• १३ साउन २०८१, आइतबार

बागमती प्रदेशका राप्रपाका तीन जनामन्त्रीद्वारा राजीनामा

blog

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलसमक्ष बागमती प्रदेश सरकारबाट राजीनामा दिँदै राप्रपाका तीन मन्त्री ।

राममणि दाहाल

हेटौँडा, फागुन १३ गते । बागमती प्रदेश सरकारमा सहभागी राष्ट्रिय प्रजातन्त्र पार्टीका मन्त्रीहरुले सरकारबाट राजीनामा दिनुभएको छ । 

बागमती प्रदेशका खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री उद्धब थापा, वन तथा वातावरणमन्त्री  राजु विष्ट र पर्यटन, उद्योग तथा सहकारीमन्त्री डम्बर तामाङले बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलसमक्ष शनिबार साँझ राजीनामा दिनुभएको हो ।

राप्रपा बागमती प्रदेश संसदीय दलका नेतासमेत रहनुभएका थापाले पार्टीको निर्णयअनुसार सरकारबाट तीनैजनाले राजीनामा दिएको जानकारी दिनुभयो ।

यसअघि शनिबार बसेको बागमती प्रदेश सभाको बैठकमा विशेष समयमा बोल्दै थापाले सरकारबाट राजीनामा दिएको घोषणा गर्नुभएको थियो ।

राप्रपा नेतासमेत रहनुभएका विष्टले मुख्यमन्त्री समक्ष तीनैजनाले मन्त्रीबाट राजीनामासँगै सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएको जानकारी दिनुभयो ।

राष्ट्रपति निर्वाचन प्रकरणमा सङ्घमा सत्ता समीकरणमा परिवर्तन भएसँगै राष्ट्रिय प्रजातन्त्र पार्टीले सङ्घ र प्रदेश सरकारबाट अलग हुने निर्णय गरेको हो । राप्रपा संसदीय दलका नेता थापाले अहिले फरक अवस्था सिर्जना भएकाले राजीनामा दिएको बताउनुभयो । 

उहाँले भन्नुभयो, मुख्यमन्त्रीसमक्ष राजीनामा दिएपछि विपक्षी बेञ्चमा बस्ने र रचनात्मक भूमिका निर्वाह गर्ने छौँ । उहाँले आफूहरुले संविधानलाई मान्ने र संविधानभित्रै रहेर सङ्घीयता खारेजीको माग गर्ने बताउँदै प्रदेश सभाको विशेष समयमा पार्टीका मुद्दाहरु स्थापित गर्न सरकारमा गएको, योजना बनाउँदै गरेको र काम गर्ने मौका नै नपाएको धारणा राख्नुभयो ।

सङ्घमा पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारबाट बाहिरिने र सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेसँगै बागमती प्रदेश सरकारमा राप्रपा अलग भएको हो ।

प्रदेश सभामा राष्ट्रिय प्रजातन्त्र पार्टीका १३ जना प्रदेश सभा सदस्य रहेकोमा भुवनकुमार पाठक प्रदेश सभामुखमा निर्वाचित हुनुभएको छ ।

११० प्रदेश सभा सदस्य रहेको बागमती प्रदेश सभामा प्रतिनिधित्व गर्ने सात दलमध्ये पाँच दलका ७० जना प्रदेश सभा सदस्यको समर्थनमा नेकपा (माओवादी केन्द्र) शालिकराम जम्कट्टेल गत पुस २५ गते मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो । पुस २६ गते प्रदेश प्रमुखबाट शपथसँगै मुख्यमन्त्री जम्कट्टेलले तीन सदस्यीय मन्त्रिमण्डल गठन गर्नुभएको थियो ।

गत माघ ११ गते मन्त्रिमण्डल विस्तारसँगै विष्ट र तामाङ मन्त्री बन्नुभएको थियो ।


यो पनि पढ्नुहोस

बागमती प्रदेशमा राप्रपाका तीन मन्त्रीले राजीनामा दिँदै