जेनजी आन्दोलनका क्रममा ठुलो क्षति बेहोरेको निजी क्षेत्रको पुनर्जागृत हुने इच्छाशक्तिलाई सरकारले पनि साथ दिने बताएको छ । आइतबार आफ्नो कार्यभार समालेपछिको पहिलो सार्वजनिक सम्बोधनमा प्रधानमन्त्री सुशीला कार्कीले निजी क्षेत्रलाई सरकारले साथ दिने बताउनुभएको हो ।
सरकारले अनिवार्य दायित्वका भुक्तानी सुरु गरेको छ । गत बिहीबारदेखि भुक्तानी प्रणाली बन्द भएकोमा आइतबारदेखि अनिवार्य किसिमका भुक्तानी दिन सुरु गरिएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ ।
नयाँ सडक, असन, भोटाहिटी, इन्द्रचोकमा दसैँको किनमेल गर्नेको भिड लाग्न थालेको छ । जेनजी आन्दोलनले बन्द रहेका पसल शनिबारदेखि नै खुल्न थालेका छन् । जेनजी पुस्ताले गरेको आन्दोलनका कारण दसैँ नजिकिँदै गर्दा उद्योगी तथा होलसेल व्यवसायी प्रत्यक्ष मारमा परेका थिए ।
बाढीपहिरोले चीनतर्फका नाका बन्द हुँदा लामो समयदेखि नाकामै रोकिएका सामान मुस्ताङको कोरला नाकामा भित्रिन थालेका छन् । रसुवाको केरुङ र सिन्धुपाल्चोकको तातोपानी नाका बन्द भएपछि नेपाल ल्याउनका लागि कोरला नाकाबाट सामान भित्रिन थालेका हुन् ।
नेपाल राष्ट्र बैङ्कले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपियाँ ९५ पैसा र बिक्रीदर १४१ रुपियाँ ५५ पैसा कायम भएको छ ।
नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशमलाल चौधरी र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ सुमना श्रेष्ठले आइतबार पार्टी छोड्नुभएको छ । चौधरीले पार्टीलाई विधिविधानमा चलाउन नसकेपछि परित्याग गरेको जानकारी दिनुभयो ।
सार्वजनिक यातायातमा सुरक्षित र सहज यात्रा बनाउन तथा तत्काल गुनासो सम्बोधन गर्न यातायात व्यवस्था विभागका महानिर्देशकको संयोजकत्वमा उच्चस्तरीय यातायात व्यवस्थापन समिति गठन हुने भएको छ ।
सवारीचालक अनुमतिपत्र (लाइसेन्स) सम्बन्धी सम्पूर्ण कार्य बन्द भएको छ । यातायात व्यवस्था विभाग जेनजी आन्दोलनका क्रममा जलेर ध्वस्त भएपछि लाइसेन्सका सबै काम बन्द भएको हो ।
थारु समुदायका महिलाहरूले मनाउने मुख्य पर्वका रूपमा रहेको जितिया पर्व शनिवारदेखि सुरु भएको छ । तर, यस वर्ष अरु वर्षकोजस्तो रौनक छैन ।
‘जेनजी पुस्ता’ को आन्दोलनका कारण बन्द रहेका देशभरका चलचित्र भवन सोमबारदेखि खुल्ने भएका छन् । चलचित्र भवन सञ्चालक तथा चलचित्र वितरकको छाता संस्था नेपाल चलचित्र सङ्घको आज बसेको बैठकले दर्शक र चलचित्र भवनको सुरक्षामा ध्यान दिँदै सञ्चालनमा ल्याउने निर्णय गरेको हो ।
आजदेखि देशभर मौसम बदली सुरु भई ठाउँठाउँमा भारी वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आउँदो तीन दिन नै वर्षा हुने र यो खण्डित वर्षा हुने जनाएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले ‘जेनजी पुस्ता’को आन्दोलनमा सहभागी भई तोडफोड तथा आगजनीमा संलग्न भएको पुष्टि भएमा आफ्ना नेता तथा कार्यकर्तालाई कारबाही गर्ने भएको छ ।
राष्ट्रिय मानव अधिकार आयोग (एनएचआरसी) का सदस्य डा. सूर्यप्रसाद शर्मा ढुङ्गेलले पदबाट राजीनामा दिनुभएको छ।
दक्षिण पञ्जाबका केही भागहरूमा अत्यधिक वर्षापछि आएको बाढीका कारण करिब २५ लाख मानिसहरू विस्थापित भएका छन् ।
पेपल र सिटी ग्रुपसहितका अमेरिकी वित्त कम्पनीहरूले बेलायतमा एक अर्ब २५ करोड पाउन्ड (एक अर्ब ७० करोड डलर) लगानी गर्ने योजना सार्वजनिक गरेका छन्।