ल्याइएको हो । अन्नपूर्ण पदमार्ग र जोमसोम भ्रमणमा आउने पर्यटकलाई लक्षित गरेर युवा व्यवसायी राजु हमालले यस क्षेत्रकै ठूलो होटल सञ्चालनमा ल्याउनुभएको हो । हमालले यसअघि सदरमुकाम बेनीमा व्यापार गर्दै आउनुभएको थियो ।
नेपाल पत्रकार महासङ्घ पाँचथरले छ जना पूर्व अध्यक्षलाई सम्मान गरेको छ । शुक्रवार सम्पन्न नवौँ वार्षिक साधारण सभाको अवसरमा शाखाका छ जना पूर्व अध्यक्षहरूलाई शाखाले सम्मान गरेको हो ।
आप्रवासन श्रमिकका क्षेत्रमा कार्यरत सङ्घसंस्थाले आप्रवासी श्रमिकको पीडालाई बेवास्ता गर्न नहुने भन्दै फिफा अध्यक्ष जियानी इन्फान्टिनोलाई खुला पत्र लेखेका छन् । कतारमा रङ्गशाला बनाउने काममा नेपाली श्रमिकले भोगेको दुव्र्यवहारको क्षतिपूर्ति दिलाउन पर्ने भन्दै अहिले हजारौँ दर्शक रमाइरहेको ठाउँमा श्रमिकले भोगेको पीडालाई बेवास्ता गर्न नहुने भन्दै ती नेपाली सङ्घसंस्थाले खुला पत्र लेखेका हुन् ।
माघ पहिलो साता देखी १ नं प्रदेश स्तरीय औद्योगिक व्यापार मेला तथा कृषि प्रदर्शनी एवं धनकुटा महोत्सव हुने भएको छ । धनकुटाको टुँडिखेलमा माघ ६ गते देखि १६ गतेसम्म महोत्सव गर्ने धनकुटा उद्योग वाणिज्य सङ्घले निर्णय गरेको छ ।
गत वैशाखदेखि केही वस्तुको आयातमा लगाइएको प्रतिबन्ध शुक्रबारदेखि खुला भएको छ । सरकारले विदेशी मुद्रा सञ्चिति घटेको भन्दै गत वैशाख १३ गतेदेखि केही वस्तुको आयातमा प्रतिबन्ध लगाएको थियो । मङ्सिर २० गतेको मन्त्रिपरिषद्को बैठकले उक्त प्रतिबन्ध पुस १ गतेदेखि खुला गर्ने निर्णय गरेको थियो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता डा. नारायण रेग्मीले केही वस्तुको आयातमा लगाएको प्रतिबन्ध शुक्रबारदेखि खुला भएको जानकारी दिनुुभयो । आयातमा लगाएको प्रतिबन्ध खुला भएसँगै शुक्रबारदेखि व्यवसायीले एलसी (प्रतीतपत्र) खोलेर गाडी, मोबाइल, मदिरा र मोटरसाइकलको आयात गर्न पाउनेछन् ।