• १३ वैशाख २०८३, आइतबार

लामाडाँडा सुरक्षित पानीको प्रतीक्षामा

blog

निर्माणाधीन योजनास्थलमा पुगेर कामको प्रगति विवरण लिँदै नगरपालिकाको टोली । तस्बिर : शंकर केसी

शंकर केसी
सल्यान, वैशाख १३ गते ।
योजनाको करिब ७५ प्रतिशत काम सम्पन्न भएसँगै सल्यानको लामाडाँडाका बासिन्दा वर्षौंदेखिको खानेपानी समस्या समाधान हुने आशामा छन् । जिल्लाको बागचौर नगरपालिका–२, लामाडाँडामा वर्षौंदेखि झेलिँदै आएको खानेपानी समस्या अब समाधानको नजिक पुगेको हो ।

बागचौर नगरपालिकाको ‘एक घर, एक धारा’ अवधारणाअनुसार करिब ५९ लाख रुपियाँ लागतमा निर्माण भइरहेको यस आयोजनाबाट ४९ घरधुरी प्रत्यक्ष लाभान्वित हुने नगरपालिकाको वास इकाइले जनाएको छ । आयोजना सम्पन्न भएपछि प्रत्येक घरमा स्वच्छ, सुरक्षित र नियमित खानेपानीको पहुँच सुनिश्चित हुने अपेक्षा गरिएको छ । स्थानीयले दैनिक जीवन सहज बन्ने तथा सरसफाइ, स्वास्थ्य र समय व्यवस्थापनमा समेत सुधार आउने विश्वास व्यक्त गरेका छन् ।

शनिबार नगर प्रमुख जनकराज गौतमसहितको टोलीले आयोजनास्थलको अनुगमन गर्दै कामको प्रगति, गुणस्तर र समयसीमाबारे चासो व्यक्त गरेको छ । अनुगमनका क्रममा उपप्रमुख सुम्निमा डी।सी। वली, वडा नं. २ का वडा अध्यक्ष दिपेश डिसी, प्राविधिक टोली तथा सरोकारवालाको उपस्थिति रहेको थियो ।

अनुगमनपछि नगर प्रमुख गौतमले तोकिएको समयभित्र गुणस्तरीय रूपमा आयोजना सम्पन्न गर्न नगरपालिका प्रतिबद्ध रहेको बताउनुभयो । “लामो समयदेखि रहेको खानेपानी अभाव अन्त्य गर्दै हरेक घरमा सुरक्षित पानी पुर्‍याउने लक्ष्यसहित काम अघि बढाइएको छ,” उहाँले भन्नुभयो ।

निर्माण समितिका अध्यक्ष मदन बस्नेतका अनुसार बाँकी २५ प्रतिशत काम आगामी जेठ मसान्तभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । आयोजना सम्पन्न भएसँगै लामाडाँडाका बासिन्दाले वर्षौंदेखिको खानेपानी अभावबाट मुक्ति पाउने र जीवनस्तरमा सकारात्मक परिवर्तन आउने अपेक्षा गरिएको छ ।