• १३ चैत २०८२, शुक्रबार

विपन्न परिवारलाई जस्तापाता वितरण

blog

लिम्बुदिनका विपन्न परिवारलाई जस्तापाता वितरण गरिँदै ।

चन्द्र पन्दाक 

ताप्लेजुङ, चैत १३ गते । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाका विपन्न परिवारलाई जस्तापाता वितरण गरिएको छ । पालिकाभित्र बसोबास गर्ने अति विपन्न परिवारलाई गाउँपालिकाले जस्तापाता वितरण गरेको हो । 

सिदिङ्वा गाउँपालिका–५ लिम्बुदिनका वडाध्यक्ष अमरबहादुर लिम्बूका अनुसार पालिकाका सात वटै वडाका ६० घर विपन्न परिवारलाई जस्तापाता वितरण गरिएको छ । वटा १ कालिखोलामा सात परिवार र वडा २ सादेवामा आठ परिवारलाई जस्तापाता वितरण भएको वडाध्यक्ष लिम्बूले जानकारी दिनुभयो ।

उहाँका अनुसार बाँकी वडा ३ आङ्खोप, वडा ४ साब्लाखु, वडा ५ लिम्बुदिन, वडा ६ मेहेले र वडा ७ सुरुम्खिममा विपन्न नौ–नौ परिवारलाई जस्तापाता वितरण गरिएको छ । घरको छाना छाउने जस्तापाता सेटमा पर्ने काँटी, वासर र मगरासमेत वितरण गरिएको उहाँले बताउनुभयो । सुविधा प्राप्त गर्ने प्रत्येक परिवारलाई चार बन्डेल जस्तापाता, चार किलोग्राम काँटी, आठ पोका वासर र आठ वटाका दरले टिनको मगरा वितरण गरिएको पनि उहाँले जानकारी दिनुभयो ।

गाउँपालिकाका अनुसार चालु आवका लागि विनियोजित ३३ लाख रुपियाँ बजेटले बोलपत्र (ठेक्का) प्रणालीमार्फत जस्तापाता सहितका सामग्री खरिद गरी विपन्न परिवारलाई वितरण गरिएको हो । पालिकाभित्र फुस (खर) को छाना विस्थापित गर्ने योजनाअन्तर्गत विपन्न परिवारलाई जस्तापाता वितरण गरिएको गाउँपालिका अध्यक्ष मानबहादुर राईको भनाइ छ ।