• ९ पुस २०८१, मङ्गलबार

जाजरकोटमा औषधी अभाव

blog

सहदेव बस्नेत

जाजरकोट, फागुन १५ गते । जाजरकोट अस्पतालमा औषधीको अभाव भएको छ । अस्पतालमा औषधी अभाव हुँदा बिरामीहरू समस्यामा परेका छन् । दैनिक पुर्जी लिएर औषधी किन्न फार्मेसीमा बिरामी पुगे पनि औषधी पाउन सकेका छैनन् । अस्पतालको फार्मेसीमा औषधी नभएपछि नजिकै अस्पतालकै कर्मचारीले स्थापना गरेको क्लिनिकमा औषधी खरिद गर्न बिरामी बाध्य हुनु परेको छ । 

कर्णाली प्रदेश सरकारको मातहतमा रहेका अस्पतालमा एक साता देखि अस्पतालमा औषधीको अभाव भएको हो । टेन्डर प्रक्रिया पुरा गरी वर्ष भरिलाई पुग्ने औषधि खरिद गर्नुपर्ने प्रक्रिया पुरा नगरेका कारण पटट÷पटक अस्पतालमा औषधीको अभाव हुने गरेको  जनाएको अस्पतालका एक कर्मचारीले जानकारी दिनुभयो । 

नेपाल सरकारले तोकेबमोजिम ९८ प्रकारका औषधी सरकारी स्वास्थ्य संस्थामा निःशुल्क पाइन्छ । हाल जिल्ला अस्पतालमा २०–३० प्रकारका औषधी मात्र छन् । बिमा गरेका बिरामीले सबैभन्दा बढी समस्या खेपेका छन् । ‘उपचारमा केही सहज होला भनेर बिमा गरियो तर अस्पतालमा औषधि पाइएन’ मेडिकलमा गएर महँगो औषधी किन्नुपरेको भेरी नगरपालिका ४ की २९  बर्षीया सरस्वती विकले गुनासो गर्नुभयो ।

उता स्वास्थ्य सेवा कार्यालयका प्रमुख नवराज कँडेलले खरिद प्रक्रिया अगाडि बढेको जानकारी दिनुभयो ।