ठाकुरप्रसाद आचार्य
म्याग्दी, चैत १३ गते । विश्व शान्ति, मानव कल्याण र आध्यात्मिक जागरणको कामनासहित म्याग्दीको बेनीस्थित कालिगण्डकी र म्याग्दी नदीको संगमस्थलमा साढे दुई करोड दीप प्रज्ज्वलन गरिएको छ।
रामनवमीको अवसर पारेर विश्व हिन्दु महासंघ म्याग्दीको आयोजनामा शुक्रबार भव्य रूपमा गरिएको दीप प्रज्ज्वलन कार्यक्रममा गाउँगाउँबाट सयौँ भक्तजन भजनकीर्तनसहित सहभागी भएका थिए।
दीप प्रज्ज्वलनमा गाउँगाउँबाट सयौंको संख्यामा भक्तजनहरु नदी किनारमा भजनकीर्तनमा नाचेका थिए ।
दीप प्रज्ज्वलन गरी विश्व शान्ति,प्राणी जगतको कल्याणको कामना र आध्यात्मिकतालाई प्रचारप्रसार गर्नु उद्देश्य रहेको विश्व हिन्दु महासंघ जिल्ला कार्य समितिका म्याग्दीका अध्यक्ष डण्डपाणी उपाध्यायले जानकारी दिनुभयो । यति ठूलो दीप प्रज्ज्वलन यस क्षेत्रमा सम्भवतः पहिलो पटक आयोजना गरिएको उहाँको भनाइ छ ।