• १३ साउन २०८१, आइतबार

बक्यौता नतिरे उडान तालिका स्वीकृत नहुने

blog

काठमाडौँ, फागुन १४ गते । नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिकतर्फका हवाई कम्पनीले त्रिभुवन अन्तर्राष्ट्रियसहित विभिन्न विमानस्थलमा तिर्नुपर्ने बक्यौता नतिरेसम्म नयाँ उडान तालिका स्वीकृत नगर्ने भएको छ ।

चैत १८ गतेदेखि लागू हुने गर्मीयामका उडान तालिकाअनुसार आन्तरिकतर्फका नौवटा हवाई सेवा कम्पनी र ११ वटा हेलिकोप्टर कम्पनीलाई नयाँ तालिकाका लागि स्वीकृति लिनुअघि अनिवार्य बक्यौता तिर्न निर्देशन दिएको हो । प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार नयाँ तालिका स्वीकृतिका लागि सबै विमानस्थलमा बक्यौता नतिरे उडान अनुमति नपाइने निर्णय भएको हो । 

विमानस्थलका सेवा सुविधा प्रयोग गरेबापत विभिन्न विमान कम्पनीले बुझाउनुपर्ने शुल्क समयमा नतिरेपछि प्राधिकरणले उडान तालिका स्वीकृति लिँदा नै कडाइ गर्न लागेको उहाँले बताउनुभयो ।

हेलिकोप्टर र हवाई कम्पनीले बुझाउन बाँकी  बक्यौता रकम यही फागुन १६ गतेभित्र बुझाउन निर्देशन जारी भएको उहाँले बताउनुभयो ।

प्राधिकरणका अनुसार हवाई सेवातर्फ नेपाल वायुसेवा निगम, बुद्ध एयर, श्री एयरलाइन्स, यती एयरलाइन्स, समिट एयर, तारा एयर, गुण एयरलाइन्स, सीता एयरलाइन्स र सौर्य एयरलाइन्सले बक्यौता तिर्न बाँकी छ । 

त्यस्तै हेलिकोप्टरतर्फ एयर डाइनेस्टी, अल्टिच्युड, हेली एभरेस्ट, माउन्टेन हेलिकोप्टर्स, फिस्टेल एयर, सिम्रिक एयर, मनाङ एयर, कैलाश हेलिकोप्टर, श्री एयरलाइन्स, प्रभु हेलिकोप्टर्स र मुस्ताङ हेलिकोप्टरको बक्यौता रहेको प्राधिकरणले जनाएको छ ।

पछिल्लो समय व्यापार घटेको भन्दै ती कम्पनीले विमानस्थललाई कर तथा सेवा शुल्क बुझाउन आलटाल गर्दै आएका छन् । कुन हवाई तथा हेलिकोप्टर कम्पनीको कति बक्यौता छ भन्नेबारे सबै विमानस्थलबाट सूचना सङ्कलन गरिरहेको र केही दिनभित्रै तथ्याङ्क सार्वजनिक गर्ने प्राधिकरणको तयारी छ ।

बाह्य उडानमा रहेका हवाई कम्पनीले बुझाउनुपर्ने बक्यौतासमेत सङ्कलन भइरहेको छ । हाल नेपालमा एक दर्जनभन्दा बढी विदेशी विमान सेवा, नेपालबाट नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सले अन्तर्राष्ट्रिय उडान गर्दै आएको छ । यस्तै आन्तरिक उडानमा बुद्ध, यती, श्री, सौर्य, तारा, सीता र समिट एयरले उडान गर्दै आएका छन् । 

चालक दललाई उडानमा रोक

प्राधिकरणले विमान परिचारिकामाथि दुव्र्यवहार गर्ने नेपाल वायुसेवा निगमका चालक दललाई उडानमा रोक लगाएको छ । 

गत साउन १२ गते मलेसियाको क्वालालम्पुरबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका लागि उडान भरेको निगमको न्यारोबडी जहाजमा निगमका पाइलट र को–पाइलटले विमान परिचारिकामाथि गैरव्यावसायिक कार्य तथा दुव्र्यवहार गरेको भन्दै प्राधिकरणमा उजुरी परेको थियो ।