• १३ साउन २०८१, आइतबार

नेपाललाई ओलीको पत्र

blog

काठमाडौँ, फागुन १४ गते । नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले राष्ट्रपति निर्वाचनमा सहयोग गर्न नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)लाई पत्र पठाएको छ। 

आफ्नो पार्टीका तर्फबाट उम्मेदवार बनाइएका सुवासचन्द्र नेम्वाङको पक्षमा मतदान गर्न आग्रह गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले नेकपा (एस)का अध्यक्ष माधवकुमार नेपाललाई शनिबार पत्र पठाउनुभएको हो। 

नेकपा (एमाले) प्रचार विभाग सचिव गगन विष्टले राष्ट्रपति निर्वाचनमा सहयोग गर्न संसद्मा रहेका दललाई पत्र पठाउने पार्टी सचिवालय बैठकको निर्णयअनुसार पत्र पठाइएको जानकारी दिनुभयो।

नेकपा (एस)लाई पहिलो पटक पत्र पठाएको मात्रै नभएर यो प्रक्रिया नै पहिलो पटक भएकाले संसदीय दलको हिसाबले पत्र पठाएको उहाँले बताउनुभयो। सचिवालय बैठकले कांग्रेसबाहेक सबै दलसँग सहयोग माग्दै पत्र लेख्ने निर्णय गरेअनुसार एमालेले नेकपा (एस)लाई पत्र पठाएको हो। 

पत्रमा आमनिर्वाचनको नयाँ जनादेशअनुरूप पुस १० गते सरकार गठनका सन्दर्भमा भएको सहमतिअनुसार फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनमा आफ्नो पार्टीले उम्मेदवारी दर्ता गरेको उल्लेख गरिएको छ। नेपालको संविधानको मर्म र भावनाअनुरूप नेम्वाङ राष्ट्रपति पदका लागि अत्यन्त योग्य एवं उपयुक्त उम्मेदवार भएको पत्रमा दाबी गरिएको छ। 

“राष्ट्रिय सभा, प्रतिनिधि सभा र प्रदेश सभाका सदस्य मतदाता हुने यस निर्वाचनमा तपाईंको पार्टीका तर्फबाट नेम्वाङको पक्षमा मतदानका लागि पूर्ण सहयोग प्राप्त हुने विश्वाससाथ अनुरोध गरिएको,” पत्रमा उल्लेख छ। 


सहमतिबमोजिम हुनेमा ओली विश्वस्त

सुवास नेम्वाङले उम्मेदवारी दिएपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले संविधानको रक्षा र सही कार्यान्वयन तथा सफल प्रयोगका लागि उम्मेदवारी दिएको दाबी गर्नुभयो। उहाँले भन्नुभयो, “हाम्रो उम्मेदवारी स्वीकार्य मात्र होइन, स्वागतयोग्य हुनेछ र हरेक मतदातालाई मतदानका निम्ति प्रेरित गर्ने विश्वास लिएको छु।”

अध्यक्ष ओलीले गत पुस १० गतेको सहमतिबमोजिमै राष्ट्रपतिमा उम्मेदवारी दिइएको र सहमतिसम्बद्ध सबै पक्षले गरेको प्रतिबद्धताबाट पछि नहट्ने विचार व्यक्त गर्नुभयो। चक्र नै पूरा नभई सहमति कार्यान्वयन नहुने कुरा हल्ला मात्रै रहेको उहाँले दाबी गर्नुभयो। ओलीले भन्नुभयो, “तर सरकार गठन हुँदाको अवस्थाभन्दा बाहिरी रूपमा केही भिन्नता देखिएका छन्।”