आजको डिजिटल युगमा धेरै देश जस्तै नेपाल पनि प्रविधि र कनेक्टिभिटीमा द्रुत रूपमा अघि बढिरहेको छ । सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा भएको अतुलनीय विकास, विस्तारले मानव दैनिक जीवनमा धेरै फाइदा पुर्याउनुका साथै तिनीहरूले साइबर अपराधको बढ्दो खतरालाई पनि जन्म दिएका छन् । प्रविधिको प्रयोग गरेर साइबर अपराधीहरूले सूचना प्रविधिका उपरकरण (मोबाइल, कम्प्युटर, डाटा सर्भर आदि) र स्वदेशी र अन्तर्राष्ट्रिय, व्यक्तिहरू, व्यवसायहरू र सरकारी संस्थालाई लक्षित गर्दै साइबर हमला गर्नुका साथै विभिन्न महत्वपूर्ण सामाजिक, आर्थिक र सुरक्षा चुनौतीहरू थपेका छन् ।
सामाजिक प्रभाव
साइबर अपराधले नेपाली समाजलाई बहुआयामिक प्रभाव पारेको छ । अहिले विश्वका सबै देशका नागरिक, सरकार र संस्थाहरू अनलाइन ठगीको सिकार भएका छन् । क्रेडिट कार्ड क्लोनिङ, एटिएम कार्ड फ्रड गरेर आफन्त र अन्य चिनजानकालाई फकाइफुलाई पिनकोड लिने र उनीहरूको खातामा रहेको पैसा साइबर अपराधीको खातामा स्थानान्तरण गर्ने कार्य नौलो छैन । मोबाइल बैकिङ प्रणाली वा बैङ्क नै ह्याक गरेर साइबर अपराधीहरूले ठुलो मात्रामा धनराशि आफ्नो खातामा स्थानान्तरण गरेर बैङ्क वा व्यक्तिहरूलाई टाट पल्टाएका कैयौँ उदाहरण छन् । जसका कारण विश्वका अधिकांश देशले ठुलो आर्थिक क्षति बेहोर्नु परेको छ । साइबर थ्रेट, डिफेमेसन, मर्फिड., मेलवायेर, साइबरबुलिङ, फिसिङ आक्रमणहरू, साइबर जासुसी, अनलाइन हरेसमेन्ट, रेनसमवायेर, चाइल्ड प्रोनोग्राफी, साइबर आतङ्क, अनलाइन ठगी, बौद्धिक चोरी, सफ्टवेयर पाइरेसी, सामाजिक इन्जिनियरिङ र पहिचान चोरी साइबर अपराधीहरूले प्रयोग गर्ने सामान्य रणनीतिहरू हुन् ।
साइबर अपराधीहरूले व्यक्तिगत डिजिटल उपकरणहरू र अनलाइन खाताहरू ह्याक गरेर, संवेदनशील जानकारी र व्यक्तिगत सूचनाहरू प्रकाशित गरेर र भावनात्मक पीडा दिनुका साथै व्यक्ति वा संस्थाको गोपनीयता भङ्ग गर्ने गरेका छन् । बैङ्क तथा वित्तीय संस्थाहरू साइबर हमलाका कारण विश्व अर्थतन्त्रमा ठुलो असर परेको छ । यसका कारण व्यापार व्यवसाय, उद्योगहरूले साइबर सुरक्षाको चुनौतीहरू सामना गर्नु परेको छ । साइबर अपराधीहरूले अस्पताल, शैक्षिक संस्था, सरकारी डाटा सेन्टरहरू र सार्वजनिक सेवामा रेन्सनमवायेर आक्रमण गरी ठुलो धनराशिको फिरौतीसमेत लिएका छन् । उनीहरूले सामाजिक इन्जिनियरिङ प्रविधिमार्फत व्यक्तिहरू र सङ्घ संस्थाका पहिचान परिवर्तन गरी उनीहरूप्रतिको विश्वास, सामाजिक मान प्रतिष्ठा आँच पु¥याउनुका साथै व्यक्ति र संस्थागत शोषणको भागीदार हुन पुगेका छन् ।
