काठमाडौँ, जेठ २३ गते । वन तथा वातावरणमन्त्री डा. वीरेन्द्रप्रसाद महतोले पुराना तथा बढी धुवाँ फाल्ने सवारीसाधन विस्थापित गर्न र युरो–३ मापदण्डभन्दा माथिका सवारी आयात हुने गरी प्रतिवेदन तयार गर्न निर्देशन दिनुभएको छ ।
उहाँले दक्षिण एसियाका मुलुकमा युरो–३ मापदण्डभन्दा माथिका सवारीसाधन चल्ने गरेको उल्लेख गर्दै एक हप्ताभित्र प्रतिवेदन तयार गर्न वातावरण विभागलाई निर्देशन दिनुभयो । विश्व वातावरण दिवसका अवसरमा विभागले सोमबार आयोजना गरेको कार्यक्रममा उहाँले मानवीय क्रियाकलापका कारण वातावरण प्रदूषण दिनहुँ बढ्दै गएकाले नियन्त्रण गर्न सबैले आफैँबाट सुरुवात गर्नुपर्ने बताउनुभयो ।
“नेपालमा अझै पनि युरो–३ मापदण्डका सवारीसाधन किन आयात भइरहेका छन्,” मन्त्री महतोले प्रश्न गर्नुभयो । उहाँले मन्त्रालय मातहतका निकायमा वातावरणसम्बन्धी काममा दोहोरोपन हुन नदिन अनुरोध गर्दै भन्नुभयो, “परिणाम देखिने गरी कार्यदिशा र योजना बनाउनुस् ।”
पूर्वमन्त्री गणेश साहले वातावरणको मुद्दा अब स्वास्थ्यको मुद्दा भएको बताउँदै सबै प्रकारका प्रदूषणमा प्लास्टिकको महत्वपूर्ण हिस्सा रहेको उल्लेख गर्नुभयो । उहाँले वातावरणसम्बन्धी विद्यमान कानुन परिमार्जन आवश्यक रहेको बताउनुभयो ।
प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका सचिव वैकुण्ठ अर्यालले मानिसका विभिन्न व्रिmयाकलापका कारण प्रकृति कुरूप बन्दै गएको बताउनुभयो । वातावरण संरक्षणतर्फ सबै सचेत हुनुपर्ने बताउँदै उहाँले प्लास्टिकजन्य प्रदूषण नियन्त्रणका लागि प्लास्टिकको पुनः प्रयोगमा जोड दिन आग्रह गर्नुभयो ।
विभागका महानिर्देशक शिवलाल तिवारीले वातावरण प्रदूषण नियन्त्रणका चुनौतीमध्ये प्लास्टिकजन्य प्रदूषण ठुलो चुनौतीका रूपमा रहेको बताउनुभयो । त्रिभुवन विश्वविद्यालयका प्राडा रेजिना मास्केले प्लास्टिकजन्य प्रदूषण नियन्त्रण र व्यवस्थापनका लागि प्लास्टिकको पुनः प्रयोग गरिनुपर्ने बताउनुभयो ।
वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रका कार्यकारी निर्देशक नवराज ढकालले यस्ता दिवसले जनचेतना बढाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउँदै वातावरण संरक्षणका लागि सबैको हातेमालो आवश्यक रहेकामा जोड दिनुभयो ।