• १३ वैशाख २०८३, आइतबार

भारतीय पर्यटकले पोखरा भरिभराउ

blog

सन्तोष सुवेदी

कास्की, वैशाख १३ गते । पोखराका अधिकांश होटेल अहिले भारतीय पाहुनाले भरिभराउ छन् । पश्चिम एसियाको युद्धका कारण अन्य मुलुकमा बाधक बनेको बेला भारतीय पर्यटक पोखरा घुम्न आउने क्रम बढ्दो छ । पोखरामा आन्तरिकपछि धेरै भारतीय पाहुना हुने पर्यटन व्यवसायीको भनाइ छ । 

पर्यटन बोर्ड गण्डकीका प्रमुख मणिराज लामिछानेका अनुसार भारतीय पर्यटकको हिस्सा अहिले करिब ४० प्रतिशत रहेको छ । “भारतीय पर्यटक पोखरा धेरै नै आउने गर्छन् । सडकबाट आउने भारतीय पर्यटकले यहाँको पर्यटन क्षेत्रलाई चलायमान बनाएको छ,” उहाँले भन्नुभयो । 

यो समय भारतमा बढी गर्मी हुने भएकाले गर्मी छल्नका लागि पोखरा आउने गरेको लामिछानेको भनाइ छ । उहाँका अनुसार नेपाल भित्रने विदेशी पाहुनामध्ये २५ प्रतिशत भारतीय पर्यटक रहेका छन् । भारतीय पर्यटकका लागि पोखरा सहज र अनुकूल वातावरण भएकाले उनीहरूको रोजाइमा पर्ने गरेको उहाँले बताउनुभयो । 

भारतको विहारबाट आएका धेरै पर्यटक पोखरामा भेटिन्छन् । सडकमा पनि धेरै नै भारतीय सवारीसाधन गुडिरहेका छन् । पोखराको लेकसाइड, तालवाराही मन्दिर, पामे, पाताले छाँगो, गुप्तेश्वर महादेव गुफा, सराङकोट, विश्वशान्ति स्तूप, पुम्दीकोटको विशाल महादेवको मूर्तिलगायत पोखराआसपासका गन्तव्य भारतीय पर्यटकले भरिभराउ छ ।

पोखरा पर्यटन परिषद् (पिटिसी) का पूर्वअध्यक्ष पोमनारायण श्रेष्ठले विगतको भन्दा पर्यटकको सङ्ख्या बढ्दो क्रममा रहेको बताउनुभयो । सरकारले हप्तामा दुई दिन बिदा दिने निर्णयले पनि पर्यटन क्षेत्रमा सहजता निम्त्याएको उहाँले बताउनुभयो । “सरकारले दिएको दुईदिने बिदाले यहाँ घुम्न आउने पर्यटक हतारमा फर्कन खोज्दैनन् । एक रात बसेर पोखरा घुम्नका लागि बिदाले सहयोग गरेको छ,” उहाँले भन्नुभयो । 

पर्यटनको सुरुवाती सिजनमा खर्चालु पर्यटक भित्रिएकाले पर्यटन व्यवसायीले गुणस्तरीय सेवा दिनुपर्ने श्रेष्ठको धारणा छ । “अब पर्यटकलाई एउटै ठाउँ मात्र देखाएर हुँदैन । यहाँ आउने पर्यटकका लागि नयाँ गन्तव्य पनि पहिचान गर्न आवश्यक छ,” उहाँले भन्नुभयो । भारतमा पुगेर गरिएको ‘चलिए पोखरा’ कार्यक्रमले पनि त्यहाँका पर्यटक भित्र्याउन ठुलो सहयोग पुगेको उहाँले बताउनुभयो ।