इमेल हरेसमेन्ट, साइबरबुलिङ, अनलाइन उत्पीडन, डिफेमेसन, र साइबर स्टयाक्लिङका कारण पीडितहरूले विभिन्न कष्ट भोग्नु पेरको छ । नेपालमा अहिले सामाजिक सञ्जालबाट व्यक्ति वा संस्थाको मानहानि गर्ने कार्य सामान्य जस्तै भएको छ । आइडी (फेसबुक, टिकटक आदि) ह्याक गरी वा नगरी व्यक्ति वा संस्थाका अनावश्यक फोटो वा भिडियोहरू अपलोड गरिदिएर पारिवारिक विखण्डन, सामाजिक सद्भाव भड्काउने कार्य नेपालमा भइरहेका छन् । व्यक्ति वा संस्थालाई लक्षित गरेर उनीहरूको मानमर्दन हुने गरी गरिएका अवाञ्छित गतिविधिका कारण सोसल मिडिया बदनाम भएको छ । अनजानमा कैयौँ व्यक्तिले यसलाई प्राइभेट मिडिया बनाउँदा अनावश्यक दुःख भोग्नु परेको छ र धेरै कानुनी फन्दामा पर्नुका साथै कति जनाले जेल जीवन बिताउनु परेको छ ।
नेपालमा बौद्धिक सम्पत्ति र सफ्टवेयर चोरी निकै मौलाएको छ । विभिन्न व्यक्ति, संस्था वा सरकारका उत्पादन, बौद्धिक सम्पत्तिको चोरी र देश विदेशका सफ्टवेयर वा फिल्म, गीतहरू रातारात चोरी हुनाले कैयौँ उत्पादन कम्पनी थला परेका छन् । नेपालका डाटा सेन्टरहरूमा कैयौँ पटक डसएट्याक भएको छ, जसका कारण लोकसेवा आयोगदेखि कैयौँ सरकारी कार्यालयका डाटा हराएका छन् । डाटा हराएका कारणले लोकसेवा आयोगको कार्यालयले पुनः परीक्षासमेत गराउनु परेको घटना ताजै छ । झुठा इमेल पठाएर, विभिन्न प्रलोभनमा पारेर युवा वा बालबालिकालाई यौन उत्पीडन गरेका घटनाहरू दिनहुँ सञ्चार माध्यममा आइरहेका हुन्छन् । जसलाई हेरेर आमा, बुवा र आफन्तहरू हैरान भइसकेका छन् । मेलवायेर अर्थात् विभिन्न प्रकारका कम्प्युटर भाइरस हाम्रा लागि त्यत्तिकै हानिकारक छ । यसलाई प्रयोग गरेर कम्प्युटर अपराधीहरूले अनावश्यक रूपमा कम्प्युटरलाई दुःख दिएर हैरान बनाएका छन् । यसबाट व्यक्ति, संस्था र सरकार पीडित नभएको कहीँ छैन ।
साइबर आतङ्कवाद विश्वको चिन्ताको विषय भएको छ । प्रविधिलाई दुरुपयोग गर्नेमा विशेष गरी सोसल मिडिया प्रयोग पहिलो नम्बरमा आउँछ । धर्म वा जातजातिको नाममा समाजमा आतङ्क फैलाउने मुख्य रणभूमि बन्ने हो कि भन्ने चिन्ता बढेको छ नेपालमा । मोबाइल वा कम्प्युटर प्रयोगकर्ताले अनजानमा वा जानाजान स्पाइवेयरको प्रयोग गर्नाले कम्प्युटर वा मोबाइलमा भएका डाटाहरूलाई आफ्नो स्रोतसम्म पु¥याउन मद्दत गर्छन् । स्पाइवेयर जसले कुनै व्यक्ति वा संस्थाको बारेमा जानकारी वा सूचना सङ्कलन गर्ने र प्रयोगकर्तालाई उनीहरूको गोपनीयता उल्लङ्घन गरेर विभिन्न प्रकारले दुःख दिने, तिनीहरूको यन्त्रको सुरक्षालाई खतरामा पारेर, वा अन्य माध्यमबाट हानि पुर्याउने गर्छ । विभिन्न आकर्षक नाममा गुगलप्ले स्टोरमा यो एप्लिकेसन उपलब्ध हुने हुनाले सहजै प्रयोगकर्ताले मोबाइल वा कम्प्युटरमा इनिस्टलेसन गर्न पुग्छन् र रमाइलै रमाइलोमा अनेक प्रकारका सास्ती भोग्न बाध्य छन् । यो एक प्रकारको जाजुसी सफ्टवेयर हो भन्ने कतिपय प्रयोगकर्तालाई थाहै छैन । साइबर जाजुसी गर्नु एक प्रकारको साइबर अपराध नै हो ।
