• २० असोज २०८१, आइतबार

बाउन्न वर्षपछि लालपुर्जा

blog

बुटवल समाचारदाता

बुटवल, पुस १८ गते । रुपन्देहीको सैनामैना नगरपालिका–१०, सालझण्डीका ७५ वर्षीया सावित्रा न्यौपानेलाई २०२७ सालमा नापी भएको घरबास जग्गाको लालपुर्जा आउला भन्ने कत्ति पनि आस लागेकै थिएन। 

न्यौपानेको परिवारले करिब ५५ वर्ष पहिलेदेखि उक्त जग्गामा घर बनाएका थिए। २०२७ सालमा न्यौपाने परिवारको नाममा उक्त जग्गा नापी भएको थियो तर नापी भएको ५२ वर्षपछि हातमा लालपुर्जा आउँदा सावित्रामा खुसीको सीमा छैन। 

त्यसैगरी सैनामैना–८, भड्छाका शिवनारायण चौधरीलाई आफ्नै पालामा नापी भएको घरबास जग्गाको लालपुर्जा पाइएला भन्ने लागेकै थिएन। चौधरीको परिवारले पनि ५० वर्ष पहिलेदेखि उक्त जग्गामा घर बनाएर बसिरहेका छन्। 

धेरै वर्षपछिको कुराइपछि अहिले हातमा लालपुर्जा आउँदा चौधरीमा खुसी नै आएको छ। त्यसैगरी सैनामैना नगरपालिका–११ की सीता थापाले ससुरा बाको पालामा नापी भएको जग्गाको अहिले पुर्जा पाउँदा सासू ससुराले लालपुर्जा नपाई स्वर्गे भए पनि अहिले छोरा–बुहारीको पालामा पुर्जा पाएकोमा निकै खुसी लागेको बताउनुभयो। 

त्यसैगरी गजेडीका बासिन्दा रामप्रसाद न्यौपानेलाई पनि आफूहरूले वर्षौंदेखि घर बनाएर बसिरहेको जग्गाको पुर्जा आउला भन्ने कल्पनासम्म नभएको र हाल पुर्जा पाउँदा निकै खुसी लागेको बताउनुभयो। 

अहिले हातमा लालपुर्जा पाउँदा रुपन्देहीको साबिक दुधराक्ष र गजेडीका ६०० भन्दा बढी घरपरिवारमा खुसी छाएको छ।  सरकारले २०२७ सालमा पहिलो पटक जग्गा नापी गरेको तर कित्ताकाट गर्न छुटेको जग्गालाई गाउँब्लक जग्गाका रूपमा राखेको थियो। 

नापी कार्यालय रुपन्देहीले सैनामैना नगरपालिका र कञ्चन गाउँपालिकामा तीन वर्षअघिदेखि गाउँब्लकको जग्गाको नापी गरी लालपुर्जा वितरणको काम सुरु गरेको हो। 

पहिले पुर्जा वितरण गर्न छुटेका गाउँब्लकका करिब ६२५ घरधनीलाई हाल लालपुर्जा वितरण गरिएको हो। ५२ वर्ष पहिलेदेखि घर बनाएर जग्गाको उपयोग गर्दै आएका स्थानीय बासिन्दाले गाउँब्लकको जग्गाधनी प्रमाणपत्र पाएसंगै खुसी भएका छन्।  लालपुर्जा पाएपछि अब बैङ्कमा राखेर ऋणसमेत निकाल्न पाउने भन्दै स्थानीय गजेडी लौसाका एकनारायण चौधरीले लालपुर्जा नभएका कारण विगतमा कारोबार गर्न नपाएको पीडा पोख्नुभयो।