• १३ साउन २०८१, आइतबार

बागमती प्रदेशमा राप्रपाका तीन मन्त्रीले राजीनामा दिँदै

blog

राप्रपाबाट बागमती प्रदेश सरकारमा सहभागी हुनुभएका मन्त्रीहरू राजु विष्ट, डम्बर तामाङ र उद्धब थापा ।

राममणि दाहाल

हेटौँडा, फागुन १३ गते । बागमती प्रदेश सरकारमा सहभागी राष्ट्रिय प्रजातन्त्र पार्टीका तीन जना मन्त्रीले सरकारबाट राजीनामा दिने राजीनामा दिने तयारी गर्नुभएको छ । राष्ट्रपति निर्वाचनका लागि सङ्घमा सत्ता समीकरण परिवर्तन भएसँगै राष्ट्रिय प्रजातन्त्र पार्टीले सङ्घ र प्रदेश सरकारबाट अलग हुने निर्णय गरेको हो ।

सङ्घमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारबाट बाहिरिने र सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय भएसँगै बागमती प्रदेश सरकारमा सहभागी सो पार्टीका तीनजना मन्त्रीले पनि राजीनामा दिने तयारी थाल्नुभएको छ।

बागमती प्रदेशका खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री एवं राप्रपा बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापाले सरकारबाट राजीनामा दिने तयारी गरेको जानकारी दिनुभयो ।

‘‘हाम्रो पार्टीबाट प्रदेश सरकारमा सहभागी तीनै जनाले संयुक्त रूपमा राजीनामा दिँदैछौँ,’’ उहाँले भन्नुभयो, ‘‘सम्भव भएसम्म आजै शनिबार नभए भोलि आइतबार राजीनामा दिनेछौँ । सरकारबाट राजीनामासँगै सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिनेछौँ ।’’ 

यस्तै, वन तथा वातावरणमन्त्री राजु विष्टले राप्रपाबाट बागमती प्रदेश सरकारमा सहभागी दुई जना मन्त्री हेटौँडामा रहनुभएको र राजीनामाका लागि आफू हेटौँडा जाँदै गरेको बताउनुभयो ।

प्रदेश सभामा राष्ट्रिय प्रजातन्त्र पार्टीका १३ जना प्रदेश सभा सदस्य रहेकोमा भुवनकुमार पाठक प्रदेश सभामुखमा निर्वाचित हुनुभएको छ ।

११० प्रदेश सभा सदस्य रहेको बागमती प्रदेश सभामा प्रतिनिधित्व गर्ने सात दलमध्ये पाँच दलका ७० जना प्रदेश सभा सदस्यको समर्थनमा नेकपा –माओवादी केन्द्र) बाट शालिकराम जम्कट्टेल गत पुस २५ गते मुख्यमन्त्री नियुक्त हुनुभएको थियो ।

पुस २६ गते प्रदेश प्रमुखबाट सथपसँगै मुख्यमन्त्री जम्कट्टेलले थापासहितको तीन सदस्यीय मन्त्रिमण्डल गठन गर्नुभएको थियो ।गत माघ ११ गते मन्त्रिमण्डल विस्तारसँगै राप्रपाका डम्बर तामाङसहित तीन जना मन्त्रिमण्डलमा सहभागी हुनुभएको थियो ।