• १८ वैशाख २०८२, बिहिबार

चिकित्सकले लापरबाही गरेको आरोप

blog

काठमाडौँ, फागुन १४ गते । नक्सालस्थित हिमाल अस्पताल र चिकित्सकको लापरबाहीले बालिकाको मृत्यु भएको विषयमा मृतकका आफन्तले आन्दोलन गरिरहेका छन् । हिमाल अस्पताल प्रशासन र बिरामी पक्षबीच भएको वार्ता बिनानिष्कर्ष टुङ्गिएपछि बिरामीका आफन्तले अस्पतालमा आन्दोलन गरेका हुन् । 

चिकित्सकको लापरबाहीले अस्पतालमा बालिकाको मृत्यु भएको आन्दोलनकारीले आरोप लगाएका छन् । मोरङका गङ्गा गौतमले आफ्नी २८ महिनाकी छोरी प्रशंसाको उपचारको क्रममा चिकित्सकले लापरबाही गरेपछि मृत्यु भएको आरोप लगाउनुभयो । उपचारका क्रममा बालिकाको मृत्युपछि मङ्गलबारदेखि हिमाल अस्पतालमा भइरहेको धर्ना दुई दिनका लागि स्थगित भई शनिबार वार्ता भएको थियो । 

हिमाल अस्पतालका मेडिकल डाइरेक्टर डा. नवीन सुब्बाले बालिकाको मृत्यु अस्पताल र चिकित्सकको लापरबाहीले नभएको दाबी गर्नुभयो । गोरखापत्रसँग कुरा गर्दै उहाँले बिरामीका आफन्तले नेपाल मेडिकल काउन्सिलमा उजुरी दिइसकेकोले काउन्सिलले छानबिन गरेपछि मात्र के भएको भन्ने प्रस्ट जानकारी हुने बताउनुभयो । “हाम्रो बटमलाइन भनेकै काउन्सिलको छानबिन प्रतिवेदन हो,” डा. सुब्बाले भन्नुभयो, “काउन्सिलले छानबिन नगरी वार्ता गर्नुको कुनै औचित्य छैन ।”

मृतक बालिकाको आफन्तका तर्फबाट पाँच जना, अस्पताल प्रशासन, उपचारमा संलग्न चिकित्सक र सञ्चारकर्मीसहितको उपस्थितिमा वार्ता भएको थियो । आन्दोलनकारीले अस्पताल तोडफोड गरेको, चिकित्सकमाथि हातपात गर्न खोजेको आरोप डा. सुब्बाले लगाउनुभयो । अन्तिम अवस्थामा बिरामी नबाँच्ने भएपछि हिमाल अस्पतालबाट महाराजगञ्जस्थित मेट्रो अस्पताल पु-याएका थिए । त्यहाँ पु-याएको दुई घण्टा पनि नबित्दै प्रशंसाको मृत्यु भएको थियो ।

हिमाल अस्पतालका चिकित्सक डा. जय यादवकै लापरबाहीका कारण छोरीको ज्यान गएको पीडित गौतमको बुझाइ छ । उहाँले आफ्नी छोरीलाई सामान्य रुघाखोकी लागेपछि माघ २३ गते पु-याएको र उपचारमा संलग्न चिकित्सक डा. यादवले सामान्य परीक्षणसमेत नगराई औषधि चलाएको आरोप लगाउनुभयो । अस्पताल प्रशासनले बिरामीको कुरा नसुनेको बताउँदै उहाँले अस्पतालले जिम्मेवारी नलिएसम्म आन्दोलन जारी राख्ने बताउनुभयो ।

उहाँले मेडिकल काउन्सिलका प्रतिनिधि पनि अस्पताल प्रशासनसँग मिलेको आरोप लगाउनुभयो । रुघाखोकी र ज्वरो आएको नानीलाई अस्पतालले सामान्य परीक्षणसमेत नगराई औषधि दिएका कारण मृत्यु भएको उहाँको भनाइ छ । 

गौतमले हिमाल अस्पतालमा छोरी प्रशंसाको परीक्षण गराउँदा पाँचौँ दिन एक्सरे गर्दा फोक्सोको ६० प्रतिशत भागमा पानी जमेको पाइएपछि चिकित्सक यादवले पीआईसीयू नभएको भन्दै कान्ति बाल अस्पतालमा रिफर गरेको बताउनुभयो । रिफर गरिएको चिठीमा चिकित्सक यादवले आफ्नो हस्ताक्षर नगरेको उहाँको भनाइ छ ।