अदानचुली (हुम्ला), वैशाख १३ गते । वैशाख लागेसँगै बिग्रिएको फोरजी टावर मर्मतपछि सञ्चालनमा आएको छ । सर्केगाड गाउँपालिका–६ छ्यागीमा रहेको भुब्रेलेखअन्तर्गत खातिलेखमा रहेको फोरजी रिपिटर टावर अवरुद्ध भएपछि प्रभावित क्षेत्रका स्थानीय करिब दुई सातादेखि इन्टरनेट सेवाबाट वञ्चित हुनुपरेको थियो । उक्त टावरले वैशाख १ गतेदेखि काम गर्न छाडेको थियो ।
सेवा अवरुद्ध भएपछि नेपाल टेलिकम सिमकोटको पहलमा प्राविधिक टोली परिचालन गरिएकामा शनिबार नेपाल टेलिकमका प्राविधिक उब्जन शाहीको नेतृत्वमा टोली सम्बन्धित स्थलमा पुगेर मर्मत सम्पन्न गरी फोरजी सेवा सुरु भएको हो । उक्त टावरको ब्याट्री ब्याकअपमा समस्या आउँदा इन्टरनेट सेवाले काम गर्न छाडेको र शनिबारदेखि टावरले काम गर्न थालेको उहाँले बताउनुभयो ।
टावर मर्मतपछि खार्पुनाथ–१, २ र ३ तथा सर्केगाड–१, २, ३ र ६ मा फोरजी इन्टरनेट सेवा पुनः सञ्चालन भएको सर्केगाड–७ का जीवन छत्यालले बताउनुभयो । सेवा सञ्चालनमा आएपछि स्थानीय बासिन्दालाई सञ्चार तथा इन्टरनेट प्रयोगमा सहज भएको छ । त्यस्तै, खार्पुनाथ–१ का लालबहादुर शाहीले सेवा पुनस्र्थापनाप्रति खुसी व्यक्त गर्दै भविष्यमा यस्ता समस्या दोहोरिन नदिन सम्बन्धित निकायलाई ध्यान दिन आग्रह गर्नुभयो । रासस