• २६ वैशाख २०८२, शुक्रबार

मोरक्को र क्रोएसियाबीचको रोमाञ्चक भिडन्त

blog

दोहा, पुस २ गते । विश्वकप फुटबल प्रतियोगितामा तेस्रो स्थानको भिडन्तलाई प्रदर्शन खेलभन्दा अलि माथिका रूपमा पनि लिइने गर्छ। हुन पनि अहिले अर्जेन्टिना र फ्रान्सबीचको फाइनलको चर्चाले खलिफा अन्तर्राष्ट्रिय रङ्गशालामा शनिबार मोरक्को र क्रोएसियाबीच हुने तेस्रो स्थानको खेल पूरै छायाँमा पारेको छ । ‘क्लाइमेक्स’तिर आउँदा च्याम्पियन बन्ने सपना सकिए पनि क्रोएसिया र मोरक्कोको विश्वकपमा पदक जित्ने सम्भावना कायम छ।

अर्जेन्टिनासँग सेमिफाइनलमा पराजित भएपछि क्रोएसिया लगातार दोस्रो पटक विश्वकपको फाइनल खेल्नबाट वञ्चित भयो। त्यसैले क्रोएसियाले दोस्रो पटक तेस्रो स्थानकै भए पनि पदक हासिल गर्ने दाउमा छ। सन् १९९८ मा स्वतन्त्र राष्ट्र भएर पहिलो पटक खेलेको विश्वकपमा नै क्रोएसियाले तेस्रो स्थान हात पारेको हो। मोरक्को पनि यस विश्वकपमा गरेको शानदार प्रदर्शनको पुरस्कारस्वरूप तेस्रो स्थानको गौरवलाई प्राप्त गर्ने सुरमा छ। विश्व च्याम्पियन फ्रान्ससँग २–० ले हारेपछि मोरक्को तेस्रो स्थानको खेल खेल्न बाध्य भएको हो।

क्रोएसियाका प्रशिक्षक ज्लाट्को डिलिचले अहिले टिम निकै निराश भए पनि आफ्ना खेलाडीसँग त्यो पीडालाई पछाडि छोडेर पुनरागमन गर्ने शक्ति छ, भन्नुभयो। हामी कांस्य पदक भिडन्तका लागि तयार छौँ। शनिबारका खेल सानो होइन। हामीले कांस्य पदक जित्न सफल भयौँ भने त्यो ठूलो उपलब्धि हुनेछ, उहाँको भनाइ छ। क्रोएसियाका फरवार्ड एन्ड्री क्रामारिच पनि विश्वकपमा पदक जितेमा आफ्ना देशका लागि सधैँका लागि हिरो बन्ने भएकोले तेस्रो स्थानको खेल उत्तिनै महत्वको मान्नुहुन्छ।

क्रोएसियाका प्रशिक्षक डिलिचले मोरक्कोको प्रशंसा पनि गर्नुभयो। “यस विश्वकपमा मोरक्को सनसनी फैलाउने टिम हो। मोरक्कोलाई अरबी देशले नै समर्थन गरिरहेको छ। सो टिममा एकता पनि छ। मोरक्कोले बेल्जियम, स्पेन र पोर्चुगलजस्ता टिमलाई हरायो। मोरक्को सम्मानको हकदार छ,” प्रशिक्षक डिलिच भन्नुहुन्छ। मोरक्को र क्रोएसियाबीच समूह चरणमा पनि भिडन्त भएको थियो। सो समय क्रोएसियालाई जितको दाबेदार मानिएको थियो। यद्यपि अहिले दुवै बराबरीको स्थितिमा छ। हुन त समूह चरणमा पनि दुवै टिमले गोलरहित बराबरीमा खेलेका थिए। क्रोएसियाले त मोरक्कोको गोलपोस्टमा मात्र पाँच प्रहार गरेको थियो। जुन क्रोएसियाको विश्वकप खेलमा सबैभन्दा कम प्रहार हो। ब्राजिललाई क्वाटरफाइनलबाट बिदा गरे पनि क्रोएसियाले अर्जेन्टिनालाई सेमिफाइनलमा खासै चुनौती दिन सकेन।

मोरक्कोको भने सेमिफाइनलसम्म पनि प्रदर्शन एकनाश रह्यो । फ्रान्सविरुद्धको सेमिफाइनल सकिन ११ मिनेट बाँकी छँदा फ्रान्सका स्थानापन्न खेलाडी रान्डर कोलो मुवानीले गोल नगर्दासम्म मोरक्को फाइनल खेल्ने सम्भावना कायम थियो। मोरक्कोले च्याम्पियन फ्रान्सलाई सेमिफाइनलमा एक क्षण पनि आरामले सास लिन दिएन। त्यसैले पनि मोरक्को तेस्रो स्थान हासिल गर्न सक्ने विश्वासमा हुनुपर्छ। यस विश्वकपमा क्रोएसिया विपक्षी टिमबाट सबैभन्दा बढी प्रहार (७५) बेहोर्ने टिम हो।

क्रोएसियाविरुद्ध गोल नबेहोरेमा मोरक्को विश्वकपको इतिहासमा एउटा प्रतियोगितामा पाँच क्लिनसिट राख्ने मात्र आठौँ टिम बन्नेछ। मोरक्कोले अहिले नै विश्वकपको सेमिफाइनलमा पुग्ने पहिलो अफ्रिकी र अरबी देशको कीर्तिमन बनाइसकेको छ। क्रोएसियालाई हराएमा मोरक्कोले तेस्रो स्थानको अर्को गौरव हासिल गर्नेछ। मोरक्कोका प्रशिक्षक वालिद रेग्रागुईले तेस्रो स्थानका लागि हुने खेलमा मौका नपाएका खेलाडीलाई खेलाउने बताउनुभएको छ। हामीलाई थाहा छ, हामीले अहिले नै ठूला उपलब्धि हासिल गरिसकेका छौँ। अब तेस्रो स्थानमा रहेर मोरक्कोको जनतालई थप गौरवान्वित बनाउन चाहन्छौँ। फाइनलमा पुग्न नसकेर मोरक्कोका जनतालाई दुःखी पनि बनाएका छौँ तर हामीले जे उपलब्धि हासिल ग-यौँ, त्यसमा सन्तुष्ट छौँ, रेग्रागुई भन्नुहुन्छ। एपी