साहारा लिम्बू
फुङलिङ, पुस १८ गते । ताप्लेजुङको पाथीभरा (मुक्कुमलुङ) मा निर्माण भइरहेको केबुलकार निर्माणको विरुद्धमा फेरि आन्दोलनको घोषणा गरिएको छ । शुक्रबार फुङलिङमा मुक्कुमलुङ तान्सेप फासिङ चुम्भो तथा मुक्कुमलुङ संरक्षण अन्तरदलीय सङ्घर्ष समितिले पत्रकार सम्मेलनको आयोजना गरी आन्दोलनको घोषणा गरेको हो ।
विभिन्न दलसहित २३ संस्थाद्वारा गरिने आन्दोलन पुस २२ गतेदेखि माघ २० गतेसम्म हुने आयोजकले जनाएको छ । पुस २२ गते सबै जिल्लाका गाउँघरमा भेला भई छलफल गरिने पाथीभरा केबलकार खारेजी संयुक्त सङ्घर्ष समितिका संयोजक खगेन्द्र फेम्बूले जानकारी दिनुभयो।
यस्तै, माघ १२ गते पूर्वका विभिन्न जिल्लामा कोणसभा, माघ १४ गते मेची राजमार्ग र तमोर करिडोरमा विरोध प्रदर्शन, माघ १६ गते फुङलिङमा जनप्रदर्शन र कोणसभा, माघ १७ गते आन्दोलनमा घाइते भएकालाई सम्मान गर्ने कार्यक्रम रहेको संयोजक फेम्बूले बताउनुभयो । माघ १८ गते पाथीभरा क्षेत्रको कान्छी थानदेखी पाथीभरा (मुक्कुमलुङ) सम्म धागो टाङ्ग्ने कार्यक्रम छ।
माघ १९ गते पाथीभरा मन्दिर (मुक्कुमलुङ) मा विरोध प्रदर्शन र माघ २० विभिन्न जिल्लाका नगरपालिका, गाउँपालिका, वडामा निर्वाचनको एजेन्डा बनाएर अभियान सञ्चालन गर्ने कार्यक्रम छ । विगत ६ वर्षदेखि भइरहेको आन्दोलनलाई निरन्तरता दिन आन्दोलनका विभिन्न कार्यक्रम घोषण गरिएको मुक्कुमलुङ संरक्षण संयुक्त सङ्घर्ष समितिका संयोजक श्री लिम्बूले बताउनुभयो ।