• १३ चैत २०८२, शुक्रबार

नातावाद र कृपावादबाट टाढा रहने स्वास्थ्यमन्त्री मेहताको प्रतिबद्धता

blog

पदबहालीपछि सञ्चारकर्मीसँग कुरा गर्दै नवनियुक्त स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री निशा मेहता ।

काठमाडौँ, चैत १३ गते ।नवनियुक्त स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री निशा मेहताले नातावाद र कृपावादबाट टाढा रहने प्रतिबद्धता जनाउनुभएको छ ।

पदबहालीपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री मेहताले यस्तो प्रतिबद्धता जनाउनुभएको हो । उहाँले भन्नुभयो, “नातावाद, कृपावाद र परिवारवादबाट म पनि टाढा रहन्छु । तपाईहरुलाई पनि यस्ता प्रवृत्तिबाट टाढा रहन आग्रह गर्छु ।”

उहाँले स्वास्थ्यकर्मी सन्तुष्ट भएमा मात्रै उनीहरूले शतप्रतिशत क्षमताका साथ काम गर्न सक्ने र त्यसबाट नागरिकले गुणस्तरीय सेवा पाउने उल्लेख गर्नुभयो ।

उहाँले कर्मचारीको कार्यक्षमताका आधारमा निर्णय गर्ने बताउनुभयो । स्वास्थ्य क्षेत्रमा आवश्यक सामग्री खरिदतर्फ बढी झुकाव देखिएको उल्लेख गर्दै मन्त्री मेहताले सामान्य मर्मतसम्भार गरेर चल्ने सामग्रीसमेत नयाँ किन्ने प्रवृत्ति रहेको बताउनुभयो । 

मर्मतका लागि छुट्टै बजेटको व्यवस्था नगरेका कारण यस्तो अवस्था आएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “हामीकहाँ नयाँ खरीद गर्नलाई प्राथमिकता दिन्छौँ तर मर्मत गर्नका लागि बजेट नै हुँदैन । मर्मत गरेर पनि धेरै मेसिन चल्छ । मेरो ध्यान त्यसतर्फ पनि छ ।”

नर्सहरूले आफ्नो विशिष्टीकृत क्षमता अनुसार काम गर्ने अवसर नपाएको र चिकित्सकको तलब तथा सेवासुविधा समेत समस्या रहेको उहाँले औँल्याउनुभयो ।

पछिल्लो समय स्वास्थ्य जनशक्तिलाई आवश्यक हौसला नपुग्दा विदेशिने क्रम बढ्दो रहेको बताउँदै उहाँले स्वदेशमै बस्न प्रेरित गर्ने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिनुभयो ।

मन्त्री मेहताले हालका लागि विस्तृत अध्ययनबिना कुनै ठूला निर्णय नगर्ने स्पष्ट पार्दै आवश्यक अध्ययनपछि मात्रै नीति तथा कार्यक्रम अघि बढाइने जानकारी दिनुभयो ।