इमान सिं राना
रामपुर (पाल्पा), चैत १३ गते । जिल्लाको रामपुर नगरपालिका–७ स्थित किसानबारी खेल मैदानको स्तरोन्नति सुरु भएको छ । रामपुर नगरपालिकाबाट चालु आर्थिक वर्षमा विनियोजन बजेट मार्फत ज्योतिपुञ्ज युवा कलवले खेल मैदान स्तरोन्नति सुरु गरेको हो ।
खेल मैदान स्तरोन्नतिको लागि रामपुर नगरपालिकाले वहुवर्षीय योजना अन्तर्गत २ करोड विनियोजन गरेको छ । जस अनुसार यस वर्ष ५० लाख विनियोजन गरेको थियो । रामपुर नगरपालिका प्रमुख रमण बहादुर थापा, उपप्रमुख बालकुमारी थापा र जापानिज समाजसेवी काजुमासा काकीमी (ओके बाजे)ले शिलान्यास गरी खेल मैदान स्तरोन्नतिको शुभारम्भ गर्नुभएको हो ।
शुक्रबार वैदिक विधि पूर्वक खेलमैदानको शिलान्यास गर्नुहुँदै रामपुर नगरपालिका प्रमुख रमण बहादुर थापाले रामपुरलाई खेलकुदको माध्यम बाट चिनाउन खेलकुद पूर्वाधार निर्माणमा जोड दिईएको बताउनुभयो । खेल मैदानको स्तरोन्नतिको लागि ११ करोड ६२ लाखको डिपिआर तयार गरिएको जानकारी दिदै तत्कालको लागि नगरपालिकाले चालु आर्थिक वर्षमा वहुवर्षीय आयोजना अन्तर्गत दुई करोड विनियोजन गरेको जानकारी दिनुभयो । क्रमागत रुपमा यस वर्ष ५० लाख रुपियाँ विनियोजन गरिएको जानकारी दिदै बजेट अनुसारको काम सम्पन्न भएपछि थप बजेटको व्यवस्था गर्ने प्रतिवद्धता जनाउनुभयो ।
ज्योतिपुञ्ज युवा क्लवका अध्यक्ष सुन्दर रानाले विनियोजित बजेट मार्फत यस वर्ष पर्खाल सहितको घेराबार निर्माण, खेलमैदान सम्याउने लगाएतका काम हुने बताउनुभयो । क्लवका पूर्व अध्यक्ष एवं सल्लाहाकार धुर्व प्रसाद पोखरेलले किसानबारी खेल मैदानलाई फुटबलको हबको रुपमा विकास गर्नका लागि रामपुर नगरपालिकाले देखाएको सक्रियता प्रति आभार व्यक्त गर्नुभयो ।
खेलमैदान स्तरोन्नतिको ठेक्का सक्षम निर्माण सेवा प्रालिले प्राप्त गरेको छ । कम्पनीले भ्याट सहित ३६ लाख ५१ हजार रुपियाँमा यस वर्षको काम सम्पन्न गर्ने गरी रामपुर नगरपालिकासँग सम्झौता गरेर निर्माण कार्यअघि बढाएको हो ।
ज्योतिपुञ्ज युवा कलवले हरेक वर्ष कालीगण्डकी वेशी क्षेत्र मै सबै भन्दा ठूलो फुटबल प्रतियोगिता सञ्चालन गर्दै आएको छ ।