• ११ वैशाख २०८१, मङ्गलबार

युवालाई युरोपको आकर्षण देखाई हुने ठगी बढ्दो

blog

काठमाडौँ, जेठ २३ गते । केही संस्था वा व्यक्तिले भ्रमण भिसाका विभिन्न मुलुकमा आकर्षक तलब र सेवासुविधा उपलब्ध गराउने भन्दै नेपाली युवालाई ठगी गरेकोप्रति वैदेशिक रोजगार विभागको ध्यानाकर्षण गराएको छ ।  

विभागले विज्ञप्तिमार्फत नेपाली युवालाई युरोपका विभिन्न देशमा  लगेर अलपत्र पारेका उजुरी आउने क्रम  बढेकाले यसप्रति ध्यानाकर्षण भएको जनाएको हो । 

विभागका अनुसार शैक्षिक परामर्शनका लागि खोलिएका कन्सल्टेन्सी, व्यक्तिले फेसबुक, युट्युबमार्फत फिलिपिन्स, माल्टा, इजरायललगायतका देशमा आकर्षक तलबको प्रलोभन देखाउने, ठूलो परिणाममा रकम असुल गर्ने र युवालाई अवैध ढङ्गबाट पठाई विदेशमा अलपत्र पार्ने घटना बढ्दै गएको छ । 

सरकारबाट अनुमति नभएका संस्था वा व्यक्तिको कुरालाई विश्वास गरी विदेश नजान आमयुवालाई आग्रह गर्दै यसरी ठगी गर्ने संस्था वा व्यक्तिलाई कानुन अनुसार हदैसम्म कारबाही हुने विभागका प्रवक्ता गुरुदत्त सुवेदीले बताउनुभयो । विभागले ठगी नियन्त्रणका लागि अनुगमनलाई तीव्रता दिने, अनलाइनमार्फत उजुरी दिन सकिने, सामाजिक सञ्जालमाथि निगरानी बढाउनेलगायतका कार्य बढाउन थालेको पनि उहाँको भनाइ छ । 

विभागका अनुसार हाल विभागका तीन जना निर्देशकको नेतृत्वमा अनुगमन समिति बनेको छ । 

अर्को सातादेखि समितिलाई परिचालन गरेर अनुगमन थालिने छ । त्यस्तै अनलाइनमार्फत समेत उजुरी दिन मिल्ने व्यवस्था गर्न लागिएको छ । विभागले हाल अनलाइनमार्फत श्रम स्वीकृति, पुनः श्रम स्वीकृतिको मात्र काम गर्दै आएको छ । 

वैदेशिक रोजगारीसम्बन्धी आउने उजुरीलाई समेत अनलाइनमार्फत नै दिन मिल्ने बनाउन लागिएको विभागले जनाएको छ । वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (फेमिस) मार्फत श्रमसम्बन्धी काम हुँदै आएको छ ।

अहिले संस्थागतभन्दा बढी व्यक्तिगत रूपमा ठगीका घटना आइरहेको विभागका निर्देशक सुवेदीको भनाइ छ । कन्सल्टेन्सीबाट हुने ठगीका घटनासमेत दिनप्रतिदिन बढिरहेको उहाँले बताउनुभयो ।