• २० असोज २०८१, आइतबार

चार दर्जन सामुदायिक विद्यालय बन्द

blog

बर्दिबास समाचारदाता 

बर्दिबास, पुस १८ गते । तराईका जिल्लाहरूमा चिसो बढ्दै गएपछि महोत्तरीको सामुदायिक विद्यालयहरू बन्द हुन थालेका छन्। चिसोका कारण विद्यार्थी बिरामी पर्न थालेपछि मनरासिसवा र रामगोपालपुर नगरपालिकाका करिब चार दर्जन सामुदायिक विद्यालयको पठनपाठन ठप्प भएको छ। 

दुवै नगरपालिकाले सार्वजनिक सूचना प्रकाशित गरी १७ गते आइतबारदेखि २२ गते शुक्रबारसम्म छ दिनका लागि विद्यालयमा सार्वजनिक बिदा दिइएको जनाएका छन्। 

नगर प्रशासनका अनुसार मनरासिसवाका २६ सामुदायिक विद्यालयमा १२ हजार विद्यार्थी पठनपाठन गर्दछन्। त्यस्तै रामगोपालपुर नगरपालिकामा १८ सामुदायिक विद्यालयमा १० हजारभन्दा बढी विद्यार्थी अध्ययनरत छन्।

पश्चिमा स्याँठासँगै जिल्लाको दक्षिणी भेगमा जाडो बढेपछि दुवै नगरपालिकाको करिब २२ हजार स्कुले विद्यार्थी बिरामी पर्न थालेपछि बिदा दिनुपरेको नगरपालिकाले जनाएको छ। सिरोटे जाडोकाकारण विद्यार्थीको उपस्थिति पनि पातलिन थालेपछि प्रधानाध्यापकको परामर्शमा विद्यालय बन्द गरिएको हो। 

बढ्दै गएको जाडोको सबैभन्दा बढी प्रभाव स्वास्थ्य क्षेत्रमा देखिन थालेको जिल्ला स्वास्थ्य कार्यालयले पनि पुष्टि गरेको छ। अस्पतालकी मेडिकल सुपरिन्टेन्डेन्ट कृष्णा महर्जनका अनुसार बच्चामा निमोनिया, क्रोनिक कफ, रुघाखोकी, स्वासप्रस्वास, हाडजोर्नीजस्ता बिरामीको सङ्ख्या बढ्दै गएको छ। 

मनरासिसवा नगरपालिका प्रमुख मोहन पाण्डेले विद्यालय शिक्षक एवं प्रधानाध्यापकको परामर्शमा खर्च हुन बाँकी रहेको बिदाबाट कट्टा हुने गरी छ दिन जाडो बिदा दिइएको बताउनुभयो।  रामगोपालपुरका प्रमुख रामदुलार साहले पनि मौसमी प्रतिकूलता, विद्यार्थीको स्वास्थ्य सुरक्षाका लागि प्रधानाध्यापक र स्वास्थ्यकर्मीको परामर्शमा बिदा दिइएको बताउनुभयो। 

शिक्षा विकास तथा समन्वय एकाइ महोत्तरीका एकाइ प्रमुख भरतबाबु सुवेदीका अनुसार महोत्तरीका १५ स्थानीय तहका ३२३ सामुदायिक विद्यालय भए पनि यी दुई पालिकाबाहेक अन्य पालिकामा पठनपाठन नियमित छ। 

“यी दुई पालिकाले बाहेक अरूले बिदा दिएको हामीलाई जानकारी छैन”, उहाँले भन्नुभयो, “जिल्लाको उत्तरी भेगको तुलनामा दक्षिणवर्ती भेगको मौसम तुलनात्मक रूपले प्रतिकूल छ।”