पछिल्लो समयमा सूचना प्रविधिको गलत प्रयोग वा दुरुपयोगको कारणले गर्दा हाम्रो समाजमा सामाजिक हिंसामा फैलिएको छ । घरघरमा कलह, सम्बन्ध विच्छेद, परिवारिक द्वन्द्व, परिवारका सदस्यबिच मनमुटाव, यौन हिंसा जस्ता क्रियाकलापमा वृद्धि भएको छ । मोबाइल वा कम्प्युटरमा धेरै समय बिताउने व्यक्तिहरू अनिद्राको कारणले मानसिक रूपमा कमजोर हुने जस्ता समस्याबाट ग्रसित भएका छन् । सामाजिक सञ्जाल र फर्ड इमेलको प्रयोग गरी हनी ट्र्याप गर्ने पेसा नै बनेको छ । बेरोजगारीको फाइदा उठाएर साइबर अपराधीहरूले नेपाली युवालाई विदेशमा बन्दक बनाएका घटनाहरू सेलाएका छैनन् । नेपालको सहरदेखि गाउँ बस्तीसम्म यसको प्रभाव परेको छ । यसबाट हाम्रो समाज, छरछिमेकका आफन्तहरू पीडित भएका छन् । प्रहरीमा अहिले यौन हिंसाका धेरै उजुरी दर्ता हुने गरेका छन् । पैसा असुल्नका लागि मात्र कैयाैँ उजरी पर्ने गरेको प्रहरीको अनुसन्धानले प्रमाणित गरी कतिपयलाई जेल समेत पठाएको छ । प्रविधि र सामाजिक सञ्जालको दुरुपयोगको कारण सरकार, व्यवसायी, सङ्घसंस्था र नागरिकले ठुलो पीडा, क्षति बेहोर्नु परेको छ ।
नागरिक जागरण
साइबर संसारका बारेमा अहिलेसम्म भए गरेका गतिविधिहरू आमनागरिकलाई जानकारी गराउनु आवश्यक छ । यसका विविध आयामका बारेमा ज्ञान, सिप प्रदान गर्न र चुनौतीहरू सामना गर्नका लागि पनि आमरूपमा नागरिक साक्षर हुनु अपरिहार्य छ । यसका लागि विद्यालय र विश्वविद्यालयले सानै उमेरदेखि सुरक्षित अनलाइन अभ्यास स्थापित गर्नका लागि साइबर सुरक्षा शिक्षालाई आफ्नो पाठ्यक्रममा समावेश गर्नु पर्छ । सरकारले अनलाइन खतरा र जोखिमहरू र सुरक्षाका उपायबारे नागरिकलाई शिक्षित गर्न राष्ट्रव्यापी अभियान सुरु गर्नु पर्छ । सरकार, व्यवसाय, सामाजिक संस्था र नागरिक समाजबिचको सहकार्यले सचेतनाका कार्यव्रmमलाई विस्तार गर्न सक्छ । साइबर अपराधका बारेमा सरल रिपोर्टिङ संयन्त्र स्थापना गरी पीडितहरूलाई अगाडि आउन प्रोत्साहन गर्नु पर्छ । यसो भएमा मात्र ज्ञानमा आधारित समाज निर्माण गर्ने राज्यको उद्देश्य पूरा हुन सक्छ । साइबर अपराधको रोकथामका लागि प्राथमिक उपकरण भनेकै शिक्षा हो । बालबालिकाहरूले प्रयोग गर्ने स्मार्टफोन, कम्प्युटर र अन्य मोबाइल उपकरणमा अभिभावकले ध्यान दिनु पर्छ ताकि उनीहरू मोबाइल वा कम्प्युटरका गलत सामग्रीको पहुँचमा नपुगून् वा भनौँ नचलाऊन्, नहेरुन् भन्ने नै हो । ज्ञान र चेतना अभिवृद्धि मुख्य सरोकारवालाको संयुक्त प्रयासबाट मात्र हासिल गर्न सकिने कुरा हो । गैरकानुनी इन्टरनेट सामग्री र साइबर अपराधसम्बन्धी बालबालिका, किशोरकिशोरीहरू साथै आमाबाबु र शिक्षकहरूका बिचमा अझ बढी अन्तव्रिर्mया, नागरिक जागरण र ज्ञान स्थानान्तरण गर्नु अत्यावश्यक छ ।
