• १३ साउन २०८१, आइतबार

सहकारीका समस्या समाधान गर्न पहल

blog

विष्णुप्रसाद पोखरेल

दमक, फागुन १४ गते । झापाको दमकमा सेवा केन्द्र खोलेको तुलसी बहुउद्देश्यीय सहकारी संस्थाले बचतकर्ताको निक्षेप फिर्ता नगरेपछि सबै सहकारीप्रति नै विश्वास सङ्कटमा परेको छ । बचतकर्ताको रकम फिर्ता गर्न नसकेर तुलसी सहकारीले आफ्नो सेवा केन्द्र नै बन्द गरेको छ भने अन्य सहकारी संस्थामा समेत रकम फिर्ता माग्ने बचतकर्ताको सङ्ख्या बढ्न थालेको छ । 

सहकारी क्षेत्रमै समस्या देखिन थालेपछि दमक नगरपालिकाले सहकारीका अगुवा तथा यस विषयमा जानकारसँग छलफल सुरु गरेको छ । बढी ब्याज तथा सेवा दिने भन्दै सहकारीले करोडौँ रुपियाँ निक्षेप उठाएको र अवधि पुगे पनि निक्षेप फिर्ता गर्न नसकेपछि निक्षेपकर्ताले उजुरी लिएर दमक नगरपालिका पुगेका छन् । 

सदस्यबाट निक्षेप सङ्कलन गरी सदस्यमा नै लगानी गर्नुपर्नेमा तुलसी सहकारीले अन्य क्षेत्रमा लगानी गरेको खुलेको प्रारम्भिक अनुसन्धानमा भेटिएको बताइएको छ । पाँच वर्षमा दोब्बर ब्याज दिनेसहितका लोभ देखाएर बचत धेरै लिने र त्यो बचत सदस्यमा नभएर अन्यत्र लगानी गर्दा जोखिम बढेको हो । 

दमक नगरपालिकाले सहकारीकर्मी तथा सरोकारवालासँग छलफल र परामर्श सुरु गरेको दमक नगरपालिका उपप्रमुख रेगिना भट्टराईले बताउनुभयो । नियमसङ्गत चलेका र बलिया सहकारी संस्थाप्रति पनि बचतकर्ता सदस्यको अविश्वास बढेमा यसले निम्तन सक्ने खतराको विषयमा सहकारीका अगुवा तथा जानकारले सचेत रहन सुझाव दिएको उहाँले जानकारी दिनुभयो ।