• १८ पुस २०८२, शुक्रबार

विशेष महाधिवेशन आवश्यक छ : सहमहामन्त्री मन्सुर

blog

नेपाली कांग्रेसका सहमहामन्त्री फर्मुल्लाह मन्सुर । फाइल तस्बिर

काठमाडौँ, पुस १८ गते। नेपाली कांग्रेसका सहमहामन्त्री फर्मुल्लाह मन्सुरले पार्टीले नयाँ नेतृत्व, नीति र कार्यदिशासहित आसन्न निर्वाचनमा जानुपर्ने बताउनुभएको छ। 

शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो। उहाँले नियमित महाधिवेशनको औचित्य समाप्त भइसकेको भन्दै विशेष महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन गर्नुपर्ने धारणा राख्नुभयो। 

कांग्रेसभित्रका परिवर्तनविरोधी शक्तिको षड्यन्त्र चिर्न विशेष महाधिवेशन आवश्यक रहेको उहाँको भनाइ छ। उहाँले पार्टी महामन्त्री गगनकुमार थापालाई पार्टी सभापति तथा प्रधानमन्त्रीका लागि अघि सारेर कांग्रेस निर्वाचनमा जानुपर्ने प्रस्ताव पनि राख्नुभयो। 

उहाँले महाधिवेशन हुन नदिई पार्टी कब्जा गर्ने प्रयास स्वीकार्य नहुने बताउनुभयो। उहाँले आसन्न निर्वाचनमा आफ्ना मान्छेलाई टिकट बाँड्न नपाइने भएका कारण पार्टी नेतृत्व महाधिवेशन हुन नदिने पक्षमा रहेको आरोप पनि लगाउनुभयो। 

उहाँले पार्टीको विशेष महाधिवेशनको प्रक्रिया अघि बढिसकेका कारण नियमित महाधिवेशनको औचित्य समाप्त भइसकेको बताउनुभयो।