• ९ पुस २०८१, मङ्गलबार

छायानाथ राराको अवैध संरचना भत्काइँदै

blog

छायानाथ रारा नगरपालिकाका कर्मचारी अवैध संरचना हटाउँदै । तस्बिर हरिकृष्ण ऐडी

हरिकृष्ण ऐडी 

मुगु, फागुन १५ गते । मुगुको छायानाथ रारा नगरपालिकाले सदरमुकाम गमगढी बजारमा सार्वजनिक जग्गा मिचेर बनाइएका अवैध संरचना भत्काउन सुरु गरेको छ ।

पटक–पटक सूचना जारी गदै सार्वजनिक जग्गा मिचेर बनाइएका संरचना हटाउन आग्रह गरे पनि स्थानीयले अटेरी गरेपछि शुक्रवार छायानाथ रारा नगरपालिकाले आफै अवैध संरचना भत्काउन थालेको हो ।

गत असोज १४ गते पहिलो पटक ३५ दिने सूचना जारी गर्दै गमगढी बजार साँघुरो भएको र सार्वजनिक जग्गा मिचेर बनाइएका संरचना घर, भर्याङ, बार्दली, रेलिङलगायत हटाउन आग्रह गरेको थियो । पहिलो सूचनामा संरचना नहटाइए पछि नगरपालिकाले मङ्सिर ९ गते र पुस २१ गते दोस्रो र तेस्रो पटक सूचना जारी गरेको थियो। त्यस लगत्तै सर्वदलीय बैठक बसी सार्वजनिक जग्गामा बनाइएका संरचनाको चिन्ह लगाउने काम गरिएको थियो । अवैध संरचना हटाउन अटेरी गरेपछि पुनः फागुन ५ गते अन्तिम सूचना जारी गरेको नगरपालिकाले आफै संरचना भत्काउन लागेको छायानाथ रारा नगरपालिकाका नगरप्रमुख विष्णुकुमार भामले बताउनुभयो ।

यो कार्य कुनै स्वार्थका लागि नभई सुन्दर गमगढी बजार बनाउनको लागि यो कार्य गरिएको उहाँको दाबी छ । सार्वजनिक जग्गा मिचेर बनाइका संरचना हटाउन बारम्बार आग्रह गर्दा पनि सुनुवाइ नभएपछि जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय त्यसै गरी सशस्त्र प्रहरी कार्यालयको सहकार्यमा नगरपालिकाले अवैध संरचना भत्काउने काम गरेको उहाँको भनाइ छ ।

सार्वजनिक जग्गामा निर्माण भएका घरहरूको लागि पुनः सम्बन्धित घरमा १५ दिने सूचना टाँस गरेको र १५ दिनसम्म पनि सार्वजनिक जग्गामा भएका घर नहटाएमा नगरपालिकाले डोजर लगाएर भत्काउने नगरप्रमुख भामको भनाइ छ । साँघुरो बजारमा आवतजावत गर्न समस्या र आगलागीको जोखिमलगायत एम्बुलेन्स दमकल बजारमा लिन समस्या हुने गरेको स्थानीय राम बहादुर बुढाले भन्नुभयो ।

बजारमा सार्वजनिक जग्गा मिचेर बनाएका संरचना भत्काउन थालेपछि बजारको सडक फराकिलो भएको र अब यातायात आउजाउ गर्न सहज हुने उहाँको बुझाइ छ ।