नेपाल प्रहरीको साइबर ब्युरोको अनुसन्धानले पनि साइबर अपराधको खतरा र यसको महत्वको बारेमा थप शिक्षाको आवश्यकता औँल्याएको छ । सबै लक्षित समूहहरूका लागि सूचना सुरक्षा, डाटा सुरक्षा र साइबर अपराधको मुद्दालाई सम्बोधन गर्न डिजिटल साक्षरतालाई कार्यान्वयन गर्न जरुरी छ । सूचना सुरक्षा संस्कृतिको सिर्जनातर्फ पहिलो कदम भनेको राष्ट्रिय, अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्नु नै हो । डिजिटल शिक्षाले सबै प्रयोगकर्तामा चेतना जगाउन र दैनिक जीवनमा साइबर सुरक्षा प्रविधिहरू लागु गर्न प्रोत्साहित गर्न महìवपूर्ण भूमिका खल्ने एक अध्ययनको निष्कर्ष रहेको छ ।
पछिल्लो समयमा साइबर अपराध नेपालमा बढ्दो चिन्ताको विषय हुन पुगेको छ । जसको गहिरो सामाजिक, आर्थिक, मानसिक र सुरक्षा प्रभावहरू रहेका छन् । यी मुद्दालाई सम्बोधन गर्नका लागि बलियो साइबर सुरक्षाका उपायहरू, प्रभावकारी नीति, कानुन र व्यापक जनचेतना अभियानहरू सञ्चालन गर्न समग्र दूरदृष्टिकोण आवश्यक छ । सरकार, निजी क्षेत्र र नागरिकहरूले नेपालको साइबर स्पेसको सुरक्षा गर्न र डिजिटल क्षेत्रमा सधैँ विकसित हुने खतराबाट आफ्ना नागरिकहरूलाई जोगाउन सहकार्य गर्नु पर्छ । सङ्घ, प्रदेश र स्थानीय तहहरू बिच सहकार्य र समन्वय आवश्यक छ । यस्ता सामूहिक प्रयासबाट मात्र नेपालमा हुने साइबर अपराधका नकारात्मक प्रभावलाई न्यूनीकरण गर्दै डिजिटल संसारलाई सुरक्षित गर्न सकिन्छ । पब्लिक प्राइभेट पाटनरसिप यसको मोडेल हो । टोलटोल, विद्यालयका कक्षा कोठामा साइबर सुरक्षाका विषयमा शिक्षक र विद्यार्थीबिच अन्तव्रिर्mया हुन आवश्यक छ । स्थानीय तहहरूले सामाजिक सङ्घ संस्थामार्फत नागरिक जागरणका कार्यक्रम बनाएर गाउँ टोल बस्तीहरूका नागरिकलाई डिजिटल साक्षरताका विषयमा ज्ञान सिप अभिवृद्धि हुने गरी प्रशिक्षित गर्नु आवश्यक छ । घर परिवारका सदस्यहरू, विद्यालयका शिक्षक प्रशिक्षकहरू, विश्वविद्यालयका प्राध्यापक, कर्मचारी, बुद्धिजीवी, नागरिक समाजका अगुवाहरू, पत्रकार जगत्बाट नागरिक जागरणका विषयमा बहस, छलफल गर्नु आवश्यक छ । साथै राजनीति नेतृत्वले दूरदृष्टि राखी नीति कार्यक्रम अगाडि सारेमा मात्र भौतिक र प्राविधिक रूपमा गाउँ समाजको साइबर स्पेस सुरक्षित गर्न सकिन्छ ।