जिल्लाको सान्नीत्रिवेणी गाउँपालिकाले सामुदायिक विद्यालयको प्रधानाध्यापक छनोट खुला प्रतिस्पर्धाबाट गरेको छ । गाउँपालिका अध्यक्ष र जनप्रतिनिधिको नजिक भएको व्यक्तिले जिम्मेवारी पाउँदै आएको पुरानो परम्परालाई तोड्दै गाउँपालिकाले खुला प्रतिस्पर्धा गराएर प्रधानाध्यापकको छनोट गरेको हो । पूर्वजनप्रतिनिधि ध्वजबहादुर शाहीले पालिकाले यस्तै मन जित्ने र निःस्वार्थ काम गर्नुपर्ने सुझाव दिनुभयो । प्रधानाध्यापकको छनोट जुन असल नियतबाट भएको छ, त्यसप्रति धन्यवाद व्यक्त गर्दै उहाँले अन्य पालिकाले पनि यस्तै गर्नुपर्नेमा जोड दिनुभयो ।
पश्चिम सुर्खेतको चौकुने गाउँपालिका–७, अमलटाकुरास्थित कृषि क्याम्पसले सम्बन्धन नपाउँदा अत्याधुनिक भवन प्रयोगविहीन बनेको छ। कृषि क्याम्पस सञ्चालनका लागि सो स्थानमा २०७५ साल भदौदेखि भौतिक संरचना निर्माणको काम थालिएको थियो। हाल त्यहाँ दुई वटा भवन निर्माण सम्पन्न भएका छन्। उक्त प्रस्तावित क्याम्पस सञ्चालनका लागि बजेट जुटाउन महायज्ञ सञ्चालन गरिएको थियो। २०७६ साल कात्तिक २२ देखि २९ गतेसम्म महायज्ञ लगाएर डेढ करोड रकम सङ्कलन गरिएको थियो । सो रकम भवन निर्माणका लागि जग्गा खरिदमा खर्च गरिएको जनाइएको छ ।
महेन्द्रनगरकी श्वेता भट्ट भन्नुहुन्छ, इजरायलको लडाइ प्रत्यक्ष हेरे । यो मेरो पहिलो अनुभव हो जीवनकै । एकदमै खुसी छु । यो उद्धार प्रक्रिया यति छिटो हुन्छ भन्ने कल्पना पनि गरेको थिएन । हामी त बाँचेर आयौँ । बाँकी साथीहरूको पनि छिटो उद्धार होस । उहाँले सरकारसँग आग्रह गर्नुभयो । हामी अव देशमै केही गर्नुपर्छ भन्ने सन्देश यो घटनाले दिएको उहाँ बताउनुहुन्छ ।
इजरायलमा हमासको आक्रमणपछि बेपत्ता हुनुभएका बैतडीका विपिन जोशी अझै सम्पर्कमा आउन सकेका छैनन् । बैतडीको दोगडाकेदार गाउँपालिका–१, रिमका विपिन जोशी भदौ अन्तिम साता इजरायल जानुभएको थियो । हमासको आक्रमणपछि उहाँ शनिबारदेखि सम्पर्कविहीन हुनुहुन्छ ।
दसैँको समयमा नेपालमा खाइने स्थानीय रैथाने खानाका परिकार होटल, रेस्टुराँको मेनुमै राखेर होटल सङ्घ नेपाल (हान) ले रैथाने खाना प्रवर्धन गर्ने भएको छ । दसैँको बिदामा कतिपय रेस्टुराँसमेत पूर्ण रूपमा सञ्चालनमा नआउने भएकाले होटलहरूले घर–घरमा खाइने खाना नेपाल घुम्न आएका विदेशी पाहुनालाई विशेष छुटका साथ पस्कने हानका सदस्य होटलहरूले जनाएका छन् । उक्त कार्यक्रम असोज २८ देखि कात्तिक ११ सम्म हुने हानले उल्लेख गरेको छ ।
मौसममा सुधार आएसँगै बिहीबारदेखि लुक्ला उडान पुनः सुचारु भएको छ । प्रतिकूल मौसमका कारण पाँच दिनदेखि लुक्ला–रामेछाप उडान प्रभावित हुन पुगेको थियो । मौसममा सुधार आएपछि बिहीबार रामेछापको मन्थली विमानस्थलबाट सोलुखम्बुको तेन्जिङ हिलारी विमानस्थलमा ६२ वटा जहाज ओहोरदोहोर गरेका छन् । त्यस्तै बिहीबार दिनभर ८० भन्दा बढी पटक हेलिकोप्टरले दोहोरो उडान गरेको लुक्ला विमानस्थल कार्यालयले जनाएको छ ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले यातायात कार्यालयमा बिचौलिया निषेध गर्न निर्देशन दिनुभएको छ । सहयोगका नाममा बिचौलियाले सेवाग्राहीलाई शोषण गर्नुका साथै सरकारी कामकारबाहीबारे नकारात्मक भ्रम फैलाउने काम भएकाले निषेध गर्न यातायात कार्यालयलाई मन्त्री ज्वालाले निर्देशन दिनुभएको हो ।
हमासले हानेको ग्रिनेड नेपाली विद्यार्थी विपिन जोशीले टिपेर उतै फालिदिए । १७ जना नेपाली बसेको कोठामा आएको मिसाइल जोशीले नफालेको भए सबै जना बच्ने थिएन । तर विपिन जोशी हाल सम्पर्क विहीन छन् । हाल हमासले विपिनलाई लगेको इजरायलबाट नेपाली फर्कनु भएका नेपाली विद्यार्थी बिबुशा अधिकारीले जानकारी दिनुभयो ।
