कोकिला भण्डारी
धनकुटा, पुस २ गते । माघ पहिलो साता देखी १ नं प्रदेश स्तरीय औद्योगिक व्यापार मेला तथा कृषि प्रदर्शनी एवं धनकुटा महोत्सव हुने भएको छ । धनकुटाको टुँडिखेलमा माघ ६ गते देखि १६ गतेसम्म महोत्सव गर्ने धनकुटा उद्योग वाणिज्य सङ्घले निर्णय गरेको छ ।
सङ्घका अध्यक्ष विजय सन्तोषी राईको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो । महोत्सवका लागि सङ्घका अध्यक्ष राईको अध्यक्षतामा १ सय १ सदस्यीय महोत्सव मूल आयोजक समिति र २५ सदस्यीय सचिवालय समिति गठन गरिएको छ ।
महोत्सव व्यवस्थापन, प्रायोजन व्यवस्था तथा समन्वय समितिमा अध्यक्ष राई सहित वरिष्ठ उपाध्यक्ष मन कुमारी तितुङ्, उपाध्यक्षहरू खगेन्द्र विष्ट, कृष्णराज श्रेष्ठ, निर्मला राई, महासचिव गोङ्वा, सचिव श्रीराम रायमाझी, कोषाध्यक्ष रुपेश श्रेष्ठ रहनु भएको छ ।
महोत्सवलाई सफल बनाउन नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल सरकार, प्रदेश र जिल्लाका सबै स्थानीय सरकार र सरोकारवाला कार्यालय, सङ्घ संस्थाहरूसँग समन्वय गरी उहाँहरूकै सहयोग र सहकार्यमा कार्यक्रम सञ्चालन गरिने महासङ्घले जनाएको छ ।
धनकुटा उद्योग वाणिज्य सङ्घले प्रत्येक ३–३ वर्षमा आयोजना गर्दै आएको महोत्सव कोरोना महामारीले हुन सकेको थिएन ।