जुम्लाबाट खरिद गरिएका स्याउ र ओखरका कलमी बिरुवा नेपालगञ्ज हुँदै हवाई मार्गबाट हुम्ला ल्याइएको छ । पैदल मार्गबाट ढुवानी गर्न धेरै समय लाग्ने भएपछि महँगो हवाई भाडा तिरेर हुम्लामा ओसारिएका हुन् । खार्पुनाथ गाउँपालिकाले किसानलाई वितरण गर्न यी बिरुवा ल्याएको हो । सो गाउँपालिकाको कृषि शाखाका प्रमुख हर्कवीर रावलले जुम्लामा खरिद गरिएका स्याउ तथा ओखरका बिरुवा नेपालगञ्ज पु-याएर हवाई मार्गबाट हुम्ला ढुवानी गरिएको बताउनुभयो ।
झापाको दमकमा सेवा केन्द्र खोलेको तुलसी बहुउद्देश्यीय सहकारी संस्थाले बचतकर्ताको निक्षेप फिर्ता नगरेपछि सबै सहकारीप्रति नै विश्वास सङ्कटमा परेको छ । बचतकर्ताको रकम फिर्ता गर्न नसकेर तुलसी सहकारीले आफ्नो सेवा केन्द्र नै बन्द गरेको छ भने अन्य सहकारी संस्थामा समेत रकम फिर्ता माग्ने बचतकर्ताको सङ्ख्या बढ्न थालेको छ ।
उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल भारतको बेंङलुरुमा आयोजित जी २० का अर्थमन्त्रीहरुको सम्मेलनमा भाग लिएर शनिबार राती ९ बजे स्वदेश फर्कनु भएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिकतर्फका हवाई कम्पनीले त्रिभुवन अन्तर्राष्ट्रियसहित विभिन्न विमानस्थलमा तिर्नुपर्ने बक्यौता नतिरेसम्म नयाँ उडान तालिका स्वीकृत नगर्ने भएको छ । चैत १८ गतेदेखि लागू हुने गर्मीयामका उडान तालिकाअनुसार आन्तरिकतर्फका नौवटा हवाई सेवा कम्पनी र ११ वटा हेलिकोप्टर कम्पनीलाई नयाँ तालिकाका लागि स्वीकृति लिनुअघि अनिवार्य बक्यौता तिर्न निर्देशन दिएको हो । प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार नयाँ तालिका स्वीकृतिका लागि सबै विमानस्थलमा बक्यौता नतिरे उडान अनुमति नपाइने निर्णय भएको हो ।
केही दिनयता देशका विभिन्न भेगमा हल्का वर्षा भएको छ । तीन दिनअघि सुदूरपश्चिम भेगबाट सुरु भएको बदलीसँगै देशका विभिन्न भूभागमा हल्का वर्षा भएको हो । लुम्बिनी र गण्डकी प्रदेश हुँदै हल्का वर्षाको क्रम बागमती प्रदेश र प्रदेश १ सम्म पुगेको छ ।
वैदेशिक रोजगारीमा रहेका नेपालीको बचत गर्ने बानी बसाल्न नेपाल राष्ट्र बैङ्कले ५० करोड रुपियाँको वैदेशिक रोजगार बचतपत्र जारी गर्ने भएको छ । आगामी पाँच वर्षका लागि खुला गरिएको वैदेशिक रोजगार बचतपत्र २०८४ ‘क’को ब्याजदर १२ दशमलव ५० प्रतिशत तोकिएको छ ।
नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले राष्ट्रपति निर्वाचनमा सहयोग गर्न नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)लाई पत्र पठाएको छ। आफ्नो पार्टीका तर्फबाट उम्मेदवार बनाइएका सुवासचन्द्र नेम्वाङको पक्षमा मतदान गर्न आग्रह गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले नेकपा (एस)का अध्यक्ष माधवकुमार नेपाललाई शनिबार पत्र पठाउनुभएको हो।
नक्सालस्थित हिमाल अस्पताल र चिकित्सकको लापरबाहीले बालिकाको मृत्यु भएको विषयमा मृतकका आफन्तले आन्दोलन गरिरहेका छन् । हिमाल अस्पताल प्रशासन र बिरामी पक्षबीच भएको वार्ता बिनानिष्कर्ष टुङ्गिएपछि बिरामीका आफन्तले अस्पतालमा आन्दोलन गरेका हुन् ।
मधेस प्रदेश सभाका सभामुख रामचन्द्र मण्डलले आदिबासी जनजातिका लागि संविधानमा भएको व्यवस्था कार्यान्वयन गर्न नसकिए सो अधिकार खोसिन सक्ने बताउनुभएको छ । संवैधानिक व्यवस्था कार्यान्वयनका लागि आवश्यक पर्ने कानुन निर्माण गर्न अझै नसकिएकाले सो अधिकार कार्यान्वयन हुन नसकेमा अधिकार खोसिन सक्ने उहाँले चिन्ता व्यक्त गर्नुभएको हो ।
बागमती प्रदेश सरकारमा सहभागी राष्ट्रिय प्रजातन्त्र पार्टीका मन्त्रीहरुले सरकारबाट राजीनामा दिनुभएको छ ।
मकवानपुरको इन्द्रसरोवर गाउँपालिका २ स्थित हेभीमा भएको छुट्टाछुट्टै मोटरसाइकल दुर्घटनामा दुईजनाको मृत्यु भएको छ ।
आयोजक न्यु डायमन्ड युथ स्पोर्ट्स क्लबले बागमती प्रदेश न्यु डायमन्ड कप यू–१८ खुला राष्ट्रिय महिला भलिबल च्याम्पियनसिपको उपाधि जितेको छ ।
२३ औं बुढासुब्बा खेलमा धरान फुटबल क्लब आयोजक टिमलाई भारत युकेएफसीले ५-३ गोल अन्तरले पेनाल्टीमा पराजित गरेको छ।
जनता समाजवादी पार्टी (जसपा) नेपालले उपराष्ट्रपति पाउने भएपछि सम्भावित उम्मेदवारबारे पार्टीमा छलफल सुरु गर्ने भएको छ ।
नेकपा (एमाले)ले राष्ट्रपतिको निर्वाचनमा आफ्ना उम्मेदवारलाई सहयोग गर्न नेपाली कांग्रेसबाहेक संसदमा सहभागी रहेका सबै राजनीतिक दललाई औपचारिक पत्र पठाएको छ।