• २० असोज २०८१, आइतबार

कुखुरापालनको व्यवसायीकरणमा जोड

blog

नारायणगढ समाचारदाता

भरतपुर, पुस १८ गते । कुखुराको अन्डा र मासु उत्पादनलाई थप आधुनिकीकरण गर्नुपर्ने सरोकारवालाले जनाएका छन् । दसौँ पोल्ट्री दिवस २०७९ को अवसरमा भरतपुरमा आयोजित कार्यक्रममा विज्ञहरूले मासु तथा अन्डा उत्पादन र बजारमा मागमा घटेकाले किसान विस्थापित हुने खतरा निम्तिएको र यसलाई रोक्न सरकारले आवश्यक पहल गर्नुपर्नेमा जोड दिइयो । 

नेपाल कुखुरा व्यवसायी महासङ्घका अध्यक्ष गुणचन्द्र विष्टले थोरै लगानीमा धेरै उत्पादन गर्न सक्ने गरी व्यवसायीकरणको आवश्यकता रहेको औँल्याउनुभयो । “अब कसरी हुन्छ, थोरै लगानीमा धेरै उत्पादन गर्नुपर्छ । बजारको प्रतिस्पर्धामा हामी सस्तोमा बेच्न सक्ने हुनुपर्छ,” उहाँले भन्नुभयो । 

भारतबाट हुने गरेको मासु र अन्डाको अवैध आयात रोक्न र स्वदेशी उत्पादनमा लागत कम हुने उपाय अवलम्बन गर्नुपर्ने उहाँले बताउनुभयो ।  

कोरोना कहर सकिएसँगै बढ्दो आर्थिक मन्दीका कारण आर्थिक क्षेत्रमा परेको प्रभाव कुखुरा क्षेत्रमा पनि परेको विज्ञहरूको भनाइ छ । बढ्दो रोगको सङ्क्रमण रोक्नुपर्नेमा जोड दिँदै अध्यक्ष विष्टले कुखुरामा देखिएको समस्या समाधान गर्न तत्काल पहल थाल्न सरकारलाई आग्रह गर्नुभयो । 

नेपालमा वार्षिक ३६ लाख ५० हजार पेटी अन्डा र १२ करोड १३ लाख १३ हजार केजी कुखुराको मासु उत्पादन हुने गरेकामा अहिले आधा घटेको जानकारी कार्यक्रममा गराइएको थियो । कार्यक्रममा बोल्दै कृषि तथा वन विश्वविद्यालयका सहप्राध्यापक डा. रेवन्तकुमार भट्टराईले उपभोक्तामा आएको क्रयशक्तिको ह्रास, जनशक्तिको अभाव, बढ्दो बैङ्क ब्याजदरले समस्या पारेको बताउनुभयो । उहाँले स्वदेशमै आत्मनिर्भर हुँदै गरेको कुखुराको मासुको अवैध आयात तत्काल रोक्नुपर्ने सुझाव दिनुभयो ।  

“कुखुरामा देखिएको उच्च लागत नै अहिलेको समस्या हो । यसका लागि औद्योगिकीकरण समस्याको समाधान हो,” उहाँले भन्नुभयो । 

कार्यक्रममा बोल्दै पशुपन्छी मन्त्रालयका पशु विकास अधिकृत डा. निशान्त शर्मा गेलालले सरकारले स्वदेशी उत्पादनको खपत बढाउने गरी नीतिगत व्यवस्था गर्दै गरेको बताउनुभयो । दसौँ राष्ट्रिय पोल्ट्री दिवसका अवसरमा नेपाल कुखुरा व्यवसायी मञ्च र पशुपन्छी विकास मन्त्रालयको संयुक्त आयोजनामा भरतपुरमा पोल्ट्री दिवस मनाइएको हो । सो अवसरमा आफ्नो कार्यपत्र प्रस्तुत गर्दै स्वाथ्यविज्ञ डा. भोजराज अधिकारीले कुखुराको अन्डा र मासु स्वास्थ्यका लागि उपयोगी भएको बताउनुभयो ।