चालू आर्थिक वर्षको पहिलो त्रैमास (साउन–असोज)मा नेपालले शून्य दशमलव ८ प्रतिशत मात्र आर्थिक वृद्धिदर हासिल गरेको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको कुल गार्हस्थ्य उत्पादनको त्रैमासिक विवरणअनुसार समीक्षा अवधिमा न्यून मात्र आर्थिक वृद्धि भएको हो । यो २०७२ सालको भूकम्पपछिको भन्दा कम हो ।
जाजरकोट अस्पतालमा औषधीको अभाव भएको छ । अस्पतालमा औषधी अभाव हुँदा बिरामीहरू समस्यामा परेका छन् । दैनिक पुर्जी लिएर औषधी किन्न फार्मेसीमा बिरामी पुगे पनि औषधी पाउन सकेका छैनन् । अस्पतालको फार्मेसीमा औषधी नभएपछि नजिकै अस्पतालकै कर्मचारीले स्थापना गरेको क्लिनिकमा औषधी खरिद गर्न बिरामी बाध्य हुनु परेको छ ।
वैदेशिक रोजगारीसम्बन्धी कम्पनी (म्यानपावर कम्पनी)लाई अन्तर्राष्ट्रिय नैतिक भर्ना प्रणाली (आइरिस)मा सूचीकृत हुन आग्रह गरिएको छ । उक्त प्रणालीमा सूचीकृत नहुँदा वैदेशिक रोजगारीमा रहेका श्रमिकले अनेकौँ जोखिम लिनुपर्ने भएकाले सन् २०२५ सम्ममा नेपालमा रहेका सबै वैदेशिक रोजगार कम्पनीलाई सो प्रणालीमा अनिवार्य सूचीकृत हुन आग्रह गरिएको हो ।
मुगुको छायानाथ रारा नगरपालिकाले सदरमुकाम गमगढी बजारमा सार्वजनिक जग्गा मिचेर बनाइएका अवैध संरचना भत्काउन सुरु गरेको छ ।
महाशिवरात्रि (फागुन ६ गते)का अवसरमा आयोजना गरिएको दार्चुलाको गोकुलेश्वर मेलामा स्थानीय उत्पादनको राम्रो कारोबार भएको छ । दार्चुलाको सबभन्दा ठूलो गोकुलेश्वर मेला हरेक वर्ष महाशिवरात्रिदेखि एक हप्तासम्म लाग्ने गर्छ । शिवरात्रिको दिन पूजाआजामा सहभागी हुने दर्शनार्थीले पूजाआजापछि स्थानीय उत्पादन खरिद–बिक्री गरी लैजाने गरेका छन् । स्थानीय उत्पादनको बजार प्रवद्र्धनमा गोकुलेश्वर मेलाले महत्वपूर्ण योगदान पु-याएको स्थानीय व्यापारी तोयराज जोशीले बताउनुभयो ।
स्वर्गीय गायक तथा कलाकार जयनन्द लामाको जन्मभूमि बाह्रबिसे नगरपालिका–३ धार्पाको थिङटोलमा १२ फिटको सालिक निमार्ण गरिएको छ । लामाको परम्परागत पोसाकमा डम्फु लिएर नाच्दै गरेको सालिक निमार्ण गरिएको छ ।
लामो समयदेखि पानी नपर्दा अन्न बाली तथा तरकारीका बोट सुक्न थालेपछि कपिलवस्तुका किसान चिन्तित भएका छन्। पानी नपर्दा हिउँदे बाली तथा तरकारीको बोटसमेत सुक्न थालेका छन्। यो वर्ष हिउँदे बाली गहुँ, तोरी, आलु, तरकारी तथा अरू बालीको उत्पादन घट्ने चिन्ता भएको कपिलवस्तु नगरपालिका–६ का राधेश्याम यादवले गुनासो गर्नुभयो। गहुँ र तोरीलाई खोलाबाट पानी ल्याएर सिँचाइ गरे पनि सबै ठाउँमा पानी पु-याउन नसकिएको उहाँको भनाइ छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अति कम विकसित मुलुकहरूको सम्मेलनमा सहभागी हुन यही फागुन १९ गते कतार जाने कार्यक्रम स्थगित भएको छ । प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले प्रधानमन्त्रीको कतार जाने कार्यक्रम स्थगित भएको जानकारी दिनुभयो ।
चुनढुङ्गा खानीले पानीको मुहान पुरेपछि यहाँका बासिन्दा पिउने पानीबाट वञ्चित भएका छन्। निस्दी गाउँपालिका–७, ज्यामिरेमा होङ्सी सिमेन्ट प्रालिले उत्खनन गरेको (बेल्ट कन्भेयर) सुरुङले खानेपानीको मुहान पुरेपछि स्थानीय बासिन्दा चार महिनादेखि पिउने पानीबाट वञ्चित भएका हुन्। विगत पाँच वर्षदेखि ज्यामिरेमा होङ्सी सिमेन्ट प्रालिको चुनढुङ्गा खानी सञ्चालनमा रहेको छ। एक वर्षअघिदेखि चुनढुङ्गा ढुवानीका लागि ज्यामिरे क्षेत्रमा पाँच किलोमिटर लामो (बेल्ट कन्भेयर) सुरुङ खनिरहेको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्ति प्रक्रियाका बाँकी काम छिट्टै सम्पन्न गरिने बताउनुभएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार आयोजित जनयुद्धका शहीद तथा बेपत्ता योद्धाका परिवारसँगको अन्तक्र्रियामा उहाँले सत्य निरूपण तथा मेलमिलापसम्बन्धी विधेयक अन्तिम चरणमा पुगेको समेत जानकारी दिनुभयो।
नेपाल वायुसेवा निगमको ए ३२०–२०० सिरिजको न्यारो–बडी जहाज दुबईमा ग्राउन्डेड भएको छ। आइतबार दुबईबाट काठमाडौँ आउने तयारीका क्रममा इन्जिनको दायाँ भागमा ओभर हिट भएपछि ग्राउन्डेड गरिएको हो। निगमका प्रवक्ता अर्चना खड्काका अनुसार आइतबार बिहान १० बजे काठमाडौँ अवतरण गरिसक्नुपर्ने जहाजमा प्राविधिक समस्या देखिएपछि ग्राउन्डेड भएको हो।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सोमबार केन्द्रीय समिति बैठक बोलाएको छ। वर्तमान राजनीतिक समीकरण, राष्ट्रपति निर्वाचन र चितवन–२ को उपनिर्वाचनलगायतका विषयमा छलफल गर्न बैठक बोलाइएको रास्वपाका उपाध्यक्ष डोलप्रसाद अर्यालले जानकारी दिनुभयो।
कक्षा नौमा अध्ययनरत विद्यार्थीले वार्षिक परीक्षामा ३५ प्रतिशत नल्याए माथिल्लो कक्षा चढ्न नपाउने भएका छन्। विद्यार्थीको उपलब्धि मूल्याङ्कनका लागि पाठ्यक्रम विकास केन्द्रले कार्यान्वयनमा ल्याएको लेटर ग्रेडिङ निर्देशिका, २०७८ ले यस्तो व्यवस्था गरेको हो।
बाटो नै नभएको ठाउँमा पुल बनाएर जनताको करको दुरुपयोग गरेको आरोपमा गण्डकी प्रदेश सरकारका तत्कालीन सचिवसहित तीन जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले गण्डकी प्रदेशको भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात मन्त्रालयका तत्कालीन सचिव ईश्वरचन्द्र मरहट्ठा, सोही मन्त्रालयअन्तर्गतको प्रदेश सडक निर्देशनालयका तत्कालीन निमित्त निर्देशक रामकुमार श्रेष्ठ र पूर्वाधार विकास कार्यालय गोरखाका सिनियर डिभिजनल इन्जिनियर ओमराज ढुङ्गानाविरुद्ध विशेष अदालतमा आइतबार भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
नेपाली सेनाद्वारा आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आपत्कालीन कार्ययोजनाको एकीकृत अभ्यास सम्पन्न गरेको छ।