नेपालमा सुकुम्बासी बस्ती जटिल समस्या बन्दै आएको छ । काठमाडौँको थापाथलीस्थित बागमती नदीकिनारामा रहेको सुकुम्बासी बस्तीले व्यवस्थापन समस्या खडा गरेको छ । एकीकृत बागमती सभ्यता विकास आयोजनाले पटक पटक बस्ती हटाउन पहल गरे पनि हट्न सकेको छैन । डा. बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा थापाथलीको सुकुम्बासी बस्तीमा डोजर चलाई घर भत्काइए । केही समयपछि पुनः घर बनाइ त्यहीँ बस्ती बसाए । उपत्यकामा बागमतीको अलावा विष्णुमती, धोबी खोला, गोदावरी, मनोहरा तथा बल्खु खोला किनारामा विगत लामो समयदेखि सुकुम्बासी बसोबास गर्दै आइरहेका छन् । नदी, खोला किनारामा बसोबास गर्ने व्यक्ति सबै वास्तविक सुकुम्बासी नै हुन् त ? उत्तर खोज्नुपर्ने भइसकेको छ ।
कोहलपुरमा सञ्चालनमा रहेका दन्त अस्पताल स्थानीय सरकारको अनुमतिबिना नै सञ्चालनमा रहेको पाइएको छ। कोहलपुर नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख अनिलसिंह ठकुरीले हाल कोहलपुरमा सञ्चालित कुनै पनि दाँत अस्पतालले स्थानीय सरकारसँग सञ्चालन अनुमति नलिएको जानकारी दिनुभयो। प्रमुख ठकुरीका अनुसार नेपाल सरकार कम्पनी रजिस्टारको कार्यालयमा दर्ता भएकै आधारमा सबै दाँत अस्पताल सञ्चालनमा रहेको तर कसैले पनि स्थानीय सरकारसंग सञ्चालन अनुमति लिएका छैनन्।
रुपन्देहीको सैनामैना नगरपालिका–१०, सालझण्डीका ७५ वर्षीया सावित्रा न्यौपानेलाई २०२७ सालमा नापी भएको घरबास जग्गाको लालपुर्जा आउला भन्ने कत्ति पनि आस लागेकै थिएन। न्यौपानेको परिवारले करिब ५५ वर्ष पहिलेदेखि उक्त जग्गामा घर बनाएका थिए। २०२७ सालमा न्यौपाने परिवारको नाममा उक्त जग्गा नापी भएको थियो तर नापी भएको ५२ वर्षपछि हातमा लालपुर्जा आउँदा सावित्रामा खुसीको सीमा छैन।
मानव बेचबिखन र ओसारपसारमा पछिल्लो समय लोकप्रिय भइरहेको सामाजिक सञ्जाल टिकटकको दुरुपयोग हुन थालेको छ। विशेष गरी किशोर अवस्थाका युवतीहरू टिकटकका माध्यमबाट अपरिचित व्यक्तिहरूको सम्पर्कमा पुगी बेचबिखनको जोखिममा परेका छन्। यसरी टिकटकको माध्यमबाट चिनजान भई सीमापार जान लागेका छ जनालाई माइती नेपाल नेपालगञ्जको टोलीले जमुनाह नाकामा फेला पारी परिवारको सम्पर्कमा पु-याएको छ।
पूर्वी नवलपरासीमा यो वर्ष सुन्तला उत्पादन बढेको छ । जेठ असारमा फूल खेल्ने समयमा पर्याप्त पानी परेका कारण उत्पादन बढी हुँदा करिब सात करोड रुपियाँको सुन्तला बिक्री भएको कृषकले बताएका छन् ।
कुखुराको अन्डा र मासु उत्पादनलाई थप आधुनिकीकरण गर्नुपर्ने सरोकारवालाले जनाएका छन् । दसौँ पोल्ट्री दिवस २०७९ को अवसरमा भरतपुरमा आयोजित कार्यक्रममा विज्ञहरूले मासु तथा अन्डा उत्पादन र बजारमा मागमा घटेकाले किसान विस्थापित हुने खतरा निम्तिएको र यसलाई रोक्न सरकारले आवश्यक पहल गर्नुपर्नेमा जोड दिइयो ।
तराईका जिल्लाहरूमा चिसो बढ्दै गएपछि महोत्तरीको सामुदायिक विद्यालयहरू बन्द हुन थालेका छन्। चिसोका कारण विद्यार्थी बिरामी पर्न थालेपछि मनरासिसवा र रामगोपालपुर नगरपालिकाका करिब चार दर्जन सामुदायिक विद्यालयको पठनपाठन ठप्प भएको छ। दुवै नगरपालिकाले सार्वजनिक सूचना प्रकाशित गरी १७ गते आइतबारदेखि २२ गते शुक्रबारसम्म छ दिनका लागि विद्यालयमा सार्वजनिक बिदा दिइएको जनाएका छन्। नगर प्रशासनका अनुसार मनरासिसवाका २६ सामुदायिक विद्यालयमा १२ हजार विद्यार्थी पठनपाठन गर्दछन्। त्यस्तै रामगोपालपुर नगरपालिकामा १८ सामुदायिक विद्यालयमा १० हजारभन्दा बढी विद्यार्थी अध्ययनरत छन्।
लामो समयदेखि सुस्ताएको चितवनको पर्यटन क्षेत्र अङ्गे्रजी नयाँ वर्षले जुर्मुराएको छ । पर्यटकको पर्खाइमा रहेका यहाँका होटल शुक्रबारदेखि भरिएका थिए । नयाँ वर्षको अघिल्लो दिन शनिबार पर्यटकीय क्षेत्र सौराहाका होटल आन्तरिक पर्यटकले भरिएका छन् । अन्य दिनको तुलनामा शनिबार यहाँका होटल भरिएको क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष दीपक भट्टराईले जानकारी दिनुभयो । कोरोना, आर्थिक मन्दीका कारण सुस्ताएको पर्यटन क्षेत्रमा नयाँ वर्षले राहत दिएको उहाँले बताउनुभयो । शनिबार मात्रै ७० प्रतिशतभन्दा धेरै होटल भरिएको सङ्घले जनाएको छ । नयाँ वर्षको अवसरमा सांस्कृतिक कार्यक्रम पनि आयोजना गरिएको थियो ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले तीन महिना पहिले जफत गरेको ठूलो परिमाणको ‘एसियन पेन्ट्स’ अहिलेसम्म नष्ट गर्न सकेको छैन । विभागले कात्तिकको पहिलो साता जफत गरेको म्याद गुज्रेको एसियन पेन्ट्स नष्ट गर्ने ठाउँ उपलब्ध गराउन नसक्दा यस्तो समस्या आएको हो । विभागका निर्देशक होमनाथ भट्टराईले म्याद गुज्रेको एसियन पेन्ट नष्ट गर्ने विषयमा निरन्तर प्रयास गरिएको तर उचित ठाउँ अहिलेसम्म नपाएको बताउनुभयो । पेन्ट्स नष्ट गर्ने ठाउँ उपलब्ध गराउन डेढ महिना पहिले नै काठमाडौँ महानगरपालिकालाई पत्राचार गरेर अनुुमति मागे पनि अहिलेसम्म अनुमति नदिएकाले अझै अन्योल भएको उहाँले जानकारी दिनुभयो ।
हरेक वर्ष असारदेखि भदौ महिनासम्म नदीजन्य पदार्थ उत्खनन गर्न नपाउने कानुनी व्यवस्था रहेको छ। अन्य समयमा पनि स्थानीय तहले लगाउने व्यवस्थित ठेक्कामार्फत वा आवश्यक राजस्व बुझाएरै मात्रै उत्खनन र निकासी गर्न पाइन्छ। तर, रामेछापको खाँडादेवी गाउँपालिका–१ राकाथुम खैरेनीस्थित सुनकोसी नदीमा हरेक मौसममा रातको समयमा एक्साभेटर नै लगाएर नदीजन्य पदार्थ (ढुङ्गा, गिटी र बालुवा)को उत्खनन गरी तस्करी भइरहेको छ।
कुनै दिन स्लेटको (ढुङ्गा) छाना गाउँका रूपमा परिचित दोलखाको बिगु गाउँपालिका–६ को आलम्पु गाउँ अचेल जस्तामय भएको छ। गत २०७२ को भूकम्पपछिको पुनर्निर्माणले गाउँका सबै घरमा जस्ताको छानो लगाइएपछि गाउँ नै जस्तामय बनेको वडाध्यक्ष टहलबहादुर थामीले जानकारी दिनुभयो। उहाँका अनुसार पहिले त सबै घरका छाना स्लेटले छाएका चिटिक्क परेको गाउँ देखिन्थ्यो। भूकम्पपछि बनेका घरमा स्लेट लगाउँदा घरलाई बढी भार पर्छ भनेर भनेपछि गाउँको मौलिकता नै मासियो।
आजकल गाउँघरमा नौमती बाजा लोप हुँदै जान थालेको छ । धार्मिक कार्य र सभा समारोहमा नौमती बाजा विरलै देख्न सकिन्छ । पाका पुस्तामा लोकप्रिय नौमती बाजा बजाउने कला तन्नेरी पुस्ताले सिको नगर्दा आजकल लोप हुन थालेको छ । हराउन थालेको छ । प्राय: जसो परुषले मात्र बजाउने नौमती बाजा आजकल महिलाहरूले पनि बजाउन थालेका छन् ।
गत २०७२ को भूकम्पमा परी भत्किएको दोलखाको सदरमुकाम चरीकोटस्थित पशुपति कन्या माध्यमिक विद्यालयको भवन पुनर्निर्माण सम्पन्न भएको छ। एसियाली विकास बैङ्कको अनुदानमा चार करोड ६२ साल ८५ हजार ९६० (भ्याटबाहेक) रुपियाँको लागतमा पुनर्निर्माण सम्पन्न भएको विद्यालयका प्रधानाध्यापक गोविन्दनारायण मानन्धरले जानकारी दिनुभयो।
नेकपा [एमाले]को लुम्बिनी प्रदेशको संसदीय दलको नेतामा लीला गिरी चयन हुनु भएकाे छ । दाङको देउखुरीमा नेकपा एमालेका महासचिव शङ्कर पोखरेल र सचिव छविलाल विश्वकर्माको उपस्थितिमा बसेको बैठकले गिरीलाई सर्वसम्मत रूपमा संसदीय दलका नेता चयन गरेको हो ।
सहरी विकास तथा भवन कार्यालय सिन्धुलीमार्फत चालू आर्थिक वर्ष २०७९/८० मा सिन्धुली र रामेछाप जिल्लामा ७० वटा विकास निर्माणका योजना सञ्चालनमा रहेका छन्। सङ्घीय सरकारको ससर्त अनुदान र बागमती प्रदेश सरकारबाट विनियोजित बजेटबाट ती विकास निर्माणका योजना सञ्चालन गरिएको उक्त कार्यालयले जनाएको छ। ती विकास निर्माणका योजना सञ्चालन गर्न चालू आवमा स्वीकृत २६ करोड रुपियाँ बजेटमध्ये चार करोड दुई लाख २५ हजार रुपियाँ बजेट खर्च भइसकेको कार्यालय प्रमुख दुर्गाप्रसाद घिमिरेले जानकारी दिनुभयो।