चलचित्र ‘महाजात्रा’ निर्माणअगावै विदेशमा प्रदर्शन अधिकार बिक्री भइसकेको छ । अस्ट्रेलियामा रहेर केही समययता नेपालबाहेक विश्व प्रदर्शन अधिकार खरिद गरिरहेको एमएसएम इन्टरटेन्मेन्टका लागि वितरक छत्र थापाले ‘महाजात्रा’ को भारतबाहेक अन्य मुलुकमा प्रदर्शन अधिकार खरिद गर्नुभएको छ ।
इजरायलमा अध्ययन गरिरहेका २५४ जना नेपाली विद्यार्थीलाई सरकारले उद्धार गरेर काठमाडौँ ल्याएको छ । मन्त्रिपरिषद्को निर्णयअनुसार परराष्ट्र मन्त्री नारायणप्रसाद साउद आफैँ चार्टर विमान लिएर राजधानी तेल अबिब पुग्नु भएको थियो।
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र काठमाडौँ विश्वविद्यालयबिच बिहीबार ललितकलाका विविध क्षेत्रमा सहकार्य गर्ने गरी सम्झौता भएको छ । कार्यक्रममार्फत विश्वविद्यालयले स्नातक तहको ‘शिल्प तथा डिजाइन’ विषयको औपचारिक सुरुवात पनि गरेको छ । समझदारीपत्रमा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली र विश्वविद्यालयका उपकुलपति प्राडा भोला थापाले हस्ताक्षर गर्नुभयो ।
हुम्लाका युवाले पर्यटकीय क्षेत्र र मौलिक पहिचान झल्किने दृश्य समेटेर ‘जुम्लाकी भाउकन’ म्युजिक भिडियो तयार पारेका छन् । जिल्लाभित्रका गाउँ गाउँ प्रचारप्रसार हुन नसकेका पर्यटकीय स्थल र मौलिकता झल्किने दृश्य भिडियोमा कैद गरेका छन् । भिडियोमा ‘फेसबुकैमा माया बस्यो’ बोलको गीतको छायाङ्कन गरिएको हो । सर्केगाड गाउँपालिका–६ को पर्यटकीय क्षेत्र सिताङ र बराई गाउँमा छायाङ्कन गरिएको भिडियोको दृश्यले मौलिक पहिचान झल्काइदिएको छ ।
सुशासनको नागरिक चाहना अनि राज्यको प्रतिबद्धताभन्दा भ्रष्टाचार बलियो छ नेपालमा । भ्रष्टाचार नियन्त्रण र न्यूनीकरणका वैधानिक एवं नीतिगत प्रबन्धहरूलाई नै भर्याङ बनाएर भ्रष्टाचार हुने गरेको घामजत्तिकै प्रस्ट छ । सदाचार र सुशासनका लागि तय गरिएका नीति पालना नगर्ने, नीतिको अपव्याख्या गर्ने अनि भ्रष्टाचार नै वैधानिक बनाउन नीति बनाउने गलत प्रवृत्ति मौजुदा रहँदा नै भ्रष्टाचार न्यूनीकरण हुन नसकेको जानकारहरूको ठहर छ । ट्रान्सपरेन्सी इन्टरनेसनलको सन् २०२२ को भ्रष्टाचार
आजको डिजिटल युगमा धेरै देश जस्तै नेपाल पनि प्रविधि र कनेक्टिभिटीमा द्रुत रूपमा अघि बढिरहेको छ । सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा भएको अतुलनीय विकास, विस्तारले मानव दैनिक जीवनमा धेरै फाइदा पु¥याउनुका साथै तिनीहरूले साइबर अपराधको बढ्दो खतरालाई पनि जन्म दिएका छन् । प्रविधिको प्रयोग गरेर साइबर अपराधीहरूले सूचना प्रविधिका उपरकरण (मोबाइल, कम्प्युटर, डाटा सर्भर आदि) र स्वदेशी र अन्तर्राष्ट्रिय, व्यक्तिहरू, व्यवसायहरू र सरकारी संस्थालाई लक्षित गर्दै साइबर हमला गर्नुका साथै विभिन्न महत्वपूर्ण सामाजिक, आर्थिक र सुरक्षा चुनौतीहरू थपेका छन् ।
अन्तरजातीय प्रेमलाई सामाजिक प्रतिष्ठाको विषय बनाउँदा कैयौँ अन्तरजातीय जोडी आत्महत्या गर्न बाध्य हुँदै आएका छन् । जात व्यवस्थाले जरा गाडेको नेपाली समाजमा जातसँग जोडिएका हरेक विषयलाई सामाजिक प्रतिष्ठामा जोड्ने चलन यथावत् रहेकाले यस्ता खालका घटना हुँदै आएका छन् । अन्तरजातीय प्रेम विवाह गर्नेहरूलाई प्रोत्साहन भत्ता दिने र समाजमै सम्मानका साथ जिउन वातावरण बनाउने प्रतिबद्धताहरू विभिन्न राजनीतिक दल तथा सामाजिक सङ्घ, संस्थाहरूका थुप्रै रहेका छन् तर अन्तरजातीय प्रेम विवाह गर्ने जोडीहरू कि समाजबाट विस्थापित नै भएका छन् कि आत्महत्या नै गर्ने अवस्थामा पुगेका छन् ।