पछिल्लो समय आन्तरिक पर्यटकसँगै लुम्बिनीमा भारतीय र तेस्रो मुलुकका पर्यटक आउनेक्रम बढेको छ । यसै क्रममा पछिल्लो पाँच महिना अर्थात् २०२३ को जनवरीदेखि मे महिनासम्म कूल चार लाख ७० हजार पाँच सय ४२ बढी पर्यटक लुम्बिनी भित्रिएका छन् ।
प्रधानमन्त्रीको भारत भ्रमणपछि अब नेपाल–भारत सीमा क्षेत्र बेलहिया–सुनौली नाकामा एकीकृत जाँच चौकी (आइसिपी) निर्माण हुने आशा पलाएको छ । निजी क्षेत्रले अब भने आइसिपी निर्माणको आशा पलाएको भन्दै कामले गति लिने अपेक्षा गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमणका क्रममा आइसिपी उद्घाटन भएको थियो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री दाहालले आइसिपी संयुक्त रूपमा उद्घाटन गरेकाले लामो समय अन्योलमा रहेको आइसिपी निर्माणले गति लिने अपेक्षा निजी क्षेत्रमा छ ।
पृथ्वी राजमार्गको मुग्लिन–मलेखु सडकखण्ड विस्तार सुरु भएको छ। छ महिनाअघि ठेक्का सम्झौता भए पनि सडक विस्तारको काम भने यही जेठ महिनाबाट मात्रै सुरु भएको हो। नागढुङ्गा–मुग्लिन सडक आयोजना अन्तर्गत पश्चिम खण्डको मुग्लिन–मलेखु सडकखण्डको स्तरोन्नतिको कामलाई तीव्रता दिएको छ। सडकको दायाँबायाँ पर्खाल लगाउने, फराकिलो पार्न सीमा रेखा तयार पार्ने, सडक क्षेत्रमा परेका घर टहरा हटाउने काम भएको छ।
कालीकोटको फुकोट कर्णाली अर्धजलाशययुक्त जलविद्युत् आयोजनाको ५१ प्रतिशत सेयर भारतीय कम्पनीले लिएको छ । गएको बुधबारबाट चार दिवसीय भारत भ्रमणमा जानुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले फुकोट कर्णाली अर्धजलाशययुक्त आयोजनाको ५१ प्रतिशत सेयर दिने सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको थियो । उक्त सम्झौताप्रति सत्ता गठबन्धनका नेताहरूले समेत विरोध जनाएका छन् ।
केही संस्था वा व्यक्तिले भ्रमण भिसाका विभिन्न मुलुकमा आकर्षक तलब र सेवासुविधा उपलब्ध गराउने भन्दै नेपाली युवालाई ठगी गरेकोप्रति वैदेशिक रोजगार विभागको ध्यानाकर्षण गराएको छ । विभागले विज्ञप्तिमार्फत नेपाली युवालाई युरोपका विभिन्न देशमा लगेर अलपत्र पारेका उजुरी आउने क्रम बढेकाले यसप्रति ध्यानाकर्षण भएको जनाएको हो ।
आगामी आर्थिक वर्षको बजेटमार्फत भन्सार महसुल वृद्धि गर्ने सरकारको नीतिले उद्योग बन्द हुने अवस्थामा पुगेको घिउ तेल उद्योगीले बताएका छन् । नेपाल वनस्पति घिउ तेल उद्योग उत्पादक सङ्घले सोमबार राजधानीमा पत्रकार सम्मेलन गरेर सरकारको नीतिले २६ घिउ तेल उद्योग बन्द हुने अवस्था सिर्जना भएको बताएका हुुन् ।
बजेट वक्तव्यमार्फत जिल्ला निर्वाचन कार्यालयहरूको खारेजी गर्ने व्यवस्थाबारे निर्वाचन आयोगले सरकारको ध्यानाकर्षण गराएको छ । आयोगसँग सम्बन्धित विषयमा छलफल गर्न उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ सोमबार निर्वाचन आयोग पुग्नुभएको थियो । कार्यालय खारेजीसम्बन्धी प्रस्तावबारे प्रधानमन्त्री र अर्थमन्त्रीसँग समेत छलफल गर्ने आयोगले जनाएको छ ।
वन तथा वातावरणमन्त्री डा. वीरेन्द्रप्रसाद महतोले पुराना तथा बढी धुवाँ फाल्ने सवारीसाधन विस्थापित गर्न र युरो–३ मापदण्डभन्दा माथिका सवारी आयात हुने गरी प्रतिवेदन तयार गर्न निर्देशन दिनुभएको छ ।
बागलुङ जिल्लाको ताराखोला गाउँपालिका १ मा पर्ने गाईघाट झरना ।
उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचार विरोधी अभियानलाई सरकारले अगाडि बढाएको बताउनुभएको छ ।
ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकाले उत्कृष्ट विद्यार्थी, शिक्षक र विद्यालयलाई पुरस्कृत गरेको छ । शैक्षिक क्षेत्रको विकासमा टेवा गर्ने उद्देश्यसहित गाउँपालिकाले पालिकाभित्रका उत्कृष्ट विद्यार्थी, शिक्षक र विद्यालयलाई सम्मान तथा पुरस्कृत गरिएको हो ।
एपीएफ क्लबका प्रिन्स दाहाल र पुलिस क्लबका विष्णु कटुवालले १६औँ राष्ट्रव्यापी कृष्णमोहन स्मृति खुला ब्याडमिन्टन प्रतियोगितामा सफलता हात पार्नुभएको छ ।
‘‘प्लाष्टिक प्रदूषण निर्मूल पारौँ, वातावरणमैत्री विकल्पको उपयोग गरौँ’’ मूल नाराकासाथ सप्तरीमा विश्व वातावरण दिवसको अवसरमा सचेतना कार्यक्रम गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय कालीकोटले लागुऔषध प्रयोगकर्ताको पहिचानका लागि किट प्रयोगमा ल्याएको छ । मान्मबजारमा लागुऔषध दुर्व्यसनी बढिरहेको आशङ्का प्रहरीले गरेपछि केही शङ्कास्पद युवाको परीक्षण गर्न दुई वटा कम्पनीको किट प्रयोग गरिरहेको छ ।
सप्तरीको महादेवा गाउँपालिका –१ को चिम्टिमा प्रधानमन्त्री रोजगार कार्यक्रमको शुभारम्भ भएको छ । वडा १ को चिम्टि टोलमा रहेको चन्द्र नहरको पैनीको मर्मत सम्भारको साथै पकरी स्वास्थ्य चौकीको प्राङ्गणको सरसफाइ, बाटोमा माटो पुर्ने तथा मर्मत लगायतको काम सुरुभएको